१४ वर्षदेखि विस्तारामै थलिएका रमेशद्वारा सहयोगको अपेक्षा

हिरालाल आचार्य ‘डायमण्ड’

सोमबार, ०९ मंसिर २०७६, १४ : ३६
१४ वर्षदेखि विस्तारामै थलिएका रमेशद्वारा सहयोगको अपेक्षा

- हिरालाल आचार्य ‘डायमण्ड’
चितवन । भरतपुर महानगरपालिका २० चनौली निवासी ३४ वर्षीय रमेश कुमार महतो १४ वर्षदेखि विस्तारामै थलिएका छन् । ट्रान्सफर्मरको फ्युज फेर्ने क्रममा लडेका उनको ढाड भाँचिएको छ । अनि वृद्ध आमाको साहरामा विस्तारामै जीवन विताइरहेका छन् ।

रमेशको एकमात्र साहरा उनकी ६२ वर्षीय आमा छिन् । ढाडभन्दा तलको उनको स्पर्शेन्द्रीयले काम गर्दैन । उनी हिँडडुल गर्न पनि सक्दैनन् । उनले दिशा, पिसाब आएको पनि थाहा पाउँदैनन् र विस्तारामै गर्छन् । त्यसको सरसफाइ गर्ने काम आमाले गर्छिन् । ‘म आमाको साहरा बन्नु पर्ने बेलामा आमा नै मेरो साहरा बन्नु भएको छ । यो देख्दा मलाई साह्रै पिडा हुन्छ’ रमेशले भने । उनका अनुसार आमा बाहेक उनको अर्काे साहरा छैन् । ‘आमाको अस्तित्व समाप्तपछि सायद मेरो अस्तित्व पनि समाप्त हुन्छ भन्ने लाग्छ’ उनी भन्छन्, ‘एक पटक आमाको गोडा भाँचियो । प्लाष्टर गरिएको थियो । त्यस्तो दयनीय अवस्थामा पनि मेरो साहरा गर्ने कोही निस्केन । आमाले नै बैशाखीको साहयताले हिँडेर मेरो स्याहार गर्नुभयो ।’ 

रमेशका अनुसार उनको एक दाई, दुई दिदी र एक बहिनी छन् । रमेश दाईको जग्गामा रहेको घरमा बसिरहेका छन् । दाई बस्ने घर र रमेश बस्ने घर वल्लोपल्लो हो । दाई ट्रयाक्टर चालक हुन् । ‘दाईले बस्नलाई जग्गा दिए पनि आमा र मसँग बोल्दैन । सुरुसुरुमा दाईको परिवारले सहयोग गरेपनि पछिल्लो समय उनीहरुको हामीप्रति त्यति जिम्मेवारी बोध छैन्’ रमेशले भने ‘दिदीबहिनीहरु आआफ्नै घरमा छन् । उनीहरुको पनि आर्थिक अवस्था कमजोर छ । काम नगरी खान पुग्दैन । त्यसैले कहिले काहींमात्र भेट्न आउँछन् । उनीहरु सम्पन्न भएको भए मलाई पाल्थे ।’ दिदीबहिनीहरु आएर बेलाबेलामा रमेशलाई नुहाइ दिने गर्छन् । रमेशलाई हुइल चेयरमा चढाइदिने तागत पनि छैन उनकी आमासँग ।

रमेशका अनुसार दुई दाजुभाईमा अंश बाँड्दा दुईदुई कठ्ठा आउने जग्गा थियो । तर उनकोे उपचार गर्दा सुरुमा दुई कठ्ठा जमिन सकियो । त्यसपछि उनको उपचार गर्न आर्थिक संकट परिरहेको छ । ७ वर्ष अघि उनकोे बुवाको निधन भएको थियो । अहिले जसो तसो आमाले मेलापात गरेर छाक टार्ने गरेको रमेशले बताए । 

विस्तारामै सुतिरहँदा रमेशलाई अर्काे समस्याले झन् साताउँदै आएको छ । बेलाबेलामा कम्मर मुनिको भागमा ठूलोठूलो घाउ हुने गरेको छ । त्यो घाउ आएको रमेशले थाहा पाउँदैनन् र दुख्दैन पनि । घाउको उपचार गर्न पैसा नहुने गरेको रमेशले बताए । 

यसरी हुन पुगेको थियो घटना
आफ्नो आर्थिक अवस्था कमजोर भएकै कारण ८ कक्षा पढेपछि आफू विद्यालय जान छाडेको रमेशले बताए । पढाइ छाडेपछि उनले इलेक्ट्रिकल काम सिक्न थाले । उनले पङ्खा र मोटरको क्वाइल वाइन्डिङ्ग गर्ने काम गर्थे । 

विद्युतीय वायरिङ्गको कामको अनुभव उनीसँग थिएन् । उनी १९ वर्षको हुँदा काम गरेको दुई वर्ष पुग्न लागेको थियो । त्यसैताका गाऊँ एक सातादेखि बिद्युतविहिन भएको थियो । ट्रान्सफर्मरको फ्युज गएर बिजुली नआएको रमेशले थाहा पाएपछि उनी फ्युज आफैले हाल्ने आँट गरेर पोलमा चढे । ट्रान्सफर्मरबारे ज्ञान नभएका रमेश आवश्यक सुरक्षाको विधि नअपनाइ पोलमा चढेका कारण करेन्ट लागेर भुईंमा खसे । ‘करेन्ट लागेर म भुईंमा खसेछु । त्यतिबेला के भयो, कसरी खसें मलाई केही याद छैन् । म विहोस भएको रहेछु । होस खुल्दा आफूलाई अस्पतालको बेडमा पाएँ’ उनले भने ।

त्यो दिनको बारेमा बताउनुस भन्दा ‘म त्यो क्षण सम्झनै चाहन्न, मलाई मनमा साह्रै गाह्रो हुन्छ’ उनी भन्छन्, ‘म मुर्ख रहेछु, अलिअलि काम नजानेको मान्छेले ट्रान्सफर्मरको फ्युज फर्ने आँट गरें । मलाई अहिले आत्मगलानी भइरहेको छ ।’ 

उपचार गर्न पटनासम्म
रमेशका अनुसार आफूलाई दुर्घटनापछि पुरानो मेडिकल कलेज लगिएको रहेछ । अस्पतालमा एकहप्तापछि उनकोको होस खुल्यो । होस खुलेपछि अस्पतालले काठमाडौंको विर अस्पतालमा रिफर ग¥यो । विरमा १५ दिनसम्म राखेपनि रमेशको उपचार सफल भएन । त्यसपछि रमेशलाई घर ल्याइयो । घरमा पैसाको जोगाड गरेर उनलाई भारतको पटना लगियो । पटनामा डाक्टरहरुले ‘तत्कालै भए उपचार गथ्र्यौं, अब ढिलो भएकाले गर्न सक्दैनौं’ भनेर भनेको रमेशले बताए । पटना पुग्दा घटना भएको १ महिना भएको थियो । 

त्यतिबेला सम्म रमेशको कम्मर मुनिको भागमा सुत्दा सुत्दा ‘बेड सोर’ (घाउ) भइसकेको थियो । उक्त घाउ उपचार गर्नको लागि मात्र पटनामा ४ महिना बस्नुपरेको रमेशले बताए । 
बेलाबेलामा उनलाई घाउले सताउने गर्दछ । २०७१ सालमा उनको घाउ फेरि बल्झ्यो । त्यसको उपचार गर्न किर्तिपुर अस्पतालमा ७ महिना बस्नु परेको उनले बताए । त्यतिबेला रमेशको परिवारसँग उपचार गर्ने आर्थिक औकात थिएन । नचिनेका मानिसहरुको सहयोग र अस्पतालको छुटमा उपचार भएको रमेशले बताए । 

सहयोगको अपेक्षा 
रमेशले सबैसँग सहयोगको अपेक्षा गरेका छन् । उपचार गर्ने पैसाका साथै खानलाउनको लागि चाहिने पैसा समेत नभएको रमेशले बताए । ‘घर पनि जिर्ण छ । पानी पर्दा चुहिन्छ । हावा चल्दा जोखिम छ । माटो र खडैको गाह्रो कुन बेला ढलेर आफैलाई पुर्ला भन्ने डर छ’ रमेशले भने ‘आमा पनि अशक्त हुनुहुन्छ । मेरो उपचारमा अरुको सहयोग माग्दै हिँडनु हुन्छ । ऋण पनि लिनुभएको छ । त्यसैले मलाई सहयोग गर्न मिडियाले पनि आग्रह गरिदिनुस् ।’

उनले आफूलाई सहयोग गर्न चाहनेलाई एनआईसी एशिया बैंकमा आफ्नी आमा सोमिया थरुनीको नाममा रहेको खाता नम्बर २६६५७५०५१४५३३००२ मा रकम जम्मा गरिदिन आग्रह गरेका छन् । त्यस्तै उनले आफ्नो मोबाइल नम्बर ९८६५२०९०२८ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस