Safal Khabar - शौचालय जान चियाको बहाना
शनिबार, २८ मङि्सर २०७६ (Saturday, 14 December, 2019)
शौचालय जान चियाको बहाना
आइतबार, १५ मङि्सर २०७६, १४ : ५१
शौचालय जान चियाको बहाना

– काशीराम शर्मा
बाँके । न्यूरोडमा सामान किन्दै गर्नुभएका बर्दिया बाँसगढी नगरपालिका–५ का मनबहादुर भण्डारीलाई पिसाब लाग्यो, न शहरमा चिनेजानेको पसल छ, न त कोही आफन्त नै छ । उहाँ हतारमा एउटा चिया पसलमा छिर्नुभयो । साहुजीलाई चिया पकाउन अ¥हाउँदै शौचालयको सोधीखोजी गरेर शौच गर्न जानुभयो । 

सामान किन्नकै लागि नेपालगञ्ज आउनुभएका भण्डारीलाई चिया पिउनुभन्दा पनि पिसाब फेर्नुपर्ने थियो । पिसाब फेर्नकै लागि चिया पिउनैपर्ने भयो । “चिया त बहानामात्रै थियो, मुख्य कुरा त पिसाब फेर्नुपर्ने थियो,” उहाँले भन्नुभयो – “शहरमा चिनेजानेको कोही नभएपछि चिया पिउने बहानामा पिसाब फेर्न गएको हुँ ।” 

न्यूरोडकै एक फेन्सी पसलमा कपडा किन्दै गर्नुभएका बाँके बैजनाथ गाउँपालिका–२ का ओमप्रकाश रेग्मीलाई पनि पिसाबले च्याप्यो । फेन्सी पसलका साहुजीसँग सोध्नुभयो – “यहाँ शौचालय छ ?” साहुजीले सहजै जवाफ दिए – “यहाँ घरबेटीले शौचालय प्रयोग गर्न दिँदैनन् । तपाई अन्यत्रै जानुपर्छ ।” 

रेग्मीलाई पिसाबले निकै च्यापेको थियो । उहाँ कपडा किन्न छाडेर नजीकैको चिया पसलतिर लाग्नुभयो । साहुजी चिया बनाउनुस् है भन्दै शौचालय कहाँ छ भनेर सोध्नु भयो । चिया पसलेले शौचलय देखाइदिएपछि उहाँलाई निकै राहत महशुस भयो । पिसाब फेर्नकै लागि चिया पिउनुपर्ने उहाँको पनि रहर नभएर बाध्यता नै थियो । 

नेपालगञ्जमा यस्तो समस्या भण्डारी र रेग्मीको मात्रै नभएर आमनागरिकको साझा समस्या हो । नेपालगञ्ज जस्तो ठूलो शहरमा पर्याप्त सार्वजनिक शौचालय नहुँदाका पीडा भण्डारी र रेग्मीले जस्तै सबैले कुनै न कुनै रुपमा भोगिरहेकै हुन्छ । 
नेपालगञ्ज उपमहानगरपालिकाले लाखौं खर्चेर ल्याएका चार वटा घुम्ती शौचालय सञ्चालनमा आउन सकेन । आएको भए पैदल यात्रुलाई केही राहत हुने थियो । पश्चिम नेपालको ठूलो र औद्योगिक शहर नेपालगञ्जले सार्वजनिक शौचालयको अभाव वर्षौदेखि यसैगरी झेलिरहेको छ । सर्वसाधारणको सुविधाका लागि ल्याइएका घुम्ती शौचालय सञ्चालनमा ल्याउन नसक्नु उपमहानगरपालिकाकै कमजोरी भएको बताउनुहुन्छ नेपालगञ्ज–१९ का स्थानीयवासी दीपक रेग्मी । “शहरमा रहेको शौचालयको अभावलाई उपमहानगरले सुल्झाउनुपर्छ,” उहाँले भन्नुभयो ।  

नेपालगञ्जमा दैनिक ३०/३५ हजार नागरिकको ओहोरदोहोर हुने अनुमान छ । तीमध्ये एक चौथाइ अर्थात् ८/१० हजार नागरिकले पैदल यात्रा गरिरहेका हुन्छन् । सीमित स्थानमा भएका शौचालय यात्रुहरुका लागि पर्याप्त छैनन् । नेपालगञ्ज उपमहानगरभित्र रहेका १२ वटा सार्वजनिक शौचालयमध्ये सात वटा मात्र सञ्चालनमा रहेका छन् । 

भएका सार्वजनिक शौचालय पनि पायक पर्ने स्थानमा छैनन् । न्यूरोडमा शौच लागेमा एक किलोमिटर टाढा धम्बोझी चौक या दुई किलोमिटर टाढा सदरलाइन पुग्नुपर्छ । पश्चिम नेपालको व्यापारिक केन्द्रका रुपमा रहेको नेपालगञ्जमा पैदल यात्रुको चाप बढ्दो छ भने त्यस अनुपातमा सार्वजनिक शौचालय नहुँदा समस्या विकराल बन्दै गएको छ । त्यसमा पनि अपाङ्गता भएका र महिलालाई झन् समस्या हुन्छ । सुर्खेत रोडमा भेटिएकी पैदल यात्रु कविता शाहीले भन्नुभयो – “महिलालाई जहाँ पायो तहीँ जान मिल्दैन । कहिलेकाहीँ चिया पिउने बहानामा पिसाब फेर्नकै लागि होटलमै जानुपर्छ ।”

“अहिले सात वटा शौचालय सञ्चालनमा छन्, अन्य स्थानमा रहेका पाँच वटा र घुम्ती शौचालयलाई पनि व्यवस्थित गरेर सञ्चालनमा ल्याउँदैछौं,” नेपालगञ्ज उपमहानगरपालिकाका सरसफाइ निरीक्षक अशोक केसीले भन्नुभयो – “सार्वजनिक र घुम्ती शौचालय व्यवस्थितरुपमा सञ्चालन गर्ने तयारी गरिरहेका छौं ।” 

शौचालय नहुनुको समस्या त छ नै, भएका शौचालय पनि फोहर र न्यूनतम सुविधाविहीन भएकाले सर्वसाधारणले समस्या भोग्नुपरिरहेको छ । शौचालयलाई व्यवस्थित रुपमा सञ्चालन गर्न उपमहानगरपालिकाले ध्यान नदिएको यात्रुहरुको गुनासो छ । 

नेपालगञ्जका धम्बोझी चौक, भेरी अस्पताल, सदरलाइनस्थित घाँस मण्डी, त्रिभुवन चौक पूर्वमा रहेको सब्जी मण्डी, बाके गाउँ जाने बाटोमा रहेको मासु मण्डी, बसपार्क र बागेश्वरी मन्दिर नजीकै सार्वजनिक शौचालय जेनतेन प्रयोगमा आइरहेका छन् भन् अन्य सात स्थानमा रहेका सार्वजनिक शौचालय प्रयोग भएका छैनन् । 

नेपालगञ्ज उपमहानगरपालिकाले रु ५९ लाखमा गत मङ्सिरमा खरिद गरेर ल्याएको चार वटा घुम्ती शौचालय पाँच महिना नबित्दै प्रयोगविहीन भए । नेपालगञ्जका अति व्यस्त चोक र चौराहमा राख्न ल्याइएका घुम्ती शौचालय रेखदेखका लागि कर्मचारी नभएपछि प्रयोगविहीन भएका हुन् ।
सर्वसाधारणले शौच गरेबापत शुल्क तिर्न नमान्ने र ठेक्का लिएका ठेकेदारले खर्चसमेत नउठ्ने भन्दै ठेक्का रद्द गरेपछि सञ्चालनमा समस्या भएको उपमहानगरपालिकाका सरसफाइ निरीक्षक अशोक केसीले बताउनुभयो । “कार्यविधि बनाएर घुम्ती शौचालय सञ्चालनमा ल्याइए पनि पैसा तिरेर शौच गर्न नमानेपछि प्रयोगमा ल्याउन समस्या भयो,” उहाँले भन्नुभयो । 

घुम्ती शौचालय पुष्पलाल चोक र त्रिभुवन चोक, धम्बोझी, गुलरिया बसपार्कमा राखेर खुला दिसामुक्त अभियानमा टेवा पु¥याउने उपमहानगरको उद्देश्य थियो ।  भारतबाट ल्याइएका ती घुम्ती शौचालय चार महिनादेखि प्रयोगविहीन भएपछि हाल जिल्ला समन्वय समिति परिसरमा थन्क्याइएको छ । चार वटा शौचालयमध्ये एउटा मात्रै सञ्चालनमा रहेको सरसफाइ निरीक्षक केसीले बताउनुभयो ।

घुम्ती शौचालय तीन महिनाका लागि रु.७० हजारमा ठेक्का दिइएको थियो । “शौच गर्नेहरुले न्यूनतम शुल्कसमेत तिर्न नमानेपछि ठेकेदार कम्पनीले नवीकरण गर्न मानेनन्, प्रयोगमा नआएपछि जिल्ला समन्वय समिति परिसरमा राखिएको छ,” सरसफाइ निरीक्षक केसीले भन्नुभयो । 

तीन महिनाका लागि घुम्ती शौचालय रु ७० हजारमा भाडामा लिएका स्वच्छ नेपाल, हाम्रो अभियानका अध्यक्ष भानु भट्टले भाडामा लिएर सञ्चालन गर्न नसकिएको बताउनुभयो । उहाँका अनुसार धेरैको शौचालयमा भन्दा खुला ठाउँ र झाडीमा शौच गर्ने प्रवृत्ति छ । शौच गर्न आए पनि शुल्क तिर्न चाहँदैन ।

एक ठाउँबाट अर्को ठाउँ सहजै लैजान सकिने यो आधुनिक शौचालयमा एकसाथ आठ जनाले प्रयोग गर्न सक्ने सुविधा छ । सञ्चालन खर्चका लागि पिसाब बापत रु पाँच र दिसा बापत रु १० शुल्क तोकिएको छ तर, शुल्क तिरेर शौच गर्नेको सङ्ख्या न्यून छ । चोक र चौराहमा राखेर फाइदा नभएपछि ती शौचालयलाई मेला, महोत्सव, आमसभा र धार्मिक कार्यक्रममा प्रयोग गर्न आयोजकले भाडामा लिने गरेका छन् ।  (रासस)

Yeti Diistillery
nic asia

प्रतिक्रिया दिनुहोस