प्रहरीले १८ छाउपडी गोठ भत्कायो

आइतबार, २७ पुस २०७६, २१ : ३०
प्रहरीले १८ छाउपडी गोठ भत्कायो

File Pic

डोटी । एक हप्तायतादेखि डोटीमा छाउ गोठ भत्काउने अभियान चलिरहेको छ । जिल्लाका नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ भत्काउनेक्रम जारी रहेको छ । प्रहरीले छाउ गोठ भए/नभएको अवस्थाका बारेमा समेत अनुगमन गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत जिल्लाको बडीकेदार गाउँपालिकामा मात्रै प्रहरी १८ वटा छाउपडी गोठ भत्काएको छ ।

त्यस्तै उक्त गाउँपालिकाको वडा नं ३ सिदुरेपानीमा रहेका १० वटा छाउपडी गोठ स्थानीय आफैँले भत्काएको प्रहरीले जनाएको छ । गोठ भत्काउनका लागि विभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छाउपडी गोठ भत्काउन एक छुट्टै प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक देउवाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रहरीले आफँै छाउपडी गोठ खोज्दै हिँडेको छ, छाउपडी गोठ देख्नेबित्तिकै भत्काउन आदेश दिएको छु, केही ठाउँमा स्थानीयले आफैँ भत्काउन थालेका छन् ।” प्रहरीले सञ्चालन गरेको उक्त अभियनामा यहाँका स्थानीय, जनप्रतिनिधि तथा विभिन्न सङ्घसंस्थाको सहभागिता रहँदै आएको छ । जिल्लामा भएका छाउपडी गोठ भत्काउने अभियानलाई सफल पार्नका लागि स्थानीय निकायसँगको समन्वयमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “छाउगोठ कहाँकहाँ कती छन् गोप्यरुपमा सूचना लिएर त्यसैका आधारमा गोठ भत्काउन प्रहरी टोली परिचालन गर्ने गरेका छौँ, अब छाउगोठ बनाउनेलाई कारवाही गर्छु ।” डोटी जिल्लालाई आगामी फागुन महिनाभित्र छाउपडी गोठमुक्त जिल्ला घोषणा गर्ने गरी छाउपडी गोठ भत्काउने अभियानलाई तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय डोटीको आयोजनामा हालै सम्पन्न छाउपडी प्रथा उन्मूलन संयन्त्रको बैठकमा सहभागी जिल्लाका जनप्रतिनिधिले जिल्लालाई फागुन मसान्तसम्म प्रभावकारीरुपमा छाउपडी गोठमुक्त घोषणा गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । छाउपडी गोठ भत्काउने विषयलाई बेवास्ता गरे स्थानीय तहबाट दिइने सम्पूर्ण सेवासुविधाबाट वञ्चित गर्नेसहित कानूनअनुसार कारवाही गरिने जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो ।(रासस)

 

प्रतिक्रिया दिनुहोस