एक अर्कालाई दुर्घटनाको दोष दिँदै पन्छिँदै जिम्मेवार निकाय

पत्रपत्रिकाबाट

विहीबार, ०३ पुस २०७६, ०८ : १७
एक अर्कालाई दुर्घटनाको दोष दिँदै पन्छिँदै जिम्मेवार निकाय

काठमाडौं । केही दिनअघि मात्र सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाए भने १८ जना घाइते भए । सिन्धुपाल्चोकमा महिना दिनभित्र भएको यो दोस्रो ठूलो दुर्घटना थियो । गत कात्तिक तेस्रो साता सिन्धुपाल्चोककै सुकुटेमा बस दुर्घटना हुँदा १७ जना नागरिकले ज्यान गुमाउनुपरेको थियो भने चार दर्जन घाइते भएका थिए ।

पछिल्लो समय देशका विभिन्न ठाउँमा ठूला दुर्घटना भएका छन् । १७ मंसिरमा बागलुङमा भएको जिप दुर्घटनामा १० र ११ मंसिरमा अर्घाखाँचीमा भएको बस दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए । म्याग्दीको मालिका गाउँपालिका–७ मा भएको बस दुर्घटनामा चार जना विद्यार्थीको मृत्यु भएको थियो ।

सानातिना दुर्घटना दिनदिनै थपिएका थपियै छन् । ट्राफिक प्रहरीका अनुसार गत वर्ष सडक दुर्घटनामा २ हजार ७ सय ८९ को निधन भएको थियो भने गत साउनदेखि हालसम्म ९ सय २१ जनाको निधन भएको छ । पछिल्लो सिन्धुपाल्चोकको सडक दुर्घटनापछि भने प्रधानमन्त्री केपी शर्मा ओली आफैंले चासो देखाएका छन् ।

उनले सम्बन्धित निकायलाई बोलाएर छलफल गरे भने दुर्घटना रोक्नेबारे कदम चाल्न निर्देशनसमेत दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुर्घटनाको छानबिन गर्न सहसचिवको नेतृत्वमा समितिसमेत गठन गरेको छ । अहिले दुर्घटना हुनुको कारणबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन् । सरोकारवाला निकायहरू भने एकले अर्कालाई दोष दिएर पन्छिने दाउमा देखिएका छन् । राजधानी दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस