कविता : बाक्सा

बुधबार, १६ पुस २०७६, १६ : २१
कविता : बाक्सा

- प्रेम रिमाल

प्रिय भाञ्जा बाक्सा राम्राे रहेछ !

हिजाे यही घरबाट
रातमा लुसुक्क निस्केर
उज्यालाेसँग भेट्न हिँडेका तिमी
सयाैं हाेनहारहरूसँगै मुक्ति अर्जाप्नका लागि
युद्धकाे आरनमा
जीवनलाई स्वाँ फ्वाँ स्वाँ फ्वाँ गराउँदै
मसान हच्किने खालका विशाल मृत्युहरू
डाेकामा बाेकेर पर भीरमा
कमरेड त्यागलाई पुर्दै गर्दा
प्राण तगाउन
त्यै खाडल खन्दा भेटिएकाे तरूल खाँदै
वीर सहिद लाल सलाम
सहिदका सपना साकार पार्छाैं
भन्दै मुठ्ठी कस्थ्याैं भन्ने पनि तिमी !
मामा म अयाेग्य ठहरिएँ
तर काेइबात छैन;
गरीबका झुपडीहरू
आशाका भग्नावशेषमा झुण्डिएर बसेका
बेपत्ताका परिवार
अनि
सहिदका टुहुराहरूकाे जीवन
याेग्य भए पुग्छ भन्ने पनि तिमी !

आजै जस्ताे लाग्छ :
तिमीलाई उडाउन जाँदा
जहाजभित्रैबाट हात हल्लाएकाे पनि ।
बाबु
फेरि म आज पनि आएकाे छु एयरपाेर्ट
काेइबात छैन भाञ्जा
हिजाेका महान् मान्छेहरू डाेकाेमा थिए
तिमी बाक्सामा छाै ।
सुप्रिमाेहरू मुठ्ठी उठाउने हिम्मत गर्दैनन्
तर बाबु बाक्साभित्र पनि मुठ्ठी कसेकाे देखेँ
प्रिय भाञ्जा बाक्सा राम्राे रहेछ,
त्यसैले ठूलाे प्राङ्गणमा सुहाउला भनेर
सुप्रिमाेका नाममा पार्सल गरिदिएँ ।

तिम्री आमा
घरी तिम्राे नाककाे कपास फेर्दिन्छिन्
तिम्री दुलही तिम्राे नाकमा बसेकाे
नकचराे झिँगा धपाउँछिन्
तिमीले छातीमा टाँसेकाे राताे झण्डा हेरेर
राेइरहेकी तिम्री आमा टक्क राेकिइन्

बाले फेरि भने : नराे नरेकी आमा नराे ।
उज्यालाे खाेज्न उबेला रातमा निस्क्याे
दिनदहाडै ढाेकाअघि निद्रामा छ आज,
काेइबात छैन
तेराे छाेराे बाक्सामा आयाे
उबेला कतिले डाेकाे समेत पाएनन् , नराे !

प्रतिक्रिया दिनुहोस