माधव नेपाललाई आफ्नै गृहजिल्लामा बहिष्कार !

सत्तारुढ दल नेकपाको रौतहट जिल्ला कमिटिको सपथग्रहण कार्यक्रमको प्रमुख अतिथिबाटै  माधव नेपाल आउट

सफल खबर संवाददाता

आइतबार, २० पुस २०७६, ०९ : २१
माधव नेपाललाई आफ्नै गृहजिल्लामा बहिष्कार !

काठमाडौं । सत्तारुढ दल नेकपाले जिल्ला तहको एकता टुंगो लगाएपनि कतिपय जिल्लाको सपथग्रहण कार्यक्रम नै हुन सकेको थिएन् । अझ प्रदेश २ को जिल्लाका सपथ ग्रहणमा केही समय अगाडी कुर्सी नै हानाहान भएपछि केही जिल्लाको सपथ ग्रहण रोकिएको थियो । त्यसमध्येको एउटा जिल्ला हो माधव नेपालको गृहजिल्ला रौतहट ।

त्यहाँको जिल्ला कमिटिको सपथ ग्रहण कार्यक्रम राखिएको छ, पुस २२ गतेका लागि । शुरुमा आफ्नै गृहजिल्लाको सपथ ग्रहण कार्यक्रममा नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपाल आफै जान चाहेका थिए । तर उनको प्रमुख आतिथ्यमा कार्यक्रम गरिए कार्यक्रममै सहभागी नहुने अर्काे पक्षको चेतावनी पछि वरिष्ठ नेता नेपाल कार्यक्रममा नजाने भएका छन् । उनलाई आफ्नै गृहजिल्लाको पार्टी कार्यक्रममा बहिष्कार गरिन लागिएको सम्भवतः यो पहिलो पटक हो ।

प्रदेश २ मा नेकपाभित्र चरम विवाद छ । प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साह एकातिर र वरिष्ठ नेता माधव नेपाल र मात्रिका यादवको अर्काे तिर रहेको गुट निर्माण भएको छ । यही गुटबन्दीका कारण त्यहाँको प्रदेश पदाधिकारीकै बीचमा फाटो छ । इन्चार्ज मण्डल, सहइन्चार्ज विश्वनाथ शाह, अध्यक्ष प्रभु शाह र सचिव सुमन प्याकुरेल एकातिर र सहइन्चार्जद्दय नागेन्द्र चौधरी र महेन्द्र पासवान अर्काेतिर छन् ।

एक पक्षले अर्काे पक्षलाई कारवाही गर्न केन्द्रीय कार्यालयमा उजुरी समेत दर्ता भएको थियो । अहिले उक्त विवाद नेकपाको केन्द्रीय संगठन विभागले हेरिरहेको छ । प्रदेश अन्र्तगतको जिल्ला कमिटि तयार भएको लामो समय भईसक्दा पनि कतिपय जिल्लामा नेकपाले पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम नै गर्न सकेको थिएन । रौतहटमा पनि उसले अहिलेसम्म जिल्ला कमिटिको सपथ ग्रहण कार्यक्रम नै राख्न सकेको थिएन ।

वरिष्ठ नेता नेपाल सपथ ग्रहणमा जाँदा एक पक्षले बहिष्कार गर्ने र विरोध हुने भएपछि मध्यमार्गी विकल्पका रुपमा नेपाललाई कार्यक्रममा नलगिने गरी कार्यक्रम तयार भएको छ । अब प्रदेश पदाधिकारीको उपस्थितीमा सपथ ग्रहण कार्यक्रम गर्ने तयारी त्यहाँ भएको छ । वरिष्ठ नेता नेपाल आफंैले रौतहटको जिल्ला पार्टीको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि भएर जान चाहेका थिए ।

रौतहट जिल्ला इन्चार्ज युवराज भटट्राई र सहइन्चार्ज कल्याणी खड्काले पनि वरिष्ठ नेता नेपालको गृहजिल्ला भएकोले उनले आउन चाहे लैजाने योजना बनाएको स्रोत वताउँछ । तर अर्काे पक्षका नेताहरु प्रभु शाह लगायतले उनीलाई कार्यक्रममा प्रमुख अतिथि बनाएर ल्याए सपथ ग्रहण बहिष्कार गर्ने चेतावनी दिएपछि नेपाललाई कार्यक्रममा नबोलाउने योजना बनेको स्रोत बताउँछ ।

प्रदेश पदाधिकारीको उपस्थितीमा कार्यक्रम हुने नेकपा जिल्ला कमिटिका एक नेताले वताए । पार्टीका केन्द्रीय नेताहरुले पनि विवादरहित ढंगले सपथ ग्रहण गर्न निर्देशन गरेपछि नेपाल आफ्नै गृहजिल्लाको सपथ ग्रहण कार्यक्रममा रोकिने भएका हुन् ।

नेता नेपालले केही समय अगाडीको स्थायी समिति बैठकमा समेत जिल्ला जिल्लामा समानान्तर गतिविधि बढेको र त्यो पार्टीमा मात्र नभई पार्टी निकट सामाजिक संघ सस्थामा समेत देखिन थालेसँगै त्यसमार्फत आफुलाई बहिष्कार गर्ने नीति बनेको भन्दै नेतृत्वको गम्भिर ध्यानाकर्षण गराएका थिए ।
 

प्रतिक्रिया दिनुहोस