शुल्क वृद्धिको विरोधमा कृषी विश्वविद्यालयका विद्यार्थी आन्दोलीत, प्रशासनीक काम ठप्प

सफल खबर संवाददाता

मंगलबार, १७ मंसिर २०७६, २० : १५
शुल्क वृद्धिको विरोधमा कृषी विश्वविद्यालयका विद्यार्थी आन्दोलीत, प्रशासनीक काम ठप्प

चितवन । प्रवेश शुल्क वृद्धिको विरोधमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका विद्यार्थीहरु आन्दोलीत भएका छन । कृषि संकायले प्रकाशित गरेको प्रवेश परीक्षा सम्बन्धी सुचनामा प्रवेश परीक्षाको शुल्क ५ हजार राखिएकोमा विभिन्न विद्यार्थी संघ संगठनहरु एक भएर विरोधमा उत्रिएका हुन ।  

शुल्क वृद्धिको विरोधमा अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र नेविसंघले आज विश्वविद्यालयको कृषि संकायको प्रशासनिक काम ठप्प पारेका छन् । विद्यार्थी संघ संगठनहरुले हिजो शुल्क वृद्धि फिर्ताको माग गर्दै २४ घण्टे अल्टिमेटमसहितको संयुक्त विज्ञप्ती बुझाएका थिए । यहि मंसिर १५ गत्ते कृषी संकायले सुचना जारी गरेको थियो । 

आफुहरुको माग पुरा नभएकाले प्रशासनिक काम ठप्प पार्न बाध्य भएको अनेरास्ववियुका इकाइ अध्यक्ष सन्तोष खतिवडा, अनेरास्ववियु क्रान्तिकारीका इकाई अध्यक्ष विवेक पौडेल र नेविसंघका इकाई सभापति संयम पण्डितद्धारा सम्युक्त हस्ताक्षरीत विज्ञप्तीमा जनाइएको छ । माग पुरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने अध्यक्ष खतिवडाले बताए । 

विद्यार्थीहरुले प्रवेश परिक्षा नै ५ हजार राखेर गरिव, जेहेन्दार विद्यार्थीहरुलाई पढ्न पाउने अधिकारबाट बञ्चित बनाउन खोजेको आरोप लगाएका छन । वि.वि. मा कार्यालय सहायकको आवेदन शुल्क ८००, अधिकृत स्तरको कर्मचारीको आवेदन शुल्क १००० तथा सहप्राध्यापकको आवेदन शुल्क १७५० मात्रै भए पनि पढ्न आउने विद्यार्थीहरुको आवेदन शुल्क ५००० तोकेर विद्यार्थी माथि ब्रम्हलुट गर्न खोजिएको विद्यार्थीहरुको भनाई छ । तत्काल शुल्क नघटाए अझै कठोर कदम चाल्न बाध्य हुने संघसंगठनहरुले चेतावनी दिएका छन् ।

उता कृषी संकायका डिन जय प्रकाश दत्तले विद्यार्थीहरुको शैक्षीक गुणस्तर वृद्धि र आन्तरीक आय श्रोत बढाउन शुल्क थोरै बढाएको बताए । गत वर्ष ४ हजार रहेकोमा यसवर्ष विद्यार्थीहरुले जो जहाँ गएर पनि पढ्न पाउने विकल्पसहित १ हजार बढाएको बताए । 

विद्यार्थीहरुसँग निरन्तर छलफल भईरहेकाले चाँडै समस्या समाधान हुने डिन दत्तको भनाइ छ । दत्तले भोली भर्ना समितिको बैठक बोलाएको र थप छलफल गरी अघि बढ्ने बताए ।गत वर्ष कृषी संकायमा ४ सय विद्यार्थी भर्ना भएका थिए । यस वर्ष ५९८ जना भर्ना हुनपाउने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस