जहाँ १८ वटा नगरको फोहोर कोच्याइन्छ ..

पत्रपत्रिकाबाट

मंगलबार, १५ पुस २०७६, ०७ : ४७
जहाँ १८ वटा नगरको फोहोर कोच्याइन्छ ..

काठमाडौँ ।  नुवाकोटको सिसडोलमा बनाइएको ल्यान्डफिल साइटमा फोहोर फाल्न थालेको १४ वर्ष पुग्दा पनि विकल्प तयार नहुँदा अब काठमाडौँको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । फोहोर फाल्ने ठाउँ भरिनुका साथै स्थानीयवासीका गुनासा र अवरोधले गर्दा यस्तो अवस्था आएको हो ।

दुई वर्षका लागि मात्र काठमाडौँको फोहोर फाल्न तयार गरिएको सो स्थानमा २०६२ जेठ २२ देखि फोहोर फालिँदै आएको छ । काठमाडौँ महानगरपालिका वातावरण विभागअन्तर्गत फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख निर्मल बरालले भने, “एकातिर सिसडोलको क्षमता नै भरियो, अर्कातिर स्थानीयवासीका गुनासा र अवरोधबीच अब काठमाडौँको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । ’’

काठमाडौँ, ललितपुर र कीर्तिपुरको फोहोर फाल्न भनी बनाइएको सिसडोलमा हाल १८ वटा नगरको फोहोर फालिँदै आएको छ । वैकल्पिक ल्यान्डफिल साइटका रूपमा नुवाकोटकै बन्चरे डाँडामा स्यानिटरी ल्यान्डफिल साइट निर्माण हुँदै छ । गएको मङ्सिरदेखि नै बन्चरे डाँडामा फोहोर लाने भनिए पनि निर्माण नसकिएकाले सिसडोलमै फोहोर कोच्याइएको छ ।गोरखापत्रमा खबर छ ।