एकीकृत ग्रामिण विकास तथा विज्ञान, प्रविधि विकास परियोजनाका लागि दक्षिण कोरियाले एक अर्ब अनुदान दिने

मंगलबार, २३ माघ २०७४, १५ : २०
एकीकृत ग्रामिण विकास तथा विज्ञान, प्रविधि विकास परियोजनाका लागि दक्षिण कोरियाले एक अर्ब अनुदान दिने

दक्षिण कोरियाले नेपालको एकीकृत ग्रामिण विकास तथा विज्ञान र प्रविधि विकास परियोजनाका लागि करिव एक अर्ब नेपाली रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ ।
अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी र नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क योङ सीकबीच दक्षिण कोरियाले नेपालको एकीकृत विकास तथा विज्ञान र प्रविधि विकास परियोजनाका लागि करिव १ अर्ब नेपाली रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
मंगलबार अर्थ मन्त्रालयमा एक कार्यक्रमकाबीच सम्पन्न समझदारी पत्रमा सो लगानी कार्यान्वयनको मुख्य भूमिका भने काठमाडौं विश्वविद्यालयले निर्वाह गर्ने उल्लेख छ । कार्यक्रममा बोल्दै अर्थ सचिव अधिकारीले दक्षिण कोरिया सरकारले नेपालको शिक्षा, कृषि र स्वास्थ्यको क्षेत्रमा प्राविधिक सहयोग गर्दै आएको स्मरण गराए ।
त्यस अवसरमा उनले परियोजनालाई सफल बनाउन लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
नेपालका लागि दक्षिण कोरियाका राजदुत सीकले नेपालले अनुसन्धानको क्षेत्रमा उल्लेख्य प्रगति गरोस् भन्ने उद्देश्यका साथ सहयोग आदानप्रदान भईरहेको बताए ।
८ वर्षे यो परियोजनाबाट नेपालको अनुसन्धान र विकास एवम् प्रविधि क्षमतामा विकास  हुने विश्वास लिइएको छ ।
दक्षिण कोरियाले सन् १९९१ देखि नेपाललाई शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रमा आवश्यक प्राविधिक सहयोग गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस