दक्षिण कोरिया र उत्तर कोरियाबीच सम्बन्ध नजिकिँदै जाँदा यस्तो छ अमेरिकाको प्रतिक्रिया

एजेन्सी

सोमबार, २९ माघ २०७४, ०७ : २६
दक्षिण कोरिया र उत्तर कोरियाबीच सम्बन्ध नजिकिँदै जाँदा यस्तो छ अमेरिकाको प्रतिक्रिया

काठमाडौं । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले दक्षिण र उत्तर कोरियाबीचको सम्बन्धमा जतिसुकै सुधार आएपनि उत्तर कोरियाको आणविक हतियार विरुद्ध दबाब र प्रतिबन्धको मुद्दामा दक्षिण कोरिया अझै अमेरिकासँग सहमत रहेको बताए ।

शीतकालिन ओलम्पिक्सबाट फर्कदै गर्दा संचार माध्यमसँग पेन्सले उत्तर कोरियाली विषयमा अमेरिका लगायत सबै सहयोगी राष्ट्रहरुको धारण अझै उस्तै रहेको बताएका हुन् ।

उत्तर कोरियाले आफ्नो आणविक हतियार निर्माण कार्यलाई जारी राखिरहेको भएपनि दुवै देशले एकताबद्ध भएर ओलम्पिक खेलमा सहभागिता जनाएका हुन् ।

सो समारोहपछि दुई देशबीचको कठोर सम्बन्धमा केही हदसम्म सुधार आएको देखिएपनि मिसाइल परीक्षण र हतियार निर्माण कार्यले अझै एकिकरणमा बाधा पुर्याइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

यस्तैमा उत्तर कोरियाली र अमेरिकी अधिकारीहरुको अत्यन्तै नजिक सामना हुँदा पनि दुवैले एकअर्कासँग सबै समय दुरी बनाइ राखेको देखिएको छ । उता शनिबार भएको भेटवार्ता कार्यक्रममा उत्तर कोरियाली नेताले भने दक्षिणका राष्ट्रपति मुन जे इनलाई प्योङयोङ भ्रमणका लागि आमन्त्रण गरेको र हस्तलिखित पत्र पठाएको खबर सर्वाजानिक भएको छ । यदि राष्ट्रपति मुन वास्तवमै उत्तर कोरिया भ्रमणमा जाने हो भने त्यसलाई इतिहासकै रोचक र दुलर्भ घटना मान्न सकिने बताइएको छ ।

मुनले पनि यसलाई वास्तविकतामा परिणत गर्न आफूले पूरा प्रयास गर्ने बताउँदै आइरहेका छन् । यसैका लागि राष्ट्रपति मुनले उत्तर कोरियाका अधिकारीसँग प्रत्यक्ष भेटवार्ता गरिरहँदा अमेरिकासँग पनि छलफल गर्न अनुरोध गरिरहेको उनले बताएका हुन् ।

उत्तर कोरियाली नेता किमजोङ उनको हस्तलिखित पत्र शनिबार उनकी बहिनी किम यो जोङले राष्ट्रपति मुनलाई हस्तान्तरण गरेकी थिइन् जसबारे विश्वभर चर्चा गरिएको छ ।

तर यस पत्रले राष्ट्रपति मुनलाई भने झन ठूलो दुविधामा पारिदिएको विश्वविद्हरुको भनाइ छ । यसअघि दक्षिण कोरियाले उत्तर कोरियासँग मेलमिलाप कार्यक्रममा संलग्न भएपनि उनीहरुविरुद्धको प्रतिबन्धलाई लिएर दबाब जारी राख्ने प्रतिबद्धता जनाएको थियो । त्यसकारण अमेरिकाले उत्तर कोरियाले प्रदर्शन गरिरहेको देखावटी मित्रतालाई गम्भीरतापूर्वक नलिन दक्षिणलाई आग्रह गरिरहेको छ । उत्तर कोरियाले विश्वलाई ओलम्पिकतर्फ केन्द्रित गराइ प्रतिबन्धबाट उम्किन दक्षिणको सहयोग लिन खोजिरहेको ह्वाइट हाउसको आरोप छ । त्यसैले उत्तर कोरियाले मित्रताको हात अघि बढाइरहेपनि अझै परिस्थिति उत्तिकै खतरनाक रहेको ट्रम्प प्रशासनले बताएको हो ।

यसका साथै पेन्स र उत्तर कोरियाली आधिकारी अघिपछिको सिटमा बस्दा पनि उनीहरुबीच कुनै अन्र्तक्रिया भएन भने दक्षिण र उत्तर कोरियाले उद्घाटन समारोहमा संयुक्त झण्डा बोकी परेड खेल्दा समेत सम्मान स्वरुप पेन्स आफ्नो ठाउँबाट उठेनन् र कुनै प्रतिक्रिया जनाएनन् , जसबारे अहिले उत्तर कोरियाले कडा आलोचना गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस