चितवनमा उपनिर्वाचन : प्रतिस्पर्धा नेकपा र काँग्रेसकै बीचमा

सोमबार, ०२ मंसिर २०७६, १३ : ०३
चितवनमा उपनिर्वाचन : प्रतिस्पर्धा नेकपा र काँग्रेसकै बीचमा

– नारायण अधिकारी
चितवन । यही मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि जिल्लाका तीनवटा वडामा निर्वाचन हुँदैछ । भरतपुर महानगरपालिका–१६ मा पाँच, खैरहनी नगरपालिका–४ र ५ मा चार/चारजना उम्मेदवार रहेका छन् । पाँच राजनैतिक दल चुनावी प्रतिस्पर्धामा छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, राप्रपा संयुक्त, समाजवादी पार्टी र राष्ट्रिय नागरिक पार्टी चुनावी मैदानमा छन् ।

भरतपुर महानगरपालिका–१६ मा राष्ट्रिय नागरिक पार्टीका धनप्रसाद घले, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भक्तराज हमाल, राप्रपा संयुक्तका विष्णुप्रसाद त्रिपाठी, समाजवादी पार्टीका अम्बरबहादुर थापा र नेपाली काँग्रेसका अमृतराज हमालले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराउनु भएको छ ।

त्यसैगरी खैरहनी–४ मा नेपाली काँग्रेसका देवप्रसाद बस्नेत, राप्रपाका अनुज अधिकारी, नेकपाका बेदबहादुर अधिकारी र राप्रपा संयुक्तका सीताराम थापाले मनोनयन दर्ता गराउनु भएको हो ।

खैरहनी–५ मा राष्ट्रिय नागरिक पार्टीका बलराम चौधरी, समाजवादी पार्टीका बिकन महतो थारू, नेपाली काँग्रेसका प्रतिमा कार्की र नेकपाका पुननारायण प्रधानले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराउनु भएको छ ।

यसअघिको निर्वाचनमा भरतपुर–१६ मा तत्कालीन नेकपा एमाले र खैरहनीका दुवै वडामा नेपाली काँग्रेसले निर्वाचन जितेको थियो । भरतपुर–१६ का वडाध्यक्ष चतुर्मान गुरुङको क्यान्सर रोग र खैरहनीका वडाध्यक्षद्वय नरेन्द्र अधिकारी र विश्वविजय बस्नेतको सवारी दुर्घटनामा निधन भएको थियो । ती वडाहरुमा नेकपा र नेपाली काँग्रेसबीच प्रतिस्पर्धा रहेको छ । नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियारले अहिले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएकाले तीनै स्थानमा आफ्नो जीत हुने दाबी गर्नुभयो । नेकपाले भरतपुर–१६ मा उठाएका उम्मेदवार हमाल पूर्वशिक्षक हुनुहुन्छ भने खैरहनीका अधिकारी र प्रधान स्थानीय समाजसेवी हुनुहुन्छ ।

परियारले तीनवटै वडामा समिति निर्माण गरी प्रचारप्रसारको काम भइरहेको बताउनुभयो । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले तीनवटै वडामा काँग्रेसले जीत हासिल गर्ने दाबी गर्नुभयो । खैरहनीका दुवै वडा यसअघि काँग्रेसले जितेको र भरतपुरमा झिनो मतले पराजित भएका व्यक्ति उम्मेदवार रहेका छन् । सभापति श्रेष्ठले अहिलेको सरकार र यहाँको नप्रतिनिधिबाट जनअपेक्षाअनुसार काम नभएकाले काँग्रेसका पक्षमा मत आउने दाबी गर्नुभयो । काँग्रेसले भरतपुर–१६ मा यसअघि पराजित भएका हमाल, खैरहनी–४ मा कार्यवाहक भएर काम गर्दै आएका वडा सदस्य बस्नेत र ५ मा मृत्यु भएका वडाध्यक्षका श्रीमती कार्कीलाई उम्मेदवार बनाएको छ । तीनवटै वडामा समिति बनाएर प्रचारप्रसारलाई तीव्रता दिइएको छ ।

दलहरुले आवश्यकताअनुसार जिल्ला र केन्द्रका नेता डाकेर प्रचार अभियान अगाडि बढाएका छन् । यसअघिको निर्वाचनमा भरतपुर–१६ मा नेकपा एमालेले दुई हजार १३२, नेपाली काँग्रेसले दुई हजार ६८, माओवादी केन्द्रले ९८९, राप्रपाले ६३, राष्ट्रिय जनमोर्चाले १२, नयाँ शक्तिले ११ र स्वतन्त्र उम्मेदवारले नौ मत प्राप्त गरेका थिए ।

यस्तै खैरहनी–४ मा नेपाली काँग्रेसले ७३५, नेकपा एमालेले ६७१, माओवादी केन्द्रले ३८६ र राप्रपाले २६ मत प्राप्त गरेका थिए । खैरहनी–५ मा नेपाली काँग्रेसले ६२७, नेकपा एमाले ३९८ माओवादी केन्द्र २७३, राप्रपा १२, राष्ट्रिय जनमोर्चा सात र नयाँ शक्तिले १३ मत पाएका थिए ।  

जिल्ला निर्वाचन अधिकारी हरि ढकालका अनुसार जिल्लामा ६ मतदानस्थल र १५ वटा केन्द्र तय गरिएको छ । मतदान केन्द्रका लागि ७५ जना जिल्लाबाट कर्मचारी र केन्द्रमा ६० जना स्वयम्सेवक नियुक्त गरिनेछ । ढकालका अनुसार भरतपुर महानगरपालिका–१६ मा आठ हजार ४८१, खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ र वडा नं ५ मा दुई हजार १११ मतदाता रहेका छन् । (रासस)