डा गोविन्द केसीले तोडे सत्याग्रह

मंगलबार, २६ कार्तिक २०७६, १७ : ०९
डा गोविन्द केसीले तोडे सत्याग्रह

काठमाडौँ ।  डा. गोविन्द केसीले मंगलबार नवौं दिनमा आफ्नो १७ औं सत्याग्रह तोडेका छन्। 

राष्ट्रियताको संवेदनशील विषयमा जनस्तरबाट आवाज उठिरहँदा देशबासीको संवेदनालाई ख्याल गर्दै सत्याग्रह स्थगित गरेको उनले विज्ञप्तिमार्फत जनाएका छन्। चिकित्सा शिक्षा ऐन संशोधनको प्रमुख माग राखेर उनी डडेल्धुरामा सत्याग्रह बसेका थिए।

केसीले स्वास्थ्य र चिकित्सा शिक्षामा सुधार तथा सुशासनका लागि आफ्नो लडाइँ जारी नै रहने बताए । सरकारले आफ्नो माग पूरा नगरे पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने उनले बताएका छन्।

सत्याग्रहकै बीचमा भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको समाचारले अरु नेपाली नागरिकजस्तै आफू पनि स्तब्ध भएको केसीले जनाएका छन्।

डा. केसीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको पश्चिमी सीमा मिचिएको विषयमा राजनीतिक शक्तिहरुबीच जुन अभूतपूर्व तदारुकता देखिएको छ, त्यो देखावटी मात्र नभई कूटनीतिक माध्यमबाट मिचिएको भुमि फिर्ता गर्नमा केन्द्रित होस् र त्यो प्रयासले परिणाम निकालोस् भन्ने चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस