नेकपा स्थायी कमिटी बैठक : अध्यक्ष प्रचण्डबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल भोलि

सफल खबर संवाददाता

आइतबार, २९ मंसिर २०७६, १६ : २१
नेकपा स्थायी कमिटी बैठक : अध्यक्ष प्रचण्डबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल भोलि

काठमाडौँ ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमाथि छलफल भोलि हुनेछ ।

पार्टी कार्यालय धुम्वाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीको विधान संशोधन, सरकारको समीक्षा, आगामी ६ महिने कार्ययोजना, केन्द्रीय समिति बैठक बोलाउने लगायतका विषय समेटिएका छन् । 

वर्तमान परिस्थिति, राजनीतिक घटनाक्रम, पार्टीको आगामी नीतिलगायत विषय समेटिएको प्रतिवेदन प्रचण्डले पेश गरेका हुन् । आइतबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा प्रचण्डले प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनमाथि सोमबारदेखि छलफल हुनेछ । करिब दुई घण्टा स्थायी कमिटी बैठक चलेर स्थगित भएको छ । नेकपाको स्थायी कमिटी ४५ सदस्यीय छ ।

बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएका थिएनन् । एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओली आराम गरिराखेका छन्। उनको स्वास्थ्यमा सुधार भइराखेको छ।

आइतबार नै बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकका लागि पाँच एजेन्डा तय गरेको थियो । राजनीतिक प्रतिवेदन पेश, केन्द्रीय कमिटी बैठक बोलाउने, नेपाल(भारत सीमा विवाद, विधान संशोधन र अन्य एजेन्डा छलफलका लागि तय थिए । 

बैठकमा प्रचण्डले अध्यक्षद्वयको तर्फबाट १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए । "राजनीतिक प्रतिवेदनमा सात वटा उपशीर्षक रहेका छन्", प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, "ती शीर्षकहरुमा अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय परिस्थिति, पार्टी एकताको सुदृढीकरण, सरकारको सामान्य समीक्षा, उपचुनावको समीक्षा र आगामी कार्ययोजनासँग सम्बन्धित कार्यक्रमहरु रहेका छन् ।"

बैठक ठीक एक वर्षपछि सुरु भएको र केही महत्त्वपूर्ण एजेन्डाहरु रहेका झलनाथ खनालले बताए । "सबैभन्दा महत्त्वपूर्ण एजेन्डा राजनीतिक प्रतिवेदन अध्यक्षले प्रस्तुत गर्नुभयो" उनले भने, "विधान संशोधनको प्रस्ताव महासचिवले प्रस्तुत गर्नुभएको छ ।"

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदनबारे संक्षिप्त समीक्षा गरेका थिए। स्थायी समिति बैठक पनि धेरै ढिला सुरु भएको भन्दै कमजोरी भएको उनले बताएका थिए।

"पार्टी बैठक ढिला भएको छ। यसमा गम्भीर त्रुटीहरु छन् । यसलाई आगामी दिनमा दोहोरिन नदिने प्रतिबद्धता उहाँले जनाउनुभयो', बैठकपछि भीम रावलले भने ।

आजको बैठकमा कुनै पनि सदस्यले आफ्नो धारणा राखेका छैनन् । बैठक सोमबार बिहान ११ बजे पुन बस्नेछ ।

प्रतिक्रिया दिनुहोस