उद्योगी मालामाल, उखु किसानको बेहाल

पत्रपत्रिकाबाट

शनिबार, १९ पुस २०७६, ०७ : २६
उद्योगी मालामाल, उखु किसानको बेहाल

काठमाडाैं । महंगी बढ्यो । उद्योगीले चिनीको भाउ सोचेजस्तै पाउँछन् । छुवा, बकासले चिनी मिल मालिकले थप आम्दानी गर्छ । महंगीले उखु खेतीमा लगानी थपियो । तर, किसानले भने उखुको मूल्य लगानी अनुसारले पाउँदैनन् ।

तीन वर्षअघिकै मूल्यमा यतिखेर किसान चिनी मिललाई उखु बुझाउन बाध्य छन् । यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा तोकिएको छ । यो मूल्य तीन वर्ष अघिकै मूल्य हो । उखु बालीलाई सरकारले नगदे खेती सूचीमा राखेको छ ।

उद्योगीले उखु लिएर किसानलाई २ वर्षसम्म भुक्तानी दिँदैनन् । आफ्नै उत्पादनको मूल्य लिन किसानले आन्दोलन गर्नुपरेको किसानको गुनासो छ । ‘ऋणमै किसानले उखु उब्जाउँछन् । कर्जा काढेर त्यसको गोडमेल गर्छन् । फेरि ऋणकै भारी बोकी कटानी र ढुवानी गर्छन् तर उधारोमै बिक्री गर्नु परिरहेको छ’, उखु उत्पादक कृषक संघ रामनगर महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले भने ।

कुशवाहाका अनुसार दुःखद् कुरो त बेचेको उखुको भुक्तानी नपाउनु हो जसले गर्दा किसान ऋणकै भारीले चेपिन्छ । बजारमा चिनीको मूल्य दिनहुँ बढ्दो क्रममा छ । तर त्यही चिनीको मूलस्रोत उखुवापत किसानले पाउने मूल्य भने तीन वर्षदेखि ज्यूँको त्यूँ छ । २०६३ सालदेखि उखुमा लगानी बढ्न थालेको थियो । तर उखुको भाउ उकालो लाग्नुको सट्टा ओरालो लाग्दै गयो । उखु उब्जाउने किसान र मूल्य तोक्ने मिल मालिकको प्रवृत्तिले उखु खेतीबाट किसान आजित भइसकेका छन् । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।