उपनिर्वाचनको अन्तिम परिणाम प्राप्त भएपछि काँग्रसले निकाल्यो यस्तो विज्ञप्ति

सफल खबर संवाददाता

सोमबार, १६ मंसिर २०७६, १८ : ११
उपनिर्वाचनको अन्तिम परिणाम प्राप्त भएपछि काँग्रसले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौं । उपनिर्वाचनको अन्तिम परिणाम प्राप्त भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो धारण सार्वजनिक गरेको छ । सोमबार काँग्रेसले पत्रकार सम्मेलन आयोजना गरी आफ्नो धारणा सार्वजनिक गरेको हो । 

पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले उपनिर्वाचनमार्फत प्राप्त जनादेशले एकातर्फ काँग्रेसको सांगठनिक आत्मबलमा अभिबृद्धि गराएको र अर्कोतर्फ आगामी निर्वाचनको लक्ष्य हासिल गर्ने दृढतामा अघि बढ्न उपनिर्वाचनको मैदनाको झै ‘बाहिर गति र भित्र आत्मविश्वास बढाउन’ खुल्ला सन्देश पार्टीलाई प्राप्त भएको जनाए । प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा अनेक प्रतिकूलताका बीच मतदाताले मत प्रदान गरेर काँग्रेसलाई विगतमा भन्दा समग्रमा बढी मत दिएको निश्कर्ष निकालिएको छ । ०७४ को तुलनामा काँग्रेस र नेकपाका बीचको मतान्तर ०७६ मंसिर १४ मा आइपुग्दा घटेको निश्कर्ष निकालेको हो । 

उपनिर्वाचनले  सरकार सच्चिनुपर्ने प्रस्ट सन्देश दिएको दाबी गर्दै २०७४ सालको चुनावमा रहेको मतको अग्रता घट्नु २१ महिनामा सरकारप्रति मतदाताको असन्तुष्टि बढ्दै गएको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ । 

यस्तो छ विज्ञप्ति :

उपनिर्वाचन परिणाम पश्चात
नेपाली कांग्रेसको पत्रकार सम्मेलन

आदरणीय पत्रकार साथीहरू,

उपनिर्वाचनको अन्तिम परिणाम प्राप्त भए पश्चात नेपाली कांग्रेसद्वारा आयोजित यो पत्रकार सम्मेलनमा म यहाँहरुलाई हार्दिक स्वागत गर्दछु ।

उपनिर्वाचन मार्फत् एक ढंगको जनमत सर्भेक्षण सार्वजनिक भएको छ यसलाई विश्लेषण र आत्मसात गर्दै अघि बढ्नु हामी सबैको कर्तव्य हो । जे जस्तो वातावरण र परिस्थितिमा निर्वाचन भएपनि लोकतान्त्रिक अभ्यासबाट प्राप्त परिणामलाई शिरोधार्य गर्ने नेपाली कांग्रेसको संस्कार र परम्परा अनुरुप हामीले त्यही रुपमा मंसिर १४ को परिणामलाई ग्रहण गरेका छौं ।

१ प्रतिनिधिसभा सदस्य, ३ प्रदेश सभा सदस्य, १ उपमहानगरपालिका प्रमुख, ३ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र ४३ वडाध्यक्ष सहित जम्मा ५२ स्थानमा भएको उपनिर्वाचनको गणितीय र राजनीतिक दुवै विश्लेषण हामी सार्वजनिक गरिरहेका छौं ।

नेपाली कांग्रेसले कहाँ उपलब्धि हासिल ग¥यो, कहाँ गुमायो, विगतमा भन्दा मतान्तर नेकपासँगको मतान्तर प्रतिस्पर्धामा कति घट्यो, कहाँ बढ्यो, तथ्याङ्कका अलवा आजको पत्रकार सम्मेलन मार्फत् हामी उपनिर्वाचनले समग्रमा प्रतिपक्ष र सरकारलाई दिएको सन्देश राखिरहेका छौँ ।

उपनिर्वाचन र नेपाली कांग्रेस
१. परिणामको खोजीअघि प्रकृयामा सतर्कता विशेष रुपले राख्नु पर्ने सन्देश हामीले यो निर्वाचनबाट ग्रहण गरेका छौँ । विगतमा नेपाली कांग्रेसको सरकारले आफ्नो पार्टीको पराजयको पूर्वानुमानका बावजुद स्वस्थ, निष्पक्ष निर्वाचन गराएको निकट इतिहासको साक्षी सिंगो देश छ । तर वर्तमान सरकार त्यो कर्तव्य निर्वाहमा भन्दा आफ्नो पार्टीलाई जिताउने ध्याउन्नमा मनोवैज्ञानिक, राजनैतिक र प्राविधिक बन्दोबस्तमा केन्द्रित देखियो । यसका अनेक उदाहरण यसबीचमा सार्वजनिक भइसकेकै छ । सरकारको यो प्रवृत्ति सच्याउन पर्याप्त जन दबाब विकसित गर्नु पर्ने देखिएको छ ।

२. अनेक प्रतिकूलताका बीच मतदाताले मत प्रदान गरेर नेपाली कांग्रेसलाई विगतमा भन्दा समग्रमा बढी मत दिनुको अर्थ हो बितेको २१ महिनामा कांग्रेसले प्रस्तुत गरेको जिम्मेवार र शालिन प्रतिपक्षी भूमिकाको अनुमोदन ।

३. समग्रमा मत बढे पनि कतिपय भू–भागमा मत घट्नुको आन्तरिक सांगठनिक समीक्षा गहिरोसँग गरेर आगामी दिनको तयारी गर्नु पर्ने टड्कारो आवश्यकताको सन्देश पनि हामीले प्राप्त गरेका छौं । ०७४ को तुलनामा नेपाली कांग्रेस र नेकपाका बीचको मतान्तर ०७६ मंसिर १४ मा आइपुग्दा घटेको छ । यसले एकातर्फ नेपाली कांग्रेसको सांगठनिक आत्मबलमा अभिवृद्धि गराएको छ भने अर्कोतर्फ आगामी निर्वाचनको लक्ष्य हासिल गर्ने दृढतामा अघि बढ्न उपनिर्वाचनको मैदानको झै ‘बाहिर गति र भित्र अन्तर्विश्वास’ बढाउन खुला सन्देश सिंगो पार्टी पंक्तिलाई प्राप्त भएको छ ।

४. उपनिर्वाचनमा हामीले १ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र केही वडाध्यक्ष गुमाएका छौं । त्यसमा हाम्रो सांगठनिक कमजोरीको समीक्षा हामी गर्नेनै छौं । तर प्रदेश २ को रौतहट, सुदूरपश्चिम प्रदेशको बैतडी, प्रदेश ५ को अर्घाखाँची अनि प्रदेश ३ को चितवन, प्रदेश १ को धरान र उपत्यकाको भक्तपुरमा प्राप्त परिणामले नेपाली कांग्रेसलाई विशेष रुपले उत्साही तुल्याएको त छ नै मुलुक समक्ष मतदाताले दूरगामी अर्थ राख्ने भिन्न सन्देश ती ठाउँहरुबाट सम्प्रेषण गरेको हाम्रो मूल्याङ्कन छ । ती स्थानहरु सँगै समग्रमा प्राप्त विजय रहरेक मतप्रति नेपाली कांग्रेस प्रतिवद्ध रहनेछ ।

सरकारलाई सन्देश
उपनिर्वाचन सरकार बनाउन या बदल्न भइरहेको छैन तर तपाईको एक मतले सरकारलाई सच्याउन योगदान गर्न सक्छ भनेर हामीले मतदातालाई अपिल गरेका थियौं । मंसिर १४ को उपनिर्वाचनले सरकार सच्चीनु पर्ने सन्देश प्रष्ट सँग दिएको छ ।
१. २१ महिनामा सरकारप्रति मतदाताको असन्तुष्टी बढेको पुष्टी ०७४ को चुनावमा रहेको मतको अग्रता घट्नुले गरेको छ । त्यसबेला एमाले र माओवादी भिन्न दुई नाम र भिन्न दुई चुनाव चिन्ह मैदानमा थिए । तर त्यतिबेलाको जति मत एउटै पार्टी र एउटै चुनाव चिन्ह हुँदा प्राप्त नहुनु ‘मतदाताको मन बदलिंदै गएको प्रष्ट चित्र हो’ ।
२. एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र केहि वडाध्यक्षको अंक हासिल भएको तथ्य अघिल्तीर राखेर सरकारका पक्षमा जनमत जस्ताको तस्तै कायम छ भन्ने आत्मसन्तोष लिन सकिने सुविधा सरकार या नेकपासँग छँदैछ । तर त्यसभन्दा व्यापक प्रभाव राख्ने केहि सन्देशमूलक वडा, एक उपमहानगरपालिका नेतृत्व अनि एक प्रदेश क्षेत्रको परिणामले नेकपालाई ‘आजै सच्चिने की भोलि सक्कीने’ सन्देश दिएको छ । ‘सक्कीने’ शब्दलाई भोलिको परिणाम झनै प्रतिकूल आउने तर्फ गरिएको संकेत भनेर प्रष्ट्याई रहनु नपार्ला ।
३. बाग्लुङको प्रदेशसभा क्षेत्र जनमोर्चालाई छाड्नु परेको स्थिति र कठिनाईले प्राप्त विजय । कास्की र दाङमा वस्तुगत राजैतिक प्रभाव भन्दा सहानुभूतिमा मत संयोजन गर्नु परेको अवस्था । परिणाम हासिल नगरे पनि कांग्रेसले ती तीनै क्षेत्रमा मतान्तर घटाएको चित्र । सरकार सच्याउनकै लागि पढ्न जरुरी पाठ हुन नेकपाका लागि ।

अन्त्यमा, उपनिर्वाचनमा रुख चिन्हमा मतदान गर्नु हुनेहरु सँगै निर्वाचनमा सहभागी सबै आदरणीय मतदातामा नेपाली कांग्रेस धन्यवाद र आभार प्रकट गर्दछ । प्रतिस्पर्धाको लोकतान्त्रिक अभ्यासबाट विजयी सबैलाई बधाइ ज्ञापन गर्दै प्रतिस्पर्धी समेत सबैलाई नेपाली जनताको सेवामा समर्पित रहेर कार्य गर्न पनि नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ ।

निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, संचारकर्मी सबैलाई हामी आफ्नो भूमिकाका लागि बधाई ज्ञापन गर्दछौं ।

जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता

 

प्रतिक्रिया दिनुहोस