गायक रामकृष्ण ढकाल दम्पत्तीको बिचमा भएकै हो त ‘डिभोर्स’ ?

सफल खबर संवाददाता

सोमबार, १४ पुस २०७६, १० : ५३
गायक रामकृष्ण ढकाल दम्पत्तीको बिचमा भएकै हो त ‘डिभोर्स’ ?

काठमाडौं । गायक रामकृष्ण ढकाल र निलम शाहले सम्बन्ध विच्छेद किन भयो, के कारणले भयो भन्ने खबरले अहिले चिसोयाममा पनि बजार तातेको छ । कसैले केही खबर नपाईकनै एक्कासी यो समाचार संचार माध्यममा आएपछि धेरैको ध्यान यसले तान्यो । के भयो त्यस्तो, सेलिब्रेटी  ढकाल परिवारमा, किन सम्बन्ध बिच्छेद सम्मै पुग्नुपर्यो यो सम्बन्ध ? गायक आफैंले यस विषयमा मिडियामा केही नबताएपनि उनले सामाजिक संजालमा गरेको पोष्टले यो सम्बन्ध विच्छेद रचिएको नाटक हो ? कि वास्तविक नै हो भन्नेमा धेरै अड्कलबाजी हुन थालेको छ । 

लामो समयदेखी गायन क्षेत्रमा सक्रिय गायक ढकाल–निलमको सम्बन्धलाई आदर्श जोडीको रुपमा व्याख्या गरिन्थ्यो । एकाएक उनीहरु अलग भएको घटना सार्वजनिक भएसँगै ढकालका प्रसंसक निकै चिन्तित भएका छन् । यो सम्बन्ध बिच्छेदमा एउटा कुरा के अचम्म भयो भने, यसअघि सेलिब्रेटीको डिभोर्सहुदाँ श्रीमान–श्रीमती आरोप प्रत्यारोपमा उत्रिन्थे । उनीहरु मिडियामा खुलेरै एकअर्काको आलोचना गर्थे । यो जोडीले भने अहिलेसम्म मिडियामा सम्बन्ध बिच्छेदको चुरो कुरोमा मुख खोलेका छैनन् । गायक ढकालले हरेक मिडियासँग यस विषयमा आफु बोल्न नचाहेको प्रतिक्रिया दिएर पन्छिरहेका छन् ।

उनले आफ्नो सामाजिक संजालबाट भने आफुहरु पहिले जस्तै खुसी र सुखी भएर सँगै रहेको बताएका छन् । हालै उनले सार्वजनिक गरेको एक लामो स्ट्याटसमा आफुहरुको सम्बन्धमा कुनै चिसो नआएको बताएका छन् । त्यसअघि ढकालले गरेको एक पोस्टमा आफुहरुको सम्बन्ध कहिल्यै नमर्ने बताएका थिए ।

हामीहरु परिवारमा सँगै छौं :  रामकृष्ण ढकाल

मैले आफुले आफ्नो बोध भएदेखि नै गाउन थालेको हुँ ।  कति गाएँ त्यो अंकमा गनेको पनि छैन । जिवनको यो लामो अन्तरालमा मैले कति दर्शक र श्रोता कमाएँ भन्ने कुराको कहिल्यै लेखाजोखा गरिन । तर, समय यस्तो ठाउँमा आएर अडिदियो कि, हिजोदेखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शिर्ष समाचार बनाएदेखि मलाई मेरा आफ्ना आलोचक र प्रशंसक कति रहेछन् भन्ने कुराको आभाष भएको छ ।

सम्पुर्ण दर्शक श्रोता प्रति सधै कृतज्ञ छु । र, रहिरहनेछु । पछिल्लो समय जसरी मिडियामा म र निलमको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन्, ती सबै मेरो परिवारको आत्मसम्मान विपरित छन् । त्यसैले समाचारलाई विश्वास गरेर मेरो परिवारप्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु । विशेष गरेर मेरी श्रीमती निलमलाई जोडेर एक महिला प्रतिको न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्तै निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्रहत्या हुने गरी प्रतिक्रिया दिनेहरुप्रति खेद प्रकट गर्दछु । सार्वजनिक चासोको विषय बन्दा बन्दै पनि सबैका आ–आफ्नै पारिवारिक विषय हुन्छन् । जुन, नितान्त व्यक्तिगत हुन्छन् ।

व्यक्तिगत विषयमा टिप्पणी गर्नु र त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाई कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय हो । तसर्थ म प्रति चासो देखाउनु हुने मेरा सम्पुर्ण दर्शक र श्रोतालाई यति कुरा प्रष्ट पार्न चाहन्छु कि आज म जे छु त्यो सबै तपाईँ सम्पुर्ण दर्शक र श्रोताहरुका कारण छु । तर, नेपाली गीत संगीत क्षेत्रमा मलाई अनवरतरुपमा हिडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो श्रीमती निलम पनि हुन् । हामी सधै जस्तै हाँसी खुशी परिवारमा संगै छौँ । हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन । आशा छ तपाईहरुको माया रहिरहने छ ।

डिभोर्स हो अथवा नाटक ?

ढकालले आफुहरुको सम्बन्ध पहिलेजस्तै राम्रो छ भनेर देखाउन लागेका छन् । उनले त्यसपछिको पोस्टमा आफ्नो स्वर रहेको र निलमको अभिनय रहेको अर्को गीत ‘यस्तो को हौ तिमी’ सार्वजनिक गरेका छन् । त्यसपछि उनले हिजो मात्रै रन्जीत गजमेर र आशा भोस्लेको म्युजिकल जर्नी कार्यक्रममा भाग लिन जाने क्रममा छोरी रानी, श्रीमतीसँग सेल्फी खिचेर ‘रेडी फर द शो’ लेखेका छन् । उक्त तस्विरमा उनीहरु खुसी देखिन्छन् । एकातर्फ अदालतले डिभोर्स भएको पुष्टि गरिसकेको छ  ।

अर्का्तिर ढकालले उक्त डिभोर्समा कुनै यथार्थ नरहेको बताइरहेका छन् । गत बुधबार काठमाडौं जिल्ला अदालतमा उनीहरुले सम्बन्ध विच्छेद गरेको खबर फेक हो त ? होइन । किनभने, निलमले मंगलबार अदालतमा सम्बन्ध विच्छेद गरी पाऊँ भनी दिएको निवदेन समेत सार्वजनिक भएको छ  । साथै, न्यायधीश  विदुर कोइरालाले ढकाल र शाहबीचको सम्बन्ध विच्छेद भएको बताएका छन् ।

जिल्ला अदालतका शाखा अधिकृत टीकासिंह खत्रीका अनुसार ढकाल दम्पतिबीच अलग–अलग बस्ने भनेर सहमति भए अनुरुप न्यायधीश कोइरालाको इजलासले सम्बन्ध विच्छेद गराइदिएको हो ।काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार उनीहरु कानुनी रुपमा नै अलग हुन सहमत भएको बताएका छन् । निलमले निवेदन दिएपछि बुधबार रामकृष्णले पनि आफू सम्बन्ध विच्छेद गर्न सहमत भएको अदालतलाई बताएका थिए ।

श्रेस्तेदार श्रेष्ठका अनुसार ढकाल दम्पतिकी छोरी आमासँगै रहनेछन् । निलमले ढकालबाट अंश नलिने अदालतसामू बताएको पनि श्रेष्ठले जानकारी दिए ।लालिगुराँस सहकारीसँगको ऋणसम्बन्धि मुद्दाका कारण यो दम्पति केही समयदेखि तनावमा थियो । तर, ढकाल दम्पति सम्बन्ध विच्छेद भएपछि पनि सँगै बसेका छन् । पहिलेजस्तै सार्वजनिक कार्यक्रमहरुमा सँगै उपस्थित हुने गरेका छन् ।

आखिर उनीहरुको डिभोर्स नाटक हो या यथार्थमै डिभोर्स भएको हो ? कतिपयले भने डिभोर्सको नाटक गरेर उनीहरुले बाँकी रहेको सम्पति बचाउन खोजिरहेको अड्कल काटेका छन् । गायक ढकालले यस विषयमा केहि बोल्न चाहेका छैनन् ।

भिलेन बन्यो सहकारी

सबै ठिकै थियो । राम्रै चलिरहेको थियो । नेपाल तथा विदेशका कार्यक्रम र गीत रेकर्डिङबाट राम्रो दाम कमाइरहेका थिए गायक ढकाल । नेपालदेखि बिदेशका कुना–कुना गुन्जिन्थे उनी । राम्रै गाडीमा हिड्थे । राम्रै घरमा बस्थे । लाइफस्टायल गज्जबको थियो । तर, रहरहरु बढ्दै गए ।

रहरकै बाटोमा पछ्याउँदा उनी लालीगुँरास सहकारीसँग जोडीए । सुरुमा ढकाल लाजिम्पाटमा बस्थे । आम्दानी राम्रै थियो, सोहि कारण उनी ललितपुर नजिकैको एक कोलोनीमा सरे । लालिगुँरास सहकारीका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीसँग राम्रै चिनजान थियो ।

भण्डारीले भैंसेपाटीमा रहेको एउटा घरमा भाडामा बस्न आग्रह गरे । सुरेन्द्रले उक्त घर किन्न ऋण समेत मिलाइदिए । साढे २ तले घर किन्न सुरेन्द्रको सहकारीले १ करोड ८० लाख ऋण दियो । २०६६ साल फागुन ४ मा निलमको नाममा घर पास समेत गरियो । नयाँ सुबिधा सम्पन्न घर थियो । यद्यपी, ठुलो घर र खर्च बढेपछि उनले उक्त घर भाडामा दिएर अन्तै बस्ने निर्णय गरे । 

उक्त घर मर्मत गर्न ढकालले ३० लाख भन्दा धेरै खर्च समेत गरेका थिए । यतिसम्म सुरेन्द्र र गायक ढकालको सम्बन्ध राम्रै थियो । त्यसपछि भने उनीहरुहरुबिच किच–किच सुरु भयो । जति कमाएपनि मासिक झण्डै तिन लाख तिर्दा ढकाल परिवारमा ठुलो तनावले पेल्दै गयो ।

ब्याजको स्याज तिर्दा झण्डैं ३६ प्रतिशत तिर्नुपर्ने भएपछि त्यो घर निल्नु नओकल्नु भयो । त्यसपछि उक्त घर बेचेर ऋण तिर्न खोज्दा सहकारीले मतलब राखेन । एकपटक बुझ्न जाँदा २ करोड ३६ लाखको हाराहारी पुगेको थियो । २ करोडमा मिलाउन आग्रह गर्दा सहकारीले मानेन । किच–किच बढ्दै गयो ।

रामकृष्ण ढकाल बिदेश भ्रमणमा रहेको बेला एक पत्रिकामा घर लिलामीबारे सुचना सार्वजनिक भयो । त्यसपछि ढकाल दम्पतिमा बज्रपात सुरु भयो । सहकारीले घर खोजिदियो । किनिदियो । पछि घर आफैले लियो । त्यसपछि ढकालको थाप्लोमा ५ करोडको ऋण थोपरेको छ । त्यसपछि ढकाल पत्नी निलमले नेपाल छाडेर विदेश बस्ने निर्णय गरिन् । तर, ढकालले यो निर्णय मानेनन् । निलमले सम्वन्ध विच्छेदको उजुरीमा समेत उक्त कुरा जोडेकी छिन् ।

तर, उजुरीमा जे लेखिएको छ, उनीहरुका बारेमा जे समाचार आएका छन् । उनीहरुको परिवारमा भने त्यो लागू भएको छैन । ढकाल निकट एक संगीतकर्मी भन्छन्, ‘उहाँहरुको सम्वन्ध कहिल्यै छुट्टिन्छ भनेर मैले अनुमान समेत गर्दिन । सायद केहि रहस्य पक्कै छ होला ।’ (कान्तिपुर साप्ताहिक डटकमबाट)

प्रतिक्रिया दिनुहोस