के के छन् पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेका ९ वटा प्रतिवद्धता ?

विहीबार, ३० कार्तिक २०७४, १७ : ५०
के के छन् पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेका ९ वटा प्रतिवद्धता ?

चितवन । पुर्व सफल अर्थमन्त्री तथा चितवन क्षेत्र नं. १ का उम्मेदवार  सुरेन्द्र पाण्डेले आफ्नो चुनाव क्षेत्रलाई आधार मानेर ९ वटा प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।  चुनावका बेला असम्भव प्रतिबद्धता गर्नुभन्दा जति गर्न सकिन्छ त्यति प्रतिबद्धता लिएर नागरिकमाझ जानुपर्ने बताउँदै पाण्डेले आफ्ना ९ काम लिएर नागरिकको घरदैलोमा गइरहेको बताउनुभयो ।

यसअघि यही क्षेत्रबाट निर्वाचित पाण्डेका ९ वटा प्रतिबद्धता यस्ता छन्ः


१) भण्डारा–मलेखु सडकखण्डलाई वैकल्पिक राजमार्गको रूपमा विकास गर्ने

चितवनको भण्डारा हुँदै धादिङ्गको मलेखुसम्म जोड्ने सडकखण्डलाई वैकल्पिक राजमार्गको रुपमा जोड्ने कामलाई पाण्डेले पहिलो प्राथामिकताको रुपमा राख्नुभएको छ । आफू अर्थमन्त्री भएकै समयमा सुरु भएको काम भन्दै पाण्डेले ५५ करोड रुपैयाँको परियोजना बनेको यस मार्गमा अहिले लोथर खोलामा ७ करोड रुपैयाँको लागतमा पुल बनिरहेको उहाँले बताउनुभयो ।

२) टाँडी शक्तिखोर–जोगीमारा (हुग्दीं) सडक निर्माण सम्पन्न गर्ने

पाण्डे अर्थमन्त्री भएकै समयमा सुरु भएको चितवनको टाँडी हुँदै शक्तिखोरबाट धादिङको जोगिमारा (हुग्दी) सडक निर्माणलाई पूर्णता दिने कामलाई उहाँले प्राथामिकतामा राख्नुभएको छ ।

३) सौराहामा अन्तर्राष्ट्रिय सभाहल निर्माण गर्ने

चितवनको पर्यटकीय क्षेत्र सौराहमा अन्तर्राष्ट्रिय सभाहल सम्पन्न गर्ने प्रतिबद्धता उहाँको छ । देशको बिच भागमा पर्ने चितवनको पर्यटकीय नगरी सौराहामा विभिन्न संघ संस्थाको उपस्थितिमा विदेशबाट समेत पर्यटक आउने बिभिन्न कार्यक्रम गर्दा ठूलो हलको अभाव भएका कारण सौराहामा अन्तर्राष्ट्रिय सभाहल निर्माण गर्ने उहाँको योजना छ ।

४) सौराहा लोथर पर्यटन मार्ग निर्माण गरी पर्यटकीय आकर्षणको केन्द्र बनाउने

सौराहाबाट चितवनको पहाडी गाविस लोथर हुँदै जिल्लको सबैभन्दा अग्लो पहाडी क्षेत्र सिराईचुलीसम्म पर्यटन मार्गको निर्माण गर्ने उहाँको योजना छ । जिल्लाको तराई र पहाडी क्षेत्रलाई जोड्ने मार्ग र पर्यटकीय क्षेत्र विकासको लागि यो मार्गले सहयोग पुग्ने उहाँले बताउनुभयो ।
५० शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माणलाई पूर्णता दिने ,चितवनको पूर्वि क्षेत्रमा पर्ने शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण प्रकृयालाई पूरा गर्न आफू सक्रिय भएर लाग्ने र पूर्णता दिएरै छाड्ने उहाँले बताउनुभएको छ ।

६) लोथर, सौराहा, गोलाघाट, नारायणगढ, देवघाट, भोजाड, भण्डारा रिङरोड निर्माण गर्ने

चितवन र मकवानपुरको सिमाना लोथरबाट सौराहा हुँदै पश्चिम चितवनको घोलाघाटवाट नारायणगढ बजार हुँदै पवित्र धार्मिकस्थल देवघाटसँगै भरतपुर महानगरपालिकाको भोजाडवाट पदमपुर जुटपानी चैनपुरलाई जोडेर भण्डाराबाट लोथरसम्म पुग्ने रिङरोड निर्माण गर्र्ने उहाँको अर्को प्रतिबद्धता छ ।

७) कयर, लदरी, पम्फा खोला तथा खगेरी तटबन्धन गरी पूर्वी चितवनलाई बाढी सुरक्षित क्षेत्र बनाउने

जिल्लामा रहेका नदी कटानको व्यवस्थापन गर्न उहाँले पूर्वी चितवनको कयर, लदरी, पम्फा र खगेरी खोलामा तटबन्ध गर्ने कार्यलाई पूर्णता दिने बताउनुभएको छ ।

८)शक्तिखोरमा प्राविधिक महाविद्यालय निर्माण गर्ने

पूर्वी चितवनको शक्तिखोरमा प्राविधिक महाविद्यालय बनाउने प्रतिबद्धता जनाउनुभएको छ । औद्योगिक क्षेत्र यहिँ रहने भएकाले पूर्णता दिनका लागि आउँदो पाँच वर्षमा महत्वपूर्ण काम गर्ने उहाँको प्रतिबद्धता छ ।

९) पूर्वी चितवनमा बाल अस्पताल निर्माण गर्ने

जिल्लाको पूर्वी क्षेत्रमा एक व्यवस्थित बाल अस्पताल बनाउने उहाँको अर्को प्रतिबद्धता रहेको छ । यसबारे विभिन्न सहयोगी दाताहरुसँग समन्वय भइरहेको बताउँदै उहाँले स्थानीय तहसँग सहकार्य गरी जग्गाको खोजी गरी बाल अस्पताल स्थापना गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस