सिजी ल्याण्डमार्कमा लिनिङ ब्राण्डको शोरुम खुल्यो

सफल खबर संवाददाता

आइतबार, १५ मंसिर २०७६, १३ : ३१
सिजी ल्याण्डमार्कमा लिनिङ ब्राण्डको शोरुम खुल्यो

चितवन । देशकै उत्कृष्ट सपिङ मल सिजी ल्याण्डमार्क भरतपुरमा लिनिङ ब्राण्डको शोरुम खुलेको छ । खेल र खेलाडीको लागि चाहिने सम्पूर्ण सामग्री पाइने उक्त शोरुमको आज उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले उद्घाटन गर्नुभएको हो । 

शोरुममा बास्केटबल, क्रिकेट, व्याडमिन्टन, ज्याम्यास्टिक, रनिङलगायतका खेलहरुको सम्पूर्ण सामग्री पाइने सञ्चालक राजन महर्जनले बताउनुभयो । उहाँले चितवन र यस आसपासका खेलाडीहरु आफूले चाहिने सामग्री किन्न अब काठमाडौँ धाउनु नपर्ने, सिजी ल्याण्डमार्कको लिनिङ ब्राण्डको शोरुममा पाइने बताउनुभयो । 

सहरी विकास भइरहेको भरतपुरको सिजी ल्याण्डमार्कको भुइँतलामा रहेको लिनिङ ब्राण्डको शोरुममा चार हजारभन्दा माथिका खेलाडीका पोशाकहरु रहेका छन् । सञ्चालक महर्जनले ३० लाखको लगानीमा शोरुम खुलेको बताउनुभयो ।पत्रकारसँग कुरा गर्दै उहाँले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनिरहेको चितवनमा खेल र खेलाडीका लागि चाहिने सामग्री पाइने शोरुम खोल्ने अवसर मिलेको बताउनुभयो । 

सञ्चालक महर्जनका अनुसार उपत्यका बाहिर लिनिङको पहिलो शोरुम चितवनको सिजी ल्याण्डमार्कमा खोलिएको हो । चितवनको शोरुम लिनिङको चौंथो हो । काठमाडौँमा जावलाखेल, चावहिल र न्यूरोडमा यसको शोरुम खुलेको छ । निश्चित समयको लागि शोरुममा २० देखि ५० प्रतिशत छुटको व्यवस्था पनि छ । लिनिङ चाइना ट्रेड लिंकको ब्राण्ड हो ।

१९८२ मा ज्याम्यास्टिकमा विश्व च्याम्पियन बनेका खेलाडीको नामबाट १९९० मा लिनिङ ब्राण्डको स्थापना गरिएको हो । 

प्रतिक्रिया दिनुहोस