‘मेरो स्वास्थ्य अवस्था बारे वास्तविकता बताईदिनुस’ :  प्रम ओली

उपचारमा संलग्न ओलीका चिकित्सकले आज सामुहिक पत्रकार गर्दैै

सफल खबर संवाददाता

शुक्रबार, १३ मंसिर २०७६, ०८ : ०८
‘मेरो स्वास्थ्य अवस्था बारे वास्तविकता बताईदिनुस’ :  प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संग्लन्न चिकित्सकहरुले आज सामुहिक पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रधानमन्त्री स्यवंले चिकित्सक टोलीका संयोजक डा. अरुण सायमीसँगको मेरा बारेमा बाहिर मिडियामा के आएका छन् ? उनीहरुलाई वास्तविकता सवै बताईदिनुस् भनेपछि चिकित्सकहरुले आज सामुहिक पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

त्रिवि शिक्षण अस्पताल परिसरभित्रको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओली मंगलवार देखि उपचार गराईरहेका छन् । अस्पताल परिसरमै सामुहिक पत्रकार सम्मेलन गरेर उपचार पद्दती र अहिलेसम्म गरेका उपचारका विषयमा जानकारी दिन लागिएको टोली संयोजक डा.सायमीले बताए ।  

‘प्रधानमन्त्रीले बाहिर सञ्चार माध्यममा उहाँका विषयमा आएको समाचारका विषयमा चासो राख्नुभएको थियो, उहाँले सबै कुरा बोलिदिनुहोस्, जे भईरहेको छ, जवाफ दिनुस् भन्नुभएको छ, हामी उपचारमा संलग्न सबै चिकित्सकले आज सामुहिक पत्रकार सम्मेलन गरेर जानकारी दिदैछौं,’ डा.सायमीले भने । पत्रकार सम्मेलन दिउँसो १ बजे पछि अस्पताल परिसरमै हुनेछ । मृगौला पिडित प्रधानमन्त्री ओलीलाई अकस्मात एपेन्डिसाइटिससँगै पेरिटोनाइटिस (पेटको संक्रमण) समेत देखिएपछि मंगलबार आकस्मिक शल्यक्रिया गरिएको थियो ।

संक्रमण नियन्त्रणमा राख्न उनलाई ‘बोर्ड स्प्रेक्टम एन्टिबायोटिक (विभिन्न संक्रमणमा प्रभावकारी हुने औषधि) प्रयोग गरिएको छ ।  हिजो बिहिबार मात्रै प्लेटलेट्स  चढाइएको छ । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार एपेन्डिसाइटिस शल्यक्रिया र मृगौलाको डायलाइसिसका कारण ओलीलाई प्लेटलेट्स चढाउनु परेको हो ।

प्लेटलेट्स रगतमा रहने एक प्रकारको कोषिका हो, जसले घाउ वा चोटपटक लाग्दा रगतलाई बग्नबाट रोक्छ । साथै क्षतिग्रस्त तन्तुलाई ठीक पार्न सघाउँछ । ओली बिहिबार केही समय ह्वीलचेयरमा समेत बसेका थिए । उनलाई उनका सचिवालयका मुख्य सल्लाहकार विष्णु रिमाल, स्वकिय सचिव राजेश ब्रजाचार्य र पत्नी राधिका शाक्य बाहेक अन्य मान्छेसँग भेट गर्न चिकित्सकहरुले रोकेका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले भने हिजो साँझ अस्पताल पुगी ओलीसँग १५ मिनेट भेट गरेकी थिइन् । उनले प्रधानमन्त्रीको टाउको छाम्दै १५ मिनेट कुराकानी गरेकी अस्पताल स्रोत बताउँछ । त्यसपछि उनले बाहिर चिकित्सकहरुसँग छुट्टै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे उपचारमा संग्लन्न चिकित्सकहरुसँग झण्डै २५ मिनेट बिफ्रिङ लिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस