सुलेमानीको हत्या अन्तर्राष्ट्रिय अपराध : नेकपा मसाल

सफल खबर संवाददाता

विहीबार, २४ पुस २०७६, १४ : ५६
सुलेमानीको हत्या अन्तर्राष्ट्रिय अपराध : नेकपा मसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) केन्द्रीय कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै सुलेमानीको हत्या एउटा जघन्य र अन्तर्राष्ट्रिय अपराध भएको जनाएको छ । मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा अमेरिकी साम्राज्यवाद विश्वका लागि नै अत्यन्त गम्भीर खतरा बनेको उल्लेख छ ।

विज्ञप्तिको पूर्ण पाठ यस्तो छ,

अमेरिकाद्वारा इरानका सैनिक कमाण्डर कासिम सुलेमानीको हत्याको ने.क.पा. (मसाल)ले तीव्र शब्दमा भत्र्सना गर्दछ । त्यो हत्याभन्दा गम्भीर कुरा यो छ कि अमेरिकाले कुनै पनि देशमा गएर कुनै पनि देशका नागरिकलाई मार्न सक्ने जुन कार्यशैली अपनाएको छ, त्यो अत्यन्त आपत्तिजनक छ । त्यसले अमेरिकी साम्राज्यवादको नाङ्गो प्रकारको कार्यशैलीलाई बताउँछ । अमेरिकी साम्राज्यवादको नीतिबाट विश्वका विभिन्न देशहरूको राष्ट्रियता, सार्वभौमिकता तथा विश्व शान्तिमा नै गम्भीर आँच पुग्दै आएको छ र ट्रम्प प्रशासन अन्तगर्त त्यो अरू बढेर गएको छ ।

अमेरिकी साम्राज्यवाद विश्वका लागि नै अत्यन्त गम्भीर खतरा बनेको छ र त्यसका विरुद्ध संसारभरका सबै राष्ट्र र शान्तिप्रेमी जनताले आवाज उठाउनु आवश्यक भएको छ र उठाउँदै गइरहेका छन् । त्यसका लागि विश्वभरका शान्तिप्रिय जनताका बीचमा व्यापक अन्तर्राष्ट्रिय ऐक्यवद्धता आवश्यक छ । ने.क.पा. (मसाल)ले आईसीओआरसित सम्बन्धित विभिन्न क्रान्तिकारी पार्टी र सङ्गठनहरूसित मिलेर अमेरिकी साम्राज्यवाद विरोधी मोर्चाको निर्माण गर्नका लागि अन्तर्राष्ट्रिय स्तरमा नै पहलकदमी गरिरहेको छ । बताइरहनुपर्ने आवश्यकता छैन कि अमेरिकाको जुन विशाल शक्ति छ, त्यसका तुलनामा हाम्रो पहल अत्यन्त अपर्याप्त हुनेछ । तैपनि त्यस प्रकारको सिलसिला अगाडि बढ्दै गएमा त्यसले साम्राज्यवादका विरुद्ध शक्तिशाली आन्दोलनको रूप ग्रहण गर्ने छ भन्ने कुरामा हामीलाई पूर्ण विश्वास छ । अमेरिकी साम्राज्यवाद विरोधी मोर्चाको निर्माणको लागि सम्भवतः निकट भविष्यमा नै नेपालमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिने छ ।

वास्तवमा अमेरिकाले अन्तर्राष्ट्रिय स्तरमा जुन नीति अपनाइरहेको छ, त्यो स्वयं अमेरिकी जनताको हितमा पनि छैन । त्यसले खाली अमेरिकी एकाधिकार पुँजीवाद वा अमेरिकी साम्राज्यवादको मात्र सेवा गर्दछ । त्यसकारण स्वयं अमेरिकाका जनता र विश्वभरका जनताले अमेरिकाको साम्राज्यवादी कार्यविधिका विरुद्ध आवाज उठाउने तथा अन्तमा अमेरिकी साम्राज्यवादका तुलनामा विश्व शान्तिको आन्दोलन शक्तिशाली हुनेबारे पनि हामी पूरा आशावादी छौँ । अन्तमा अमेरिकी साम्राज्यवाद आज जति शक्तिशाली भएपनि त्यसको पराजय हुनु अवश्यम्भावी छ ।

सुलेमानीको हत्या निश्चित रूपले एउटा जघन्य र अन्तर्राष्ट्रिय अपराध हो । तर, कुरा त्यहीसम्म मात्र सीमित छैन । अमेरिकी साम्राज्यवादले अरू देशहरूको सार्वभौमिकतालाई अतिक्रमण गर्न कैयौँ प्रकारका रणनीति अपनाइरहेको छ । इण्डोप्यासिफिक रणनीति त्यही प्रकारको एउटा उदाहरण हो । त्यो रणनीतिको मुख्य उद्देश्य हिन्द प्रशान्त क्षेत्रका देशहरूमा आफ्नो राजनीतिक प्रभुत्व कायम गर्नु हो । कुनै बेला अमेरिकाले सोभियत सङ्घलाई घेर्नको लागि नर्थ एटलान्टिक ट्रिटी अर्गानाइजेशनको गठन गरेको थियो । अहिलेको इण्डोप्यासिफिक रणनीति चीनलाई घेर्नका लागि ल्याइएको नयाँ अमेरिकी कदम हो । अमेरिकाको चीनसितको प्रतिस्पर्धा बढ्दै गइरहेको छ र चीनलाई घेर्नको लागि नै त्यसले इण्डोप्यासिफिक रणनीतिलाई अगाडि ल्याएको छ ।

अमेरिका र चनिको बीचको अन्तर्विरोध कुन रूपमा अगाडि बढ्दछ ? त्यो निश्चय पनि अन्तर्राष्ट्रिय चासोको विषय हो । तर, चीनसितको प्रतिस्पर्धाका कारणले इण्डोप्यासिफिक क्षेत्रका सबै देशहरूमाथि राजनीतिक प्रभुत्व कामय गर्न खोज्ने अमेरिकाको प्रयत्नलाई कुनै पनि अवस्थामा सही भन्न सकिन्न । त्यही क्रममा नेपालमाथि पनि आफ्नो राजनीतिक प्रभुत्वलाई कायम गर्न अमेरिकाले एमसीसी (मिलेनियम च्यालेञ्ज कर्पोरेशन) अगाडि ल्याएको छ ।

स्वयं अमेरिकाले स्वीकार गरिसकेको छ कि एमसीसी इण्डोप्यासिफिक रणनीतिको अङ्ग हो । त्यस सन्दर्भमा काठमाडौँस्थित अमेरिकी राजदुतावास र अमेरिकी स्टेस असिटेन्ट सेक्रेटरी मिसेज एलाइस वेलका वक्तव्यहरू उल्लेखनीय छन् । त्यस प्रकारको पृष्ठभूमिमा एमसीसी इण्डोप्यासिफिक रणनीतिको अङ्ग होइन भनेर प्रमाणित गर्न खोज्ने ओली सरकारको प्रयत्न हास्यास्पद र आधारहीन छ ।
एमसीसीको उद्देश्य नेपाललाई अमेरिकी क्याम्पमा सामेल गराउनु र त्यसरी चीनका विरुद्धको घेराबन्दीमा अमेरिकी साम्राज्यवादको रणनीतिक उद्देश्यको पूर्तिको लागि नेपाललाई उपयोग गर्नु हो । त्यसैले त्यसलाई समर्थन गरेमा नेपाल घोषित रूपले नै अमेरिकी साम्राज्यवादको पक्षमा जाने छ र नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीति समाप्त हुनेछ । त्यसैले सरकारको संसदद्वारा त्यसलाई पारित गराउने कुनै पनि प्रयत्नलाई ने.क.पा. (मसाल)ले कडा शब्दमा विरोध गर्दछ ।

२०७६ पुष २४ गते

मोहनविक्रम सिंह
महामन्त्री

प्रतिक्रिया दिनुहोस