भीम रावल बोकेर माधव नेपाल किन पुगे प्रचण्ड निवास ?

सफल खबर संवाददाता

सोमबार, ३० मंसिर २०७६, ०८ : ५२
भीम रावल बोकेर माधव नेपाल किन पुगे प्रचण्ड निवास ?

काठमाडौं । सत्तारुढ दल नेकपाको एक वर्ष पछि स्थायी समिति बैठक शुरु भएको छ । आइतबारवाट शुरु बैठकमा नेता भीम रावलले पार्टी बैठक एक वर्ष सम्म किन बोलाउन आवश्यक ठानिएन ? भनेर कडा शब्दमा आपत्ति जनाएका थिए । अध्यक्ष प्रचण्डले यस बारेमा आफुहरुले राजनीतिक प्रतिवेदनमै आत्मआलोचना स्वीकारेर आएको र अब त्यस्ता गल्ती नदोहो¥उने प्रतिबद्धतापछि मात्र रावल लगायत रघुजी पन्त चुपचाप बसेका थिए ।

दिँउसो बैठकमा पार्टी नेतृत्वको चर्काे आलोचनामा उत्रिएका तिनै रावललाई लिएर साझँ वरिष्ठ नेता माधव नेपाल प्रचण्ड भेटन खुमलटार पुगेका थिए । वरिष्ठ नेता नेपालले भीम रावललाई नै बोकेर अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आइतबार साँझ किन पुगे ? नेकपाभित्र अहिले चर्चामा छ । रावलसँग यस विषयमा जिज्ञासा राख्दा खुल्न चाहेनन् । तर पछिल्लो समय निक्कै वाकपटुताका साथ पार्टी नेतृत्व र सरकारको आलोचनामा उत्रिरहेका रावललाई बोकेर माधव नेपाल प्रचण्ड भेट्न पुग्नुलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ । वरिष्ठ नेता नेपाल भने हिजो बिहान पनि सचिवालय र स्थायी समिति बैठक अगाडी प्रचण्ड निवास पुगेका थिए ।

साँझ प्रचण्ड निवासमा नेपाल र रावल पुग्दा प्रवक्ता नारायणकाजी श्रेष्ठ, उर्जामन्त्री समेत रहेका नेता वर्षमान पुन लगायत नेताहरु पनि खुमलटारमै थिए । माधव नेपालले पार्टी सचिवालयमा यस अगाडी राखेको ७ बुँदे असहमति पत्रमा तत्कालिन एमाले तर्फका उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालय सदस्य बनाउनु पर्ने प्रस्ताव पार्टीमा गरेका थिए ।

यस पटकको बैठकमा उनको त्यो फरक मत एजेण्डाका रुपमा नआएको र उनले असहमति राखेरै निर्णय भएको सचिवालयका निर्णय भने अनुमानेदनका लागि राजनीतिक दस्तावेजकै अंगका रुपमा आएपछि यस विषयमा के गर्ने भन्नेमा छलफल गर्न नेता नेपाल रावल बोकेर प्रचण्ड निवास पुगेको नेपाल निकट नेताहरुले बताएका छन् ।

‘राजनीतिक प्रतिवेदनले अल्पकालिन कामको योजना बोकेर आएकोले त्यसलाई गम्भिर रुपमा लिनुपर्ने केही देखिदैन तर त्यसभित्र सचिवालयले गरेको निर्णय पनि अनुमोदन गराउने अंश आएको छ, त्यसमा कतिपयमा वरिष्ठ नेता नेपालले फरक मत राख्नु भएको थियो, त्यो छलफलमा कसरी आउँछ र निर्णय प्रक्रियामा कसरी जान्छ भन्नेमा माधव कमरेड लगायत हामीहरुको चासो छ’ नेपाल निकट एक स्थायी समिति सदस्यले भने,–‘सचिवालयको निर्णय अनुमोदनको विषयमा छलफल हँुदा एक ब्यक्ति एक मुख्य जिम्मेवारी भनेपनि त्यो कार्यान्वयनमा छैन । यो विषय पक्कै उठ्छ । त्यसलाई निर्णय प्रक्रियामा उहाँहरुले कसरी लैजानुहुन्छ, त्यसमा हामीहरुको चासो छ । ’

वरिष्ठ नेता नेपालले यही विषयमा प्रचण्डसँग कुरा गर्न नेता रावललाई लिएर खुमलटार पुगेको हुन सक्ने ति सदस्यले बताए । बैठकमा रावल लगायत नेताहरुले स्थायी समिति बैठक लम्बिएपनि जमेर बहसमा भाग लिन दिनुपर्ने माग पनि आइतबारको वैठकमा गरेका थिए ।
आजवाट शुरु हुने राजनीतिक प्रतिवेदनमाथीको छलफलमा सहभागी नेताहरुलाई बोल्नका लागि कति समय उपलब्ध गराउने ? अध्यक्षले वढीमा १० मिनेट भन्ने प्रस्ताव गर्दा पनि रावललगायत माधव नेपाल पक्षका नेताहरुले कम्तीमा आधा घण्टा बोल्न दिनुपर्ने माग गरेका थिए ।

यो विषयमा पनि हिजो कुनै सहमति जुटेको थिएन । आजै यस विषयमा निर्णय लिने र बैठक आज र भोलि दुई दिनमा सकाउनु योजनामा नेकपाका दुई अध्यक्ष छन् ।तर दुई दिन भन्दा वढी लम्वाउने योजनामा स्थायी समिति सदस्यहरु देखिईरहेका वेला वरिष्ठ नेता नेपाल र भीम रावलको अध्यक्ष प्रचण्ड सँगको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको नेकपाका अर्का एक नेताले वताए । नेकपा स्थायी समिति बैठक अहिले बिहान ११ बजेवाट फेरि शुरु हुनेछ । आज अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन, विधान संसोधन प्रस्ताव लगायतमा छलफल हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस