माधव नेपालका कारण रोकियो नेकपा रौतहटको सपथ

आफ्नै गृहजिल्लामा आफैंलाई बहिष्कार गर्न खोजेको भन्दै माधव नेपालको असन्तुष्टि

सफल खबर संवाददाता

मंगलबार, २२ पुस २०७६, ०८ : ५५
माधव नेपालका कारण रोकियो नेकपा रौतहटको सपथ

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधव नेपालले असन्तुष्टि जनाएपछि नेकपाको रौतहट जिल्ला कमिटिको सपथ ग्रहण कार्यक्रम रोकिएको छ । आजका लागि तय भएको पूर्व निर्धारित कार्यक्रम हिजो साँझ मात्र स्थगित गरिएको हो ।  

जिल्ला इन्चार्ज युवराज भटटराईले सपथ ग्रहण कार्यक्रम विशेष कारणवस स्थगित भएको सूचना जारी गरेका थिए । उनले विशेष कारण के भने नखुलाएपनि सपथ ग्रहणमा केन्द्रीय हस्तक्षेप रहेका कारण रोकिएको रौतहटका अन्य नेकपाका जिल्ला नेताहरुले बताएका छन् ।

रौतहट माधव नेपालको गृहजिल्ला हो । उनले त्यहाँको सपथ ग्रहण कार्यक्रममा आफै प्रमुख अतिथि भएर जान चाहेका थिए । लामो समय देखि जिल्ला समिति गठनमै पनि त्यहाँ पूर्व एमाले समुहभित्र अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल पक्षका बीचको भागवन्डा नमिल्दा सकस परिरहेको थियो । तर कात्तिक तेश्रो साता बसेको पार्टी प्रदेश कमिटिका पदाधिकारी बैठकले नेता नेपालको माग अनुसार ६ जना ब्यक्तिको नाम अदलबदल गरेर जिल्ला कमिटि गठनमा सहमति जुटाएको थियो ।

त्यसपछि सपथ ग्रहण कार्यक्रम लगत्तै गर्ने भने पनि सपथ ग्रहणमा को प्रमुख अतिथि बनेर जाने भन्ने विवाद हुंदा अहिलेसम्म सपथ रोकिएको छ । वरिष्ठ नेता नेपालले आफैं जाने चाहना राखेको तर रौतहटकै नेता तथा प्रदेश अध्यक्ष प्रभु साहले नेपाललाई प्रमुख अतिथि बनाउन नचाहेपछि विवाद चर्किएको थियो ।

देश २ को नेकपाको पार्टी संरचनामा ओली पक्षका जिल्ला इन्चार्ज सत्यनारायण मण्डल, प्रदेश अध्यक्ष प्रभु साह एकातिर र वरिष्ठ नेता माधव नेपाल र स्थायी समिति सदस्य मात्रिका यादव खेमा अर्काे पक्षमा छन् ।  

त्यहाँ एकले अर्काे पक्षलाई कारवाहीको माग गदै केन्द्रमा उजुरी पनि परिरहेको छ । यो उजुरीमा संगठन विभागले अहिले समस्या समाधानका लागि चासो देखाईरहेको छ । १८ मंसिरको सचिवालय बैठकले विवाद मिलाउन वामदेव गौतम प्रमुख रहेको संगठन विभागलाई जिम्मा लगाएको थियो ।

उसले पनि यस विषयमा विवाद टुंग्याउने गरी काम थालिसकको छैन । यही बिच रौतहटको सपथलाई लिएर फेरि प्रदेश २ को नेकपा पार्टी कमिटिमा थप विवाद पेचिलो बनेर आएको छ । प्रभु साहले वरिष्ठ नेता नेपाल प्रमुख अतिथि भएर आए कार्यक्रम नै बहिष्कार गर्ने चेतावनी दिएपछि जिल्लाको सपथ पेचिलो बनेको हो ।

साहले अध्यक्ष प्रचण्डलाई नै भेटेर प्रदेश पदाधिकारीकै उपस्थितीमा सपथ ग्रहण कार्यक्रम गर्ने तर वरिष्ठ नेता नेपाल प्रमुख अतिथि बनेर आए कार्यक्रम नै बहिष्कार गर्ने चेतावनी दिएपछि नेपाललाई नबोलाई कार्यक्रम गर्ने तयारी रौतहट जिल्ला कमिटिले गरेको थियो । तर आइतबार वरिष्ठ नेता नेपालले यस विषयमा पार्टी नेतृत्वको धयानाकर्षण गराउदै आफुलाई जिल्लाको कार्यक्रममा जान रोक लगाउने र बहिष्कार गर्न खोजिएकोमा आपत्ति जनाएका थिए ।

कञ्चनपुरमा रहेका नेता नेपाल आइतबार काठमाडौं फर्केलगत्तै अध्यक्ष प्रचण्डलाई उनकै निवास खुमलटार भेट्न पुगेका थिए । त्यहाँ नेपालले कार्यक्रममा आफुलाई बहिष्कार गर्न खोजेको भन्दै सपथ रोक्न माग गरेका थिए। नेता नेपालको चर्काे असन्तुष्टि र दबाब पछि अध्यक्ष प्रचण्डले रौतहट जिल्ला पार्टीका नेताहरुलाई टेलिफोन गरी तत्कालका लागि कार्यक्रम स्थगित गर्न निर्देशन गरेका थिए ।

माधव नेपालको दबाबमा प्रचण्डले विवादमा नआउन जिल्ला कमिटिलाई निर्देशन गरेपछि रौतहट नेकपाले आजका लागि राखेको सपथ ग्रहण कार्यक्रम स्थगित हुन पुगेको छ । नेता नेपालले गत स्थायी समिति बैठकमा पनि आफुलाई किनारा लगाउन खोजिएको, जिल्ला जिल्लामा समानान्तर कमिटि वनाउने र अझ पार्टी निकट सामाजिक संघ संस्थामा पनि समानान्तर कमिटि बनाएर आफु र आफनो पक्षका भनिएका नेता कार्यकर्तालाई बहिष्कार गर्ने खोजिएको भन्दै असन्तुष्टि पोखेका थिए ।

आफ्नै जिल्लामा उनलाई बाहिष्कार गर्न खोजिएपछि उनले नेतृत्वलाई चर्काे दबाब दिएर कार्यक्रम रोक्न सफल भएका छन् । नेता नेपालले सपथ कार्यक्रम नरोके सर्लाहीमा जस्तै विवाद बढ्ने  चेतावनी दिएका थिए ।

केही महिना अगाडी मात्रै सर्लाहीमा ३ जिल्लाका सपथ ग्रहण कार्यक्रम गराउन लाग्दा विवाद बढेपछि आफनै पार्टीका नेता कार्यकर्ताका बीचमा कुर्सी हानाहान समेत भएको थियो । केही कार्यकर्ता गम्भिर घाइते समेत भएका थिए । प्रचण्डले भने विवाद समाधान गर्नुका साटो झन बल्झिने देखपेछि तत्कालका लागि कार्यक्रम रोक्न निर्देशन गरेको नेकपा रौतहटले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस