माधव नेपाल पक्ष भन्छ : ‘सभामुखमा सुवास भन्दा अग्नि ठीक’

'नेम्वाङको देखाई र भित्री ब्यवहार फरक'

सफल खबर संवाददाता

सोमबार, १४ पुस २०७६, ०९ : ०३
माधव नेपाल पक्ष भन्छ : ‘सभामुखमा सुवास भन्दा अग्नि ठीक’

काठमाडौं । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई भेट्दा मान्छेहरुलाई लाग्न सक्छ– उनी जो कोहीसँग पनि मिल्न सक्छन् । कुटील चालबाजीमा माहिर मानिने नेम्वाङ सबैलाई मिलाएर लैजान सक्ने अनुभवी, योग्य ब्यक्ति भएकाले सभामुख बनाइनुपर्छ भन्ने लबिङ केपी ओली खेमाका कतिपय नेताहरुले अहिले गरिरहेका छन् ।

मुखले शुरुमा बोल्दा आफु सभामुख नबन्ने बताएका उनले आफैं भित्रभित्र सभामुखको लविङ निवर्तमान सभामुख कृष्णबहादुर महराले पदवाट राजीनामा दिएयता नै गर्दै आएका थिए । तर अहिले नेम्वाङलाई फेरि सभामुख बनाउन भईरहेको चलखेलको तत्कालिन एमाले खेमाभित्रैको माधव नेपाल समुहले भने मन पराईरहेको छैन् ।

माधव नेपाल समुहका नेताहरु भन्छन्,–सुवास भन्दा सभामुखमा अग्नि सापकोटा नै ठीक । नेम्वाङको देखाई र भित्री ब्यवहार फरक रहेको उनीहरु बताउँछन् । नेम्वाङले सिंहदरवारमा बसेर प्रधानमन्त्री ओलीको गुट संरक्षणमा मात्र लाग्ने गरेको, पार्टीभित्रका फरक धारलाई सिध्याउन कंैची चलाउन सिपालु भएको र असहिष्णु स्वभावका भएकाले नेम्वाङलाई सभामुख बनाउन नहुने माधव नेपाल पक्षको भनाई छ । नेम्वाडलाई सभामुख बनाउन ओली पक्षले गरेको तिव्र लबिङलाई समेत यो पक्षले मन पराईरहेको छैन् ।

सरकारका मन्त्री फेरिदा माओवादी तर्फका २ मन्त्री झिक्दा सोही समुहकै २ मन्त्री मात्र थपिने, पार्टीका अन्य सबै संगठनात्मक संरचना निर्माणमा पनि पूर्ववत पार्टीको भागबन्डा दोहोरिरहने तर अहिले सभामुख चयन गर्दा पार्टी एकता भईसकेको र पूर्व यो समुह, उ समुह भन्न नहुने भनी ओली पक्षले गरेको तर्क नै अनैतिक भएको माधव नेपाल पक्षको भनाई छ । आफनो पक्षका नेताको जिम्मेवारी दिलाउन पूर्व समुह भत्केको बताउने, तर अरुलाई जिम्मेवारी दिनुपर्दा पूर्व समुहनै आउने दोहोरो मापदण्डमा ओली पक्ष रहेको बुझाई नेपाल पक्षको छ ।

अहिले सभामुख पूर्व माओवादी समुहकै नेतालाई दिनुपर्ने यो समुहको निश्र्कष छ । वरिष्ठ नेता माधव नेपाललाई यो पक्षका नेताहरु वेदुराम भुषाल, युवराज ज्ञवाली लगायतले भेट गरी पूर्व माओवादी समुहलाई नै सभामुख छान्ने पहिलो अधिकार भएको र सोही अनुसारको वातावरणका लागि भूमिका खेल्न सुझाएका छन् । 

माधव नेपालले पनि त्यही सुझावका आधारमा सभामुख प्रस्ताव गर्ने अधिकार प्रचण्डकै भएको पार्टी शीर्ष नेताहरुसँगको छलफलमा ब्यक्त गर्न थालेका छन् । शनिवार बेलुकी वरिष्ठ नेता माधव नेपाल स्यवंले अध्यक्ष प्रचण्डलाई भेट गरी सभामुख प्रस्ताव गर्ने अधिकार प्रचण्डको भएको बताएका थिए ।

उनले नेम्वाङलाई बनाउन नहुने, पूर्व भागबण्डाको सहमती अनुसार नै पूर्व माओवादीले नै सभामुख लिन राम्रो हुने भन्दै प्रचण्डसँग छलफल गरेको नेपाल पक्षका एक नेताले बताए । सभामुखमा ओली पक्षले नेम्वाङ, ओली पक्षकै केही नेता र राष्ट्रपतिले अहिलेकी उपसभामुख शिवमाया तुम्बाहाम्फे र माओवादी पक्षवाट अग्नि सापकोटा, देव गुरुङ र पम्फा भुषालको नाम अगाडी सारिएको छ ।

माओवादी पक्षका नेताहरुले पार्टी एकताको महाधिवशेनसम्म संक्रमणकालिन संगठनात्मक संरचनामा रहेको, पार्टीभित्र शक्ति सन्तुलन कायम राखिरहनका लागि पनि पूर्व भागबण्डाकै आधारमा सभामुख पूर्व माओवादी पक्षकै नेताले पाउनुपर्ने बताईरहेका छन् ।

नेम्वाङले सभामुख लबिङका लागि अध्यक्ष प्रचण्डलाई दुई पटक भेट गरेर लबिङ गर्न भ्याएका छन् । प्रचण्डलाई पूर्व माओवादी धारका नेताहरुले पनि भेट गरी सभामुख नछोड्न दबाब बढाईरहेका छन् । अध्यक्ष प्रचण्डले यस विषयमा कुनै सहमति सम्झौता नभईसकेको, कुनै पात्र विशेषलाई तोकिनसकेको बताईरहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस