सत्यम स्कुलमा कराँते प्रतियोगिता हुने

सफल खबर संवाददाता

शुक्रबार, ०४ पुस २०७६, १५ : ५८
सत्यम स्कुलमा कराँते प्रतियोगिता हुने

चितवन । चितवनको भरतपुर ८ गौरीगञ्जमा रहेको सत्यम स्कुलले ‘प्रथम सत्यम स्कुल चितवन जिल्ला स्तरीय अन्तर विद्यालय कराँते प्रतियोगिता हुन लागेको छ । प्रतियोगिताको पूरा तयारी सकिएको स्कुलका प्रिन्सिपल अजिव पौडेलले बताउनुभयो । 

पुसको सात र आठ गते हुने प्रतियोगितामा चितवनका जिल्लाभरका १५ भन्दा बढी सामुदायिक तथा संस्थागत विद्यालयले सहभागिता जनाउने प्रिन्सिपल पौडेलले बताउनुभयो । स्कुलले आज पत्रकार सम्मेलन गरी प्रतियोगितामा ९ वटा तौल समूहबीच प्रतिस्पर्धा हुने जनाएको छ । 

सम्मेलनमा प्रिन्सिपल पौडेलले २० केजीदेखि ५५ केजीसम्मको समूहबीच हुने प्रतिस्पर्धामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रवेश शुल्क लाग्दैन ।’ उहाँका अनुसार सत्यममा कक्षा १ बाट सितोरिया कराँते सिकाइन्छ ।

पत्रकार सम्मेलनमा स्कुलका भाइस प्रिन्सिपल पंकज रेग्मीले सत्यम स्कुलको पाठ्यक्रम र पाठ्यपुस्तकबारे जानकारी दिनुभएको थियो । 

यस स्कुलमा खोजमुलक विज्ञान, प्रयोगमुखी गणित, समसामयिक पाठ्यक्रम र उन्नत पाठ्यपुस्तकका साथै आधुनिक खेती प्रणाली, कला संगीत, योगा, मार्सल आर्ट र खेलकुदका विषयगत सिकाइ तथा प्रयोग भइरहेको छ । ६० प्रतिशत प्रयोगात्मक विधि अपनाइएको छ । 

शिक्षक दीपक भट्टका अनुसार हरेक वर्ष खेलकुदको माध्यमबाट विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने पवित्र उद्देश्यका साथ यस प्रतियोगिता गरिएको हो । 

प्रतिक्रिया दिनुहोस