यस्तो छ बंगलादेशका राष्ट्रपतिको चारदिने नेपाल भ्रमण तालिका

सफल खबर संवाददाता

मंगलबार, २६ कार्तिक २०७६, ११ : ११
यस्तो छ बंगलादेशका राष्ट्रपतिको चारदिने नेपाल भ्रमण तालिका

काठमाडौँ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज मध्यान्ह नेपालको चार दिने भ्रमणमा आउँदै छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल भ्रमणमा आउन लागेका हुन् । उनलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीलगायतका उच्च अधिकारीहरुले स्वागत गर्ने कार्यक्रम रहेको छ । 

बंगलादेशका राष्ट्रपति आज मध्यान्ह १२ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान बंगलादेश एयरलाइन्सको उडान नम्बर बीजी ७१ बाट अवतरण गर्नेछन् । विमानस्थलमा १२ः५५ बजेबाट १ः१५ सम्म स्वागत समारोहमा सरिक हुनेछन् ।

भक्तपुर जानका लागि ३ बजेर २० मिनेटमा नारायणहिटी हेलिप्याडतर्फ प्रस्थान गर्नेछन् । उनी ३ बजेर ४७ मिनेटमा भक्तपुरको सैनिक आवासीय महाविद्यालयको हेलिप्याडमा अवतरण गर्नेछन् । ५ बजेर १५ मिनेट जाँदा सैनिक आवासीय महाविद्यालयको हेलिप्याडबाट उनी काठमाडौंका लागि प्रस्थान गर्नेछन् । उनी ५ बजेर ४३ मिनेटमा होटल म्यारिएटमा पुग्नेछन् ।

सोही होटलमा  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बंगलादेशी राष्ट्रपतिसँग भेट गर्नेछन् । ७ः१० बजे बंगलादेशी राष्ट्रपति नेपालका लागि बंगलादेशका राजदूतले आयोजना गर्ने रात्रिभोजमा सरिक हुने छन् । 

हमिदले नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने छन्। सोही दिन आफ्ना बंगलादेशी समकक्षी तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा राष्ट्रपतिले आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन् ।

त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पनि हमिदले भेटवार्ता गर्ने तय भएको छ । हमिदले नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष ‘‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूसँग भलाकुसारी गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस