कविता : बेपत्ता मान्छेहरू

सोमबार, १४ पुस २०७६, १३ : १९
कविता : बेपत्ता मान्छेहरू

- मंगलेश डबराल

शहरका शौचालय र अन्य लोकप्रिय ठाउँहरुतिर
ती बेपता मान्छेहरूको खोजीको पोस्टर
अझै पनि टाँसिएका देखिन्छन्
जो थुप्रै वर्षअघि दस बाह्र सालको उमेरमा
नबताइकन घरहरूबाट निस्किएका थिए
पोस्टरको अनुसार उनीहरूको उचाई मझौला छ
रङग सेतो होइन, गहूँगोरो या श्यामवर्णको छ
हवाई चप्पल लगाएका छन्
अनुहारमा कुनै चोटको निसान छ
र उनका आमाहरू उनीहरू बेगर रोइरहन्छिन्
पोस्टरहरूको अन्तिममा यो आश्वासन पनि हुन्छ
कि बेपत्ता मान्छेको सूचना दिनेवालाले पाउनेछ
भरसक उचित पुरस्कार ।

तैपनि उनीहरू पहिचानमा आउँदैनन्
पोस्टरमा छापिएका अस्पष्ट तस्बिरसित
उनीहरूको हुलिया मिल्दैन
उनको प्रारम्भिक उदासीमा
अब समस्याहरू सहने साहस छ
शहरको मौसम अनुसार फेरिँँदै गए उनका अनुहार
थोरै खाँदा, थोरै सुत्दा, थोरै बोल्दा
निरन्तर आफ्नो ठेगाना फेर्दा
सरल र अप्ठ्यारा दिनहरूलाई एकनास बिताउँदा
अब उनीहरू एउटा अर्कै दुनियामा छन्
केही जिज्ञासापूर्वक
आफ्नो बेखबरीको पोस्टर हेर्दै
जसलाई उनका बाआमाले जहिले तहिले छपाइरहन्छन्
जसमा अझै पनि दस या बाह्र
लेखिएको हुन्छ उनीहरूको उमेर ।

प्रतिक्रिया दिनुहोस