प्रदीप कुर्दै साम्राज्ञी

सोमबार, १४ पुस २०७६, १५ : १६
प्रदीप कुर्दै साम्राज्ञी

काठमाडौं । लगातारको असफलताले साम्राज्ञीराज्यलक्ष्मी शाहलाई राम्रैसँग झस्काएको छ । त्यसैले त उनी नयाँ फिल्म साइन नगरी चुपचाप बसेकी छिन् । उनी अभिनीत ‘मारुनी’ले राम्रै प्रतिक्रिया पाए पनि बक्स अफिसमा अपेक्षित परिणाम दिन सकेन । योभन्दा अघि रिलिज भएका ‘काइरा’, ‘इन्टु मिन्टु लन्डन’ ले त सकारात्मक प्रतिक्रिया पनि पाएका थिएनन् । 

साम्राज्ञीले ‘मारुनी’ साइन गरेको दुईचार दिनपछि नै प्रदीप खड्काको अपोजिटमा हेमराज बिसीको निर्देशनमा बन्ने फिल्म साइन गरेकी थिइन् । ‘मारुनी’ लगत्तै उनी यो फिल्मको सुटिङ ज्वाइन गर्ने योजनामा थिइन् । तर, प्रदीप ‘प्रेमगीत ३’को सुटिङमा व्यस्त भएपछि साम्राज्ञी कुरेको कुर्‍यै भएकी छिन् । तिहारलगत्तै सुरु भएको सुटिङ कहिले सकिने टुंगो छैन । अझ मुस्ताङमा भइरहेको सुटिङ हिउँका कारण रोकिएपछि त साम्राज्ञीको प्रतीक्षा झन् लामो हुने देखिएको छ । यस्तै धैर्य फिल्म साइन गर्नुअघि पनि देखाए, फ्लप फिल्मको संख्या कम हुन्थ्यो कि, साम्राज्ञीजी ? - सम्पूर्ण साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस