८ महिनादेखि २ जना कर्मचारीको भरमा नगरपालिका, सेवाग्राही मर्कामा

सफल खबर संवाददाता

मंगलबार, ०८ पुस २०७६, १८ : ०६
८ महिनादेखि २ जना कर्मचारीको भरमा नगरपालिका, सेवाग्राही मर्कामा

बझाङ । बझाङको बुङ्गल नगरपालिका ८ महिना देखि कर्मचारी विहिन भएको छ । गत वैशाख १ गते बाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृत दुबै सरुवा भएर गई सकेपछि नगरपालिका सुब्बाको भरमा चलिरहेको बुङ्गल नगरपालिकाका नगर प्रमुख धन बहादुर बिष्टले बताए ।

कर्मचारी नहुदा जेठ ८ गते बाट बुङ्गल नगरपालिका कार्यालयका नायव सुब्बा भरत बहादुर रोकायाले नि. प्रमुख प्रशासकीय अधिकृतको काम गरीरहका छन भने नगरपालिकाको लेखा साखा नै सदरमुकाम चैनपुरमा राखेर लेखा अधिकृत जिल्ला अदालत बझाङका लेखापाल सिवराज पाण्डेले काम गरी रहेको बुङ्गल नगरपालिकाका नायव सुब्बा भरत बहादुर रोकायाले बताए ।

रोकायाका अनुसार नगरपालिकाले कर्मचारी मागको लागि चैत्र महिना नै सामान्य प्रशासन मत्रालय काठमाडौंमा पत्र पठाई सके पनि अहिले सम्म कर्मचारी नपठाएको उहाँको भनाई छ । नगरपालिकाको लेखा शाखा नै सदरमुकाम चैनपुरमा रहेपछि सामान्य लेखा अधिकृतको हस्ताक्षर गर्नको लागि पनि चैनपुर आउनु पर्दा आफुलाई समस्या भएको बुङ्गल नगरपालिका २ का स्थानीय देव धामीले बताए । देव धामीले भने ,सामान्य लेखा अधिकृत को हस्ताक्षर गराउन पनि चैनपुर आउनु पर्दा दुई आउन जान दुई दिन लाग्ने र खर्च पनि धेरै हुने गरेको छ ।

कर्मचारी नहुँदा २०७५ साल साउन महिना वाट अहिले सम्म १८ महिनाको सार्वजनिक सुनाइ पनि नगरेको स्थानियको आरोप छ ।  नगर प्रमुख धन बहादुर  बिष्टका अनुसार नगरपालिकामा स्थायी कर्मचारी जम्मा ५३ जना कर्मचारी हुनु पर्नेमा अहिले , पाचौँ तहको सुब्बा र छैटौ तहमा स्वास्थ्य साखा संयोजक दुई जना मात्र रहेको बताए । दरबन्दी अनुसार कर्मचारी नहुँदा कार्यालय संचालन गर्न समस्या भएको समेत उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस