संविधान संशोधनको मुद्धा लिएर राजपा सरकारमा

पत्रपत्रिकाबाट

शुक्रबार, ११ पुस २०७६, ०७ : ३८
संविधान संशोधनको मुद्धा लिएर राजपा सरकारमा

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल संघीय सरकारमा सहभागी हुने सम्भावना बढेको छ । समाजवादी पार्टी सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै केपी शर्मा ओली नेतृत्वको सरकारले दुई तिहाइ गुमाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले दुई तिहाइ गुमाएलगत्तै राजपालाई सरकारमा ल्याएर गुमेको दुई तिहाइलाई यथावत् राख्ने कोसिस थालेका छन् । सोही कोसिसअनुसार प्रधानमन्त्री ओलीले राजपा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोलगायत सो दलका अन्य नेताहरुसँग समेत औपचारिक र अनौपचारिक छलफल थालेका छन् ।

राजपा नेपाल अध्यक्षमण्डलका संयोजक महतोले समेत पार्टी संघीय सरकारमा सहभागी हुन सक्ने संकेत गरेका छन् । तर, उनले यसका लागि सरकार संविधान संशोधनसहित आफूहरुका अन्य माग पूरा गर्न सहमत हुनुपर्ने सर्त राखेका छन् । बिहीबार राजधानीसँग कुरा गर्दै संयोजक महतोले पार्टीले उठाउँदै आएको माग सरकारले सम्बोधन गरे सरकारलाई हरेक किसिमको सहयोग गर्न सकिने बताए ।

उनका अनुसार संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनमा लागेकाहरुको झुटा मुद्दा फिर्तालगायत माग राजपाले उठाउँदै आएको छ । सरकार यी माग सम्बोधन गर्न तयार भएको खण्डमा राजपा पनि सरकारमा सहभागी भई सरकारलाई सहयोग गर्ने उनले बताए ।  ‘वेट एन्ड वाच । हेरौं, सरकारले कस्तो व्यवहार गर्छ ? सरकारले सकारात्मक व्यवहार गरे हामी पनि सरकारमा जान सक्छौं,’ महतोले भने, ‘सरकारले जस्तो व्यवहार गर्छ, हामी पनि त्यसरी नै व्यवहार गर्छौं । तर, उधारो सहमति गरिँदैन ।’
सरकारसँगको सम्बन्ध राम्रो हुँदै गएको बताउँदै उनले सरकारलाई चाहिने हरेक किसिमको सहयोग गर्न राजपा तयार रहेको बताए । तर, राजपाले उठाउँदै आएको माग सम्बोधन नभए पार्टी सरकारमा सहभागी नहुने उनले स्पष्ट पारे । राजपाले उठाउँदै आएको माग सम्बोधन गर्न सरकार सकारात्मक भएमा पार्टीले पनि सोहीअनुसार सहयोग गर्दै अगाडि बढ्न सक्ने उनले बताए ।

संविधान संशोधनका लागि समेत दुई तिहाइ आवश्यक रहेकाले एकले अर्कोलाई सहयोग गर्दै अगाडि बढ्नुको विकल्प नभएको उनले बताए । ‘प्रधानमन्त्री शक्तिशाली हुनुहुन्छ । दुई तिहाइ निकट हुनुहुन्छ । हामी दुई तिहाइ पु¥याउन पनि तयार छौं । उपेन्द्र यादवले समर्थन फिर्ता लिएपछि दुई तिहाइ पुग्दैन भनेर चिन्ता लिनुपर्दैन । प्रधानमन्त्री सबै नेपालीको संविधान बनाउन तयार भए हामी दुई तिहाइ पु¥याउन सहयोग गर्छाैं,’ महतोले भने ।

सरकारसँग राजपाले गरेको आशाअनुसार काम भए संघीय सरकारमा मात्र नभई प्रदेश २ सरकारमा पनि केही गर्न सकिने भन्दै उनले प्रदेश २ सरकार पनि परिवर्तनको संकेत गरे । केही समयअघि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राजपा नेपालबीच भएको दुई बुँदे सहमतिले समेत राजपा सरकारमा सहभागी हुने विश्वास नेताहरूले गरेका छन् । राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने र नेकपा र राजपा नेपालबीच राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमित छलफल गर्ने र सहकार्यको प्रक्रियालाई अघि बढाउने दुई बुँदे सहमतिमा उल्लेख छ । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस