भ्रमण वर्षमा विदेशी पाहुना

रासस

मंगलबार, १५ पुस २०७६, १९ : १७
भ्रमण वर्षमा विदेशी पाहुना

फाईल फोटो

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागी हुन विभिन्न मुलुकका विदेशी पाहुना काठमाडौँ आइपुग्नुभएको छ । काठमाडौँको दशरथ रङ्गशालामा बुधबार अपराह्न ४ बजे आयोजना हुने भ्रमण वर्षको औपचारिक शुभारम्भ समारोहमा सहभागी हुन छिमेकी मुलुक भारत, चीनसहित विभिन्न देशका पर्यटनमन्त्री तथा विशिष्ट पाहुना काठमाडौँ आइपुग्नुभएको हो ।

भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ नेपाल आउनुभएको छ । भारतका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पट्टेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यू ओहन मौग, जमैकाका मन्त्री ओन मउङ पनि काठमाडौँ आउनुभएको छ ।

भ्रमण वर्ष कार्यक्रममा सहभागी हुन नेपाल आएका चारै देशका पाहुनालाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले स्वागत गर्नुभएको छ ।

भ्रमण वर्षमा सहभागी हुन भूटान, कम्बोडिया, कतारलगायत मुलुकका पर्यटन विभागका महानिर्देशकहरु पनि काठमाडौँ आउनुभएको पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिनुभयो । भ्रमण वर्षको उद्घाटन कार्यक्रमका लागि दक्षिण एशियाली, मध्यपूर्वी, युरोपलगायत मुलुकका ३४ वटा सञ्चारमाध्यमका प्रतिनिधि आइसकेको उहाँले बनाउनुभयो । 

भ्रमण वर्ष २०२० को बुधबार जनवरी १ (पुस १६ गते) भव्यरुपमा उद्घाटनका लागि सम्पूर्ण तयारी सकिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ । भ्रमण वर्षको राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक शुभारम्भ गर्नुहुनेछ भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशिष्ट अतिथिको रुपमा मन्तव्य दिने कार्यक्रम रहेको पर्यटन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस