जहाँ अनमोल, त्यहीँ अवार्ड

बुधबार, २५ मंसिर २०७६, १५ : १९
जहाँ अनमोल, त्यहीँ अवार्ड

काठमाडौं । अवार्ड पाउनु त्यति सजिलो कुरा होइन तर अनमोल केसी जहाँ पुग्छन्, त्यहाँ उनी अवार्ड नपाई फर्कदैनन्। उनले नपाउने अवार्डमा उनी गएको पनि पाइँदैन । उनका ‘कृ’ र ‘क्याप्टेन’ फिल्म तुलनात्मक रुपमा फ्लप फिल्म मानिन्छन् । तर हेर्नुस्, उनको भाग्य ! उनले ती फ्लप फिल्मबाट पनि अवार्ड हात पारिरहेका छन् ।

‘कृ’ र ‘क्याप्टेन’ले लगानी नउठाए पनि अनमोलले अवार्ड त उठाइरहेका छन् ! अब यसैलाई उपलब्धि मान्नुस् अहिलेलाई ।

अब जिम्मेवारी त उनकै हो किनभने अवार्ड त अभिनयका लागि दिइने हो, जुन उनीबाट हालसम्म देखिनुपर्ने चिज देखिएको छैन। यही कारण पनि उनको आलोचना हुँदैआएको छ । रोचक त, आफू कमजोर छु भन्ने उनी स्वीकार्दैनन् र दिइने सबैजसो अवार्ड लिन छाड्दैनन् ।

पछिल्लो फिल्म ‘ए मेरो हजुर ४’मा साइन गरेका अनमोलले जापानमा भएको सूर्य इन्टरनेसनल अवार्डमा सहभागिता जनाए, ‘पपुलर एक्टर’को अवार्ड पाए । त्यो अवार्ड उचालेको एक साता नबित्दै अमेरिका उडेका उनी त्यहाँ आयोजित ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा ‘स्टार अफ दि इयर’को अवार्ड उचाले ।

खैर, उनी पनि बाबु भुवन केसी जस्तै छन्। जहाँ गए पनि खाली हात नफर्कने ! ठीक छ, बिँडो त थाम्नु प-यो नि, कि कसो ? - शुक्रबार साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस