निद्राबाट सबैभन्दा धेरै बञ्चित हुनेमा डाक्टर र प्रहरी

एजेन्सी

मंगलबार, २६ कार्तिक २०७६, १५ : ३०
निद्राबाट सबैभन्दा धेरै बञ्चित हुनेमा डाक्टर र प्रहरी

एजेन्सी । पछिल्लो समय विश्वभर अपर्याप्त निद्रा महामारी सरह फैलिरहेको पाइएको छ । अमेरिकामा मात्र एक तिहाइ भन्दा बढी जनसङ्ख्या प्रत्येक रात सात घण्टा भन्दा कम सुत्ने गरेको पाइएको छ । जसमा पनि नागरिकहरुको सुरक्षाको जिम्मेवारी लिएका डाक्टर र पुलिस अधिकारीहरु निद्राबाट सबैभन्दा बढी बंञ्चित हुने समुहमा परेको हालैको एक सर्वेक्षणले देखाएको हो । 

जर्नल अफ कम्युनिटी हेल्थमा प्रकाशित अध्ययनका अनुसार स्वास्थ्य र सुरक्षा क्षेत्रमा आबद्ध कर्मचारीहरु अपूरो निद्राको सबैभन्दा बढी शिकार भइरहेका छन् । यसपछि जातिय अल्पसङ्ख्यक र अशिक्षित लगायत एक्लै बस्नेहरु पनि अपर्याप्त निद्राको सबैभन्दा ठूलो जोखिममा रहेको बताइएको छ । राष्ट्रिय स्वास्थ्य अन्र्तवार्ता सर्वेक्षण अन्र्तगत एक लाख ५० हजार भन्दा धेरै मानिसहरुमा गरिएको अध्ययनका डाटालाई पुनः विश्लेषण गरिसकेपछि अनुसन्धानकर्ताहरुले यस्तो पत्ता लगाएका हुन् । यस्तोमा राम्ररी निद्रा पुर्याउन असमर्थ अमेरिकी नागरिकहरुको दर २०१० मा ३०.९ प्रतिशतबाट २०१८ मा ३५.६ प्रतिशत पुगेको पाइएको छ । जसमध्ये आधा भन्दा धेरै सुरक्षा क्षेत्रमा खटिएका व्यक्तिहरु र सेनाहरु रहेको बताइएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रमा आबद्ध ४५ प्रतिशतमा पनि सो समस्या व्यापक रहेको बताइएको छ । यिनै पेशाले जनताको सुरक्षाका निम्ति उल्लेखनीय भूमिका खेल्ने गरेको हुँदा नतिजालाई चिन्ताजनक मानिएको अनुसन्धानकर्ताहरुको भनाइ छ ।  

विशेषगरी स्वास्थ्य क्षेत्रमा थकानले ठूलो दुर्घटना निम्त्याउन सक्छ । क्यानडियन मेडिकल असोसिएसन जर्नलमा सञ्चालित २०११ को एक अध्ययनमा शल्यक्रिया गरिरहेका चिकित्सकले अघिल्लो दिन ६ घण्टा भन्दा कम सुतेको भएमा अपरेशन जटिल हुने उच्च जोखिम हुने गरेको पत्ता लगाएको हो । बल स्टेट युनिभर्सिटीका स्वास्थ्य प्रोफेसर जगदिश कुबचन्दनीका अनुसार पुलिस अधिकारीहरुले पनि विशेष रुपमा राति सुत्नमा कठिनाइ हुने गरेको बताउने गरेका छन् । पुलिस अधिकारीहरु देीनक खतरनाक परिस्थितिको सामना गर्नुपर्ने हुँदा तनावका कारण पनि उनीहरुलाई निद्रा पुर्याउन समस्या हुनेगरेको उनी बताउँछन् । 

यता चिकित्सकहरुले नै अपूरा निद्राको अर्थ चोटपटकको बढी सम्भावना, उत्पादकत्वमा कमी, समय अगावै मृत्यु भनि व्याख्या गर्ने गरेका छन् । यसका साथै थुप्रै अनुसन्धानहरुले पनि अपूरो निद्रालाई शारीरिक एवम् मानसिक रोग जस्तै मधुमेह, ह्दय सम्बन्धी समस्या, तनाव, चिन्तासँग जोड्ने गरेका छन् । २०१९ मै गरिएको एक अनुसन्धानले अधुरो निद्राको परिणाम स्वरुप वार्षिक ४११ अर्ब डलर बराबर आर्थिक घाटा हुने गरेको देखाएको हो । सात घण्टा भन्दा कम सुत्नने बित्तिकै हामीले स्वास्थ्य र शरीरलाई गम्भीर जोखिममा पारिरहेकाबारे सधैँ सचेत रहनुपर्ने जगदिश बताउँछन् । उनले भनेका हुन् , “समाजमा टम क्रुज पाँच घण्टा सुत्छन् र अमेजोन कम्पनीका मालिक जेफ बेजोस तीन बजे उठ्छन् भन्ने जस्ता खबर व्यापक चर्चामा आउने गरेका छन् तर यसले तिनलाई दिर्गकालीन रुपमा कसरी असर गर्नेछ भन्ने कसैलाई कहिल्यै थाहा हुनेछैन ।”    

प्रतिक्रिया दिनुहोस