नायिका शिल्पा पोखरेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

सफल खबर संवाददाता

शुक्रबार, २९ कार्तिक २०७६, १८ : ००
नायिका शिल्पा पोखरेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नायिका शिल्पा पोखरेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

बहुविवाह सम्बन्धी मुद्दा खेपिरहेकी पोखरेल आज शुक्रबार अदालतमा हाजिर भएकी थिइन् । न्यायाधीश मुकेश उपाध्यायको इजलासले पोखरेललाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

पोखरेल र निर्माता छवि ओझाको डिभोर्स प्रक्रिया अगाडि बढेको समयमा छविकी जेठी श्रीमती हेमा ओझाले प्रहरीमा बहुविवहाको उजुरी दिएपछि यो घटनाले नयाँ मोड लिएको थियो । हेमाले सुरुवातमा गौशाला प्रहरीमा उजुरी दिएकी थिइन् । तर, गौशाला प्रहरीले कालिमाटी महिला सेलमा पठाइदिएको थियो ।

बहुविवाहको उजुरीमाथि महिला सेल, कालिमाटीले अनुसन्धान गर्ने क्रममा निर्माता छवि ओझा र पोखरेलविरुद्ध ८ साउनमा पक्राउ पूर्जी जारी भएको थियो ।

तर, पूर्जीविरुद्ध शिल्पा उच्च हुँदै सर्वोच्च अदालतसम्म पुगेकी थिइन् । यद्यपि, उनको विपक्षमा फैसला भएपछि शुक्रबार अदालतमा उपस्थित भएकी हुन् । निर्माता ओझा भने अहिलेसम्म अदालत उपस्थित भएका छैनन् ।

वि.सं २०७३ साल असार २९ गते बिहे गरेका छवि र शिल्पाले गतबर्षको पौषमा मात्र बिहे दर्ता गरेका थिए । शिल्पाले भने आफूलाई छविका २ श्रीमती गिताञ्जली र रेखा थापा मात्र रहेको बिषयमा जानकारी भएको बताउँदै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस