१० रुपैयाँमा खाना !

पत्रपत्रिकाबाट

आइतबार, १३ पुस २०७६, ०७ : ०६
१० रुपैयाँमा खाना  !

सांकेतिक तस्बिर ।

मोरङ  ।  आजकाल सय रुपैयाँ घटी कतै खाना खान पाइँदैन । महँगी उच्च रहेको यो समयमा १० रुपैयाँमा पेटभरि खाना खान पाइन्छ भन्दा तपाईंलाई अचम्म लाग्यो होला । हो,  यो वास्तविकता विराटनगरस्थित काली मन्दिर अगाडिको हो । यहाँका केही समाजसेवी व्यापारीहरुले तीन दिनदेखि दैनिक ८ सय जनालाई १० रुपैयाँमा पेटभरि खाना खुवाइरहेका छन् । उनीहरुले शुक्रबार ८ सय जनालाई बासमती चामलको भात र राजमाको तरकारी खुवाए ।स्थानीय समाजसेवी दिलिप धाडेबाल, दिपक पौडेल, नन्द तापडिया, आमोद कुईंकेल, मनोज भगत, पवन अग्रवाल र मोहन भगतले १० रुपैयाँमा पेटभरि र २० रुपैयाँमा घर प्याक खाना खुवाइरहेका हुन्।

अहिले करिब ८ सय जनालाई भात र तरकारी पेटभरि खुवाउँदा दैनिक १५/१६ हजार खर्च भइरहेको धाडेबालले बताए। ‘दैनिक खाना खुवाउनका लागि सहयोगी हातहरुले सघाइरहेका छन्,’ उनले भने, ‘कसैलाई आफ्नो नामबाट खाना खुवाउन चाहेको अवस्थामा ११ हजार रुपैयाँ लिएर हामीले उनीहरुको नामबाट खाना खुवाउँछौं।’
बजारमा शुद्ध खाना पाउनै गाह्रो रहेको अवस्थामा आफूहरुले यो अभियान सुरु गरेको धाडेबालले बताए। ‘बजारमा शुद्ध शाकाहारी खाना पाउन गाह्रो भएकाले हामीले यो सानो सुरुवात गरेका छौं,’ उनले भने, ‘यसलाई देशभरि पुर्‍याउने लक्ष्य छ।’
सहयोगी हातहरुबाट सहयोग जुटाएर निःशुल्क खाना पनि खुवाउन सकिने तर सबै मानिस खान नआउने भएकाले १० रुपैयाँ शुल्क तोकेर शुद्ध खाना पेटभरि खुवाउने अभियान सुरु गरेको मनोज भगतले बताए। ‘निःशुल्क खाना भिखारीले खाने भन्दै सम्पन्न परिवारका व्यक्ति खान आउँदैनन्,’ उनले भने, ‘त्यसैले धनी, गरिब सबैलाई बराबर १० रुपैयाँमा पेटभरि र २० रुपैयाँमा होम डेलिभरी खाना दिइरहेका छौं।’

उनले दैनिक ५०/६० किलो तरकारी र ६० किलो जति बासमतीको चामल दैनिक खपत भइरहेको बताए। काली मन्दिर अगाडी दैनिक भीख माग्नेहरु बसिरहेको र उनीहरुलाई दान गर्नेहरुले १० रुपैयाँ दिने गरेका थिए। ‘दाताले पुण्य कमाउन १० रुपैयाँ दान गर्थे तर उनीहरुमध्ये कतिपयले त्यो रुपैयाँले मदिरा खाइदिने गर्दथे,’ उनले भने, ‘त्यसैले अब दाताहरुलाई पनि १० रुपैयाँमा पेटभरी खाना खुवाएर पुण्य कमाउने अवसर प्राप्त भएको छ।’

भीख माग्नेहरु पनि पेटभरी शुद्ध खाना खान पाउँदा खुसी भएको र दाताहरु पनि १० रुपैयाँमै भोका, गरिब, विपन्नलाई पेटभरि खुवाउन पाएकोमा खुसी छन्। हुनेखाने परिवारका व्यक्तिहरु पनि खाना खान आउने गरेको धाडेबालले बताए। ‘बजारमा धेरै गरिब, विपन्न र भोका मानिसहरु आउने गरेका छन् तर उनीहरुलाई सस्तोमा खाना खाने ठाउँको व्यवस्था छैन,’ उनले भने, ‘त्यसैले अब कसैलाई पनि विराटनगरमा भोकै बस्नुपर्ने अवस्था हुँदैन।’ हुनेखाने वर्गले १० रुपैयाँभन्दा बढि पनि पैसा तिर्न खोज्दा दानपेटिकामा दान गर्न आग्रह गर्ने गरेको र त्यही अनुसार दान दिई सन्तुष्ट भएर जाने गरेको उनले सुनाए। कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस