निगमका जहाज तथा सवारी साधनमा भ्रमण वर्षको प्रतीक चिह्न

रासस

शुक्रबार, १३ मंसिर २०७६, २० : १२
निगमका जहाज तथा सवारी साधनमा भ्रमण वर्षको प्रतीक चिह्न

फाईल फोटो

काठमाडौं ।  राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले नेपाल भ्रमण वर्ष २०२० को प्रभावकारी प्रवद्र्धनका लागि आफ्ना जहाज तथा अन्य यातायातका साधनमा भ्रमण वर्षका लागि प्रतीक चिह्न राख्न शुरु गरेको छ ।

निगमको गत मङ्सिर ५ गते भएको बैठकले सबै जहाज तथा सवारी साधनमा प्रतीक चिह्न राख्ने निर्णय गरेको थियो । त्यसको तीन दिनपछि निगमले विज्ञप्ति जारी गर्दै निगमको निर्णयअनुरुप सम्बन्धित विभागलाई भ्रमण वर्षको प्रतीक चिह्न राख्ने काम तत्काल लागू गर्न निर्देशन दिएको थियो ।

सोही निर्णयअनुरुप निगमले सबै सवारी साधनमा भ्रमण वर्षको प्रतीक चिह्न टाँसिसकेको छ । आन्तरिक उडानका सबै आठ जहाजमा प्रतीक चिह्न राख्ने काम भइरहेको निगमका सह–प्रवक्ता सुलेश मिश्रले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्तर्राष्ट्रिय उडानका जहाजमा पनि भ्रमण वर्षको प्रतीक चिह्न राख्ने प्रक्रिया शुरु भइसकेको छ । त्यस प्रयोजनका निम्ति नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति लिएर निगमले पाँच दिनअघि ग्लोबल टेन्डर आह्वान गरेको थियो ।

सात दिनभित्र आशयपत्र लिएर प्रतीक चिह्न राख्ने काम शुरु गरिनेछ । यो सबै काम अबको १५ दिनभित्र सकिने सह–प्रवक्ता मिश्रले बताउनुभयो । आजसम्म छवटा टेन्डर परेका छन् । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइडबडी ए–३३० दुई र न्यारोबडी ए–३२० दुई थान जहाज छन् । भारतका तीनसहित सात देशका नौ गन्तव्यमा निगमले अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

सरकारद्वारा घोषित भ्रमण वर्षलाई अत्यधिक सफल पार्न रणनीतिक कार्य योजनालाई थप परिस्कृत एवम् परिणाममुखी बनाउने निर्णय गरेको निगमले भ्रमण वर्ष २०२० को लक्ष्य र निगमको व्यावसायिक प्रवद्र्धनलाई केन्द्रित गरी डिजिटल मिडिया सेलबाट फेसबुक, ट्विटर, इन्स्ट्राग्राम र युट्युबमा पर्यटन प्रवद्र्धनसम्बन्धी सामग्री प्रसारण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस