आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन सीएमसीको आग्रह

सफल खबर संवाददाता

विहीबार, १२ मंसिर २०७६, १२ : २९
आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन सीएमसीको आग्रह

चितवन । चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस र बीडीएस कार्यक्रमको शुल्क सम्बन्धी लामो विवाद, मिति २०७६/८/१० गते माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा मेडिकल कलेजका सञ्चालकहरुसहित बसेको बैठकले दुईबुँदे सहमतिमार्फत टुंगिएको भन्दै चितवन मेडिकल कलेज (सीएमसी) ले विद्यार्थीहरुलाई आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ ।
सीएमसीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीहरुलाई आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘ पछिल्लो सहमती अनुसार चितवन मेडिकल कलेजले गत बर्ष र अघिल्लो शैक्षिक सत्रमा बढि लिएको शुल्क समायोजन गर्ने प्रकृया अघि बढाइसकेको छ ।’  
दुईबुँदे सहमतिमा विश्वविद्यालयबाट काउन्सेलिङगरी बैंकिंङ्ग प्रणालीद्वारा विद्यार्थी भर्ना प्रक्रिया थालनी गरिएको शैक्षिक सत्र ०७४/७५ र ०७५/७६ मा नेपाल सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी रकम लिएका मेडिकल कलेजहरुले भोलि मिति २०७६ मंसिर ११ गतेदेखि नै बढी लिएको रकम फिर्ता वा समायोजनको कार्य थालनी गर्ने तथा शैक्षिक सत्र ०७२/७३ र ०७३/७४ को हकमा विश्वविद्यालयहरुको समन्वयमा अध्ययन, छलफल र छानबिन गरी चिकित्सा शिक्षा आयोगबाट उपयुक्त निर्णय लिन चिकित्सा शिक्षा आयोग समक्ष अनुरोध गर्ने उल्लेख छ ।
सीएमसीद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सरकारसँग भएको सहमती पछि आन्दोलरत विद्यार्थीहरुको माग पनि पुरा भएको बुझाई मेडिकल कलेज सञ्चालकहरुको छ । लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजन उनीहरुको मुख्य माग सहमतीले पुरा गरेको छ । त्यसैले आन्दोलरत विद्यार्थीहरुलाई तत्कालै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर पठनपाठनको सहज वातावरण बनाउन र भएको सहमती कार्यान्वयन गर्न आवश्यक सहयोग गर्न अन्य सरोकारवाला सम्वद्ध पक्ष र अभिभावक ज्यूहरुलाई चितवन मेडिकल कलेज हार्दिक अपिल गर्दछ । समस्याको दीर्घकालिन समाधान निकाल्ने प्रयासलाई सकारात्मक रुपमा लिन र कसैको पनि उक्साहटमा लागेर भविश्य वर्वाद बनाउन तिर नलाग्न सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्न चाहन्छौं ।’
‘विद्यार्थी आन्दोलनका कारण विश्वविद्यालयले करिब एक महिना पछि सारेको वार्षिक परीक्षा नजिकिसकेको अवस्थामा विद्यार्थीहरुले परीक्षाको तयारी गर्नुहुन तथा वार्षिक परीक्षा सारिएको कारणले प्राज्ञिक क्यालेण्डरमा असर पर्न सक्ने भएकाले त्यसतर्फ समेत सचेत रहनुहुन सम्पूर्ण सरोकारवाला विद्यार्थीहरु तथा अभिभावकहरुमा आग्रह गर्न चाहन्छौँ’ विज्ञप्तिमा भनिएको छ, ‘बिचमा कुनै विवाद आएमा सरकार तथा अन्य अनुगमनकारी निकायको निर्देशनहरुलाई मान्दै अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गर्दछौँ । नेपाल सरकार र सरोकार वालाहरुसंग मिति २०७६/०८/१० गते भएको सम्झौता लाई पूर्णरुपमा पालना गर्नको लागि यस चितवन मेडिकल कलेज प्रतिवद्ध छ ।’

प्रतिक्रिया दिनुहोस