फेरि उठ्न खोजेको एउटा पर्यटकीय गन्तव्य

सफल खबर संवाददाता

मंगलबार, २४ मंसिर २०७६, १७ : ३३
फेरि उठ्न खोजेको एउटा पर्यटकीय गन्तव्य

चितवन ।  कुनै समय मेघौलीको टाइगर टप्स भनेपछि देशभरि चर्चित थियो । निकुञ्जभित्रको टाइगर टप्स होटलले नै मेघौलीको पर्यटन धानेको थियो । त्यही एउटा होटलका कारण सौराहासँग प्रतिस्पर्धा गर्न सक्षम बनिरहेको थियो मेघौली । 

मेघौली विमानस्थल थियो, घन्टाघन्टामा जहाजहरु आइरहन्थे । विश्वकै एकमात्र अन्तर्राष्ट्रिय हात्तीपोलो मेघौलीमा हुँदै आएको थियो । त्यसैले त दिनहुँ पर्यटनको क्षेत्रमा एक कदम अगाडि थियो मेघौली । 

हाल भरतपुर महानगरको वडा नं २७ पर्ने मेघौलीलाई एक पटक फर्केर हेर्दा त्यो बेलाको मेघौली र यो बेलाको मेघौलीमा धेरै फरक पाउँछन् वडाध्यक्ष गोविन्द तामाङ । ‘त्यो बेलाको टाइगर टप्स, त्यो बेलाको विमानस्थल र त्यो बेलाको हात्तीपोलोले मेघौलीलाई विश्वमा चिनाएको थियो’ भरतपुर वडाध्यक्ष चेपाङले भने, ‘उसबेलाको मेघौली यसबेला छैन, तर उठ्न खोजिरहेको छ । उसबेलामा फेरि फर्कन खोजिरहेको छ ।’ 

राप्ती र नारायणी नदीको संगमस्थल साविक मेघौली गाविसको गोलाघाट पर्यटकका लागि सौराहाभन्दा विशेष थियो।स्थानीय थारु, बोटे, मुसहर जीवनशैली, रहनसहन र संस्कृतिलगायतले मेघौलीको पहिचान विश्वमाझ पुगेको थियो । 

वडाध्यक्ष चेपाङले भने, ‘पहिलेको मेघौली र अहिलेको मेघौलीमा फरक त छ, हामी फेरि पहिलेको मेघौलीमा फर्कन खोजिरहेका छौँ, यसको मतलब हामीले फेरि टाइगर टप्स मागेका होइनौँ, यसको टाइगर टप्सको ठाउँमा अरु पर्यटकीय आकर्षक थप्नुपर्छ ।’ उनले मेघौलीमा बन्न लागेको राइनो पार्कले पहिलेका सबै राम्रा पक्षहरुलाई बिर्साउने बताउँछन् । राइनो पार्कको ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलबाट शिलान्यास भइसकेको छ । 

हिजोको रौनक आज मेघौलीमा छैन । तर हिजोको भन्दा बढी रौनकका कार्यक्रमहरु मेघौलीमा आउँदैछन् । वडाध्यक्ष तामाङका अनुसार फेरि एक पटक मेघौलीको पर्यटन उदाउँदै छ । 

बिर्साउँदै मेघौलीको ती दुःख

लामो समय मेघौलीले दुःख झेलेको छ । २०६६ सालमा टाइगर टप्स निकुञ्जभित्रबाट बाहिरिएपछि मेघौलीको दुःख सुरु भएको हो।त्यसयता न त विमानस्थल नै चलेको छ, न मैघौलीको पर्यटन अगाडि बढेको छ । मेघौलीको हात्तीपोलो त एकादेशको कथाजस्तो बन्यो । १० वर्ष दुःख काट्यो मेघौलीले ।संघीय सरकारको उत्कृष्ट १०० गन्तव्यभित्र मेघौली नपरेपछि निराशा छायो मेघौलीमा । चिन्तामा डुव्यो मेघौली ।  

अब ती दुःख मेघौलीका गएको अनुभव हुँदैछ । प्रदेश सांसद कृष्ण भुर्तेल अब मेघौलीका दुःखका दिन गएको अनुभव गर्छन् । उनले फेरि मेघौली पर्यटनमा उठिरहेको बताउँछन् । ३ नं प्रदेश सरकारको उत्कृष्ट १० गन्तव्यभित्र १ नं मा मेघौली परेपछि अब मेघौलीका दुःखका दिन गएको सांसद भुर्तेल बताउँछन् ।

मेघौलीमा यतिबेला होमस्टेहरु खुलिरहेका छन् । पर्यटकीय होटलहरु बनिरहेका छन् । मेघौलीमा ठूलो लगानीमा बनेका चौधरी समूहको मेघौली सेराई, बाराही होटल, गोलाघाट वाइल्ड लाइफ रिसोर्ट, होटल सारङ्गा सञ्चालनमा छन् ।

पछिल्लो समय मेघौली क्षेत्रमा मात्रै साना तथा ठूला गरी २२ वटा होटल सञ्चालनमा छन् । केही थपिने क्रममा पनि छन् । त्यसमध्ये ३ वटा ठूला, ६ वटा मझौला र १३ वटा साना होटलसहित होमस्टेहरु सञ्चालनमा छन् ।

पर्यटन विकास समिति चितवनका महासचिव विश्वराज सुवेदीले मेघौलीका होटलमा निजी क्षेत्रको साढे तीन अर्बको लगानी रहेको बताउँछन् । उहाँले भन्नुभयो, ‘मेघौलीमा होटलमात्र होइन, होमस्टे खुल्नेक्रम पनि बढेको छ, साना ठूला गरी मेघौलीमा एक दर्जन होटलहरु सञ्चालनमा छन् । 

भरतपुरबाट करिव ३०किलो मिटर पश्चिममा पर्ने मेघौली पुग्ने सडकको अवस्था पनि राम्रो भइरहेको छ । कुनै बेला पर्यटकहरु सडककै दुरावस्थाले पनि त्यहाँजान हिच्किचाउँथे, अहिले सडक फराकिलो र सुन्दर बनेका छन् । 

निरन्तर बगिरहेका नारायणी र राप्तीको संगमस्थल गोलाघाट पनि चम्किरहेको छ । मेघौलीको विमानस्थललाई मात्र चलाउन सकियो भने पनि मेघौली पुरानै अवस्थामा फर्कने मात्र होइन, यहाँको पर्यटन धेरै नै अगाडि बढ्ने पर्यटनविज्ञ समेत रहेका विश्वराज सुवेदी बताउँछन् । 

अब राइनो पार्कले चिनाउँछ

चार मध्यवर्ती सामुदायिक वनलाई समेटेर मेघौली राइनो पार्कका रूपमा विकास गरिने भएको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राइनो पार्कको शिलान्याससमेत गरेका छन् । उनले मेघौलीलाई राइनो पार्कले विश्वमा चिनाउने बताए । 

सोही क्षेत्रका सांसद भुर्तेले हिजोको टाइगर टप्स र हात्तीपोलोलाई राइनो पार्कले बिर्साउने बताउँछन् । 
मेघौलीमा दुर्लभ वन्यजन्तु बाघ र गैँडा अवलोकनका लागि पर्यटक आउने गर्छन् । हात्ती चढेर दुर्लभ वन्यजन्तु अवलोकनका लागि बढी पर्यटक आउने गर्छन् । 

भुर्तेलका अनुसार मेघौलीको सदाभार, मालिका, राधाकृष्ण र हरियाली राप्ती तथा बेतरी मध्यवर्ती सामुदायिक वनलाई समेटेर मेघौली राइनो पार्कका रूपमा विकास गर्न लागिएको छ ।

मेघौली विमानस्थल नजिकै राइनो पार्क क्षेत्रको प्रवेशद्वारमा ३० फिट अग्लो गैँडाको मूर्ति बनाइँदै छ । मूर्तिभित्र दुई तला हुनेछन् । तिनमा पर्यटन सूचना केन्द्र र संग्रहालय रहने उनले जानकारी दिए । २ करोड ५० लाख रुपैयाँ खर्च गरी मूर्ति र भित्री संरचना निर्माण गर्न लागिएको हो ।

भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ  सुवेदीका अनुसार राइनो पार्क झन्डै ५५० बिघा क्षेत्रमा फैलनेछ । पार्कमा थारू संग्रहालय, जैविक विविधता सूचना केन्द्र, वन्यजन्तु उद्वार केन्द्र, हात्तीसार, निकुञ्ज प्रवेश टिकट घर, बेतरी खोलामा ५ सय मिटरसम्मको डुंगा सयर, बाघ, गैँडा र चरा हेर्न दृश्यावलोकन स्तम्भ रहेका छन् । यससँगै १५ फिट अग्लो र चार फिट चौडाको क्यानोपिक वाक निर्माण गरिँदै छ । सुवेदीका अनुसार फलामको फ्रेममाथि काठ राखेर बार्दलीजस्तो बनाएर क्यानोपिक वाक निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस