उपचुनाव लगत्तै प्रधानमन्त्री ओली उपचारका लागि विदेश जाने

उपचारका लागि कहाँ लग्ने आन्तरिक तयारी गर्दै सचिवालय

सफल खबर संवाददाता

सोमबार, ०९ मंसिर २०७६, ०८ : ५४
उपचुनाव लगत्तै प्रधानमन्त्री ओली उपचारका लागि विदेश जाने

File photo

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका सचिवालयका कुनै सदस्य भेटिएमा अहिले सबैले गर्ने प्रश्न मध्येको एउटा साझा प्रश्न हो,– प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कस्तो छ , उनी उपचारका लागि कहिले कुन देशमा जादैछन् ? जनजनलाई थाहा लागिसक्यो,–प्रधानमन्त्री ओली मृगौला पून प्रत्यारोपणका लागि विदेश जादंैछन् । त्यसको भित्री तयारी पनि बालुवाटारले गरिरहेको छ । तर प्रधानमन्त्रीको निजी सचिवालयले यसलाई अहिले कुनै तयारी छैन भन्ने ओठे जवाफ मात्र दिईरहेको छ ।

केही समय अगाडी मात्रै, प्रधानमन्त्री ओलीका निजि चिकित्सक डा. दिब्या सिंह अमेरिका पुगेर फर्केकी छिन् । उनले त्यहां मृगौला सम्बन्धी विश्वका चिकित्सकहरुसँग परामर्श पनि गरेकी थिइन् । प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भटटराई अमेरिकामै छन् । बालुवाटार श्रोतका अनुसार यसबारे केही पनि सार्वजनिक नगरेपनि आन्तरिक तयारी हेर्दा के देखिन्छ भने प्रधानमन्त्री ओलीको पूनः मृगौला प्रत्यारोपण अमेरिकामा गर्ने तयारी छ ।

सिंगापुरमा गत भदौंमा प्लाज्मा फेरेसिस गरेका प्रधानमन्त्रीलाई एकपटक सिंगापुरको सोही अस्पतालमा लैजाने र त्यसपछि अमेरिका लगेर प्रत्यारोपण गराउने तयारी बालुवाटारको छ । तर ओली स्यवंले भने डायलाइसिस यतै गर्ने, पार्टीका केही महत्वपूर्ण काम टुंगो लगाउने अनि मात्र उपचारका लागि निस्कने बताएपछि उपचार भ्रमणमा केही ढिलाई भएको छ । अब उनी उपचुनाव लगत्तै विदेश जानेछन् ।

त्यस अगाडी वा त्यही आसपास भएपनि ओलीले पार्टी स्थायी समिति बैठक आव्हान गर्ने र त्यो बैठकको अध्यक्षता आफैंले गरेर मात्र अन्य बैठकका अध्यक्षता प्रचण्डलाई गर्न दिने गरी तयारी गरेका छन् । त्यसको प्रस्ताव उनले प्रचण्डसंग गरिसकेको पनि सार्वजनिक भईरहेका छन् । ओलीले सरकार र प्रचण्डले कार्यकारी भूमिका सहितको पार्टी नेतृत्व गर्ने गरी केही दिन अगाडी मात्रै दुई अध्यक्षको कार्य विभाजन भएको थियो । 

तर ओलीले पार्टी स्थायी समिति र केन्द्रीय समिति सम्भव भएसम्म एकपटक अध्यक्षता गर्न खोजेका छन् । ओलीको यो चाहनामा प्रचण्डले कुनै जावाफ दिईसकेका त छैनन । तर एक अन्र्तवार्तामा आवश्यकताका आधारमा ओलीजीले पनि कुनै बैठकको अध्यक्षता गर्नुहुनेछ भन्ने जवाफ दिएका छन् । ओली उपचुनाव सकिए लगत्तै पार्टी बैठक बोलाएर सहभागिता जनाउने अनि मात्र विदेश उपचारका लागि जाने योजनामा छन् । 

पूनः मृगौला प्रत्यारोपण गर्दा प्रधानमन्त्री ओलीले कम्तीमा ३ देखि ६ महिना आरम गरेर बस्नुपर्ने हुन्छ । त्यो अवधी सम्मलाई उनले कार्यकारी प्रधानमन्त्री सम्मको जिम्मेवारी तोक्नुपर्ने हुन्छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले त्यो जिम्मेवारी वहन गर्नेछन् । आइतबार साँझ प्रधानमन्त्री ओली ग्रान्डी अस्पतालवाट चौथो पटक डायलाइसिस गरेर बालुवाटार फर्किदा उनलाई चिकित्सकहरुले दौडधुप कम गर्न र नियमति डायलाइसिस या पूनः प्रत्यारोपण गराउन सुझाव दिएका छन् । यस हिसावले पनि ओली उपचुनाव लगत्तै उपचारका लागि विदेश जाने तयारीमा रहेको बालुवाटार स्रोत बताउँछ ।