किसान मार्न यसरी गरियो कुखुरामा सिण्डिकेट, प्रतिकिलो ४०० पुर्‍याउने दाउ

सफल खबर संवाददाता

शनिबार, ०५ पुस २०७६, १० : २३
किसान मार्न यसरी गरियो कुखुरामा सिण्डिकेट, प्रतिकिलो ४०० पुर्‍याउने दाउ

काठमाडौं । यतिबेला सरकारले बजारमा एकाधिकार, सिण्डिकेट सबै हटेको दावी गर्दै आएको छ । तर त्यो व्यवहारमा देखिँदैन । यही मामिला हालै कुखुरा व्यवसायमा पनि मेल खान्छ । तर, कुखुराको चल्ला उत्पादन गर्ने व्यापारीको संस्था नेपाल ह्याचरी संघले किसानमाथि ज्यादती थोपेरेको छ । त्यो भनेको करिब एक अर्ब बराबरको कुखुराको अण्डा र चल्ला नष्ट गरिएको छ ।

कुनै पनि व्यवसाय नाफा कमाउनका लागि गरिन्छ । तर कुखुरा उत्पादकहरुको संस्थाले भने नाफाको नाममा किसान मार्ने खेल सुरु गरेको छ ।

कृषि सचिव युवकध्वज जिसीले समेत यसमा सहयोग गरिरहेको आरोप लागेको छ । यो खेल कृषि मन्त्री घनश्याम भुसालको जानकारीमा समेत नरहेको जानकारहरु बताउँछन् । उनीहरुले कुखुराको मासुको भाउ घटेको र आफूहरु मर्कामा परेको भन्दै जिउँदा चल्ला मारेर नाफा गर्न खोजेको जस्तो गरेका छन् । 

विशेषगरी पछिल्ला दिनमा नेपाल कुखुराको मासु उत्पादनमा धेरै राम्रो गरिरहेको छ । तर नेपाल ह्याचरी संघले भने सिण्डिकेट कायम गरेर उपभोक्ताको ढाड सेक्ने गरी मासुको भाउ बढाउन चल्ला नै मारेको छ । व्यवसायका लागि भनेर उत्पादन गरिएका ३० लाख चल्ला मारेर संघले किसानको लगानी समेत खाल्डोमा पुरेको छ । 

बजारमा बोइलर र कोइलरको मासुको भाउ नबढेको दोष लगाएर उनीहरुले पछिल्लो दिनमा गैरकानूनी तरिकाले कुखुराको चल्ला मारेका हुन् । 
जानकारहरुका अनुसार ह्याचरी संघले मारेका चल्लाको मूल्य मात्रै १५ करोड बराबरको रहेको छ । भाउ नबढेको नाममा किसान मार्ने खेल शुरु हुँदा समेत सरकार भने चुपचाप बसेको छ । 

माक्र्सवादको व्याख्याता रहेका  भुसाल कृषिमन्त्रीका रुपमा कार्यरत छन् । उनैक मन्त्रालयले हेर्ने कुखरा व्यवसायमा देखिएको यो चरम अराजकतालाई नियन्त्रण गर्ने तर्फ सरकारले कुनै पहल गरेको छैन । व्यवसायीको पक्षमा सचिव नै दरिलो रुपमा उभिएपछि मन्त्री भुसालको समेत केही लाग्दो रहेनछ । 

व्यापारीको विषयमा बोल्न नमिल्ने भनेर सरकार पन्छिएको छ । जानकारहरुका अनुसार संघले बजार सुधार गर्ने नाममा आफूखुसी निर्णय गरी किसानको फार्ममा पसेर कुखुराको चल्ला मारेका छन् । संघका पदाधिकारी नै चल्ला मार्न हिँडेको देख्ने, जान्ने सुन्नेले बताएका छन् । व्यवसायिक लाभको नाममा संघका पदाधिकारी नै चल्ला मार्न लाग्नुले विधिको शासन, न्याय, कानून हराएको अर्थका रुपमा किसानले लिएका छन् । संघले गत मंसिर २९ गतेदेखि यही पुस ९ गतेसम्म चल्ला मार्ने, उत्पादन हुन नदिने, अटेर गरे किसानलाई नै कारवाही गर्नेसम्मको धम्की दिएको छ । 

पीडित किसानका अनुसार संघका पदाधिकारीले माया लाग्दा चल्लालाई तातो र चिसो पानी खन्याएका छन् । मानवीयता हराएपछि जे पनि गर्न मिल्दो रहेछ भन्ने अवस्था संघले देखाएको छ । त्यतिमात्रै होइन, संघका पदाधिकारीले करिब ५० करोड बराबरको चल्ला निस्कने अण्डा समेत नष्ट गरेर ज्यादती गरेका छन् । 
सरकारले सिण्डिकेट हटाएको दावी गरेको छ । तर नेपाल ह्याचरीवाला संघले सिण्डिकेट कायम गर्न चल्ला र अण्डा नै नष्ट गरेर प्रष्ट भइसक्दा समेत कुनै कारवाही गर्ने तर्फ सरकारले पहल गरेको छैन । 

ह्याचरी संघका अध्यक्ष टिकाराम पोखरेलले खुला रुपमा नै सिण्डिकेट कायम गर्ने लक्ष्यका साथ चल्ला नष्ट गरिएको आशयको भनाइ सार्वजनिक गरेका छन् । उनले मासुको भाऊ बढाउन त्यस्तो गरिएको सार्वजनिक रुपमा नै बताएका छन् । यस आधारमा उनलाई कारवाही गर्न सकिने अवस्था भएपनि सरकारले कुनै कारवाही नगरेकोमा किसानले गुनासो गरेका छन् ।

जानकारहरुका अनुसार कुखुराको मासुको भाउ प्रतिकिलो ४०० रुपैयाँ पुर्‍याउने लक्ष्यका साथ चल्ला र अण्डा नष्ट गरिएको छ । तर सरकारी निकाय भने यो विषयलाई थाहा पाएर पनि चुपचाप बसेर व्यापारीको हितमा लागेको छ । कुखुराको चल्ला मारिएको विषयमा सचिव युवकध्वज जिसीसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् । 

जानकारहरुका अनुसार सचिव जिसीकै योजनामा ह्याचरीवालाले ज्यादती गरेका हुन् । किसान मारा सचिवले तत्कालिन कृषिमन्त्री चक्रपाणी खनाललाई समेत समस्यामा पारेका थिए ।

प्रतिक्रिया दिनुहोस