२७ अर्ब ७६ करोड बढीको सार्वजनिक निष्कासनका लागि अनुमति, फैलँदै नेपालको धितोपत्र बजार

मंगलबार, २३ माघ २०७४, १२ : ४६
२७ अर्ब ७६ करोड बढीको सार्वजनिक निष्कासनका लागि अनुमति, फैलँदै नेपालको धितोपत्र बजार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालू आवको ६ महिनामा रु २७ अर्व ७६ करोड रकम बरावरको सार्वजनिक निष्कासन गर्न अनुमति दिएको छ ।

सार्वजनिक निष्काशन अनुमतिको संख्या र रकम दुबैमा बढोत्तरी भइरहेको सन्दर्भमा बोर्डले पछिल्लो तथ्यांक सार्वजनिक गरेको हो ।

सार्वजनिक निष्काशन संख्याको आधारमा यस अवधिमा अघिल्लो बर्षको तुलनामा ६.९८ प्रतिशत तथा रकमको आधारमा ३०.४५ प्रतिशतले बृद्धि भएको हो ।

नौ वटा कम्पनीको रु २ अर्ब ८६ करोड रकम बरावरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ), ३ वटा कम्पनीको रु २ अर्व ६७ करोड रकम बरावरको थप सार्वजनिक निष्काशन (एफपीओ), ४ वटा सामूहिक लगानी कोषको ४ वटा योजनाको रु ४ अर्व ७० करोड रकम बरावरको इकाई निष्काशन तथा ३० वटा कम्पनीको रु १७ अर्व ५३ करोड रकम बरावरको हकप्रद शेयर निष्काशन गर्न अनुमति प्रदान गरेको बोर्डले जनाएको छ ।

बोर्डले संगठित संस्थाकोे मुनाफाबाट भएको बचत वा जगेडा कोषलाई पूँजीकरण गरी अतिरिक्त शेयरको रुपमा शेयरधनीहरुलाई प्रदान गरिने ३० वटा संगठित संस्थाहरुको रु ७ अर्व ८२ करोड रकम बरावरको बोनस शेयर दर्ता गरेको छ । गत आवको सोही अवधिमा ५२ वटा कम्पनीको रु १० अर्ब ८९ करोड रकम बरावरको बोनस शेयर दर्ता गरिएको थियो ।

सार्वजनिक निष्काशन अनुमति दिने प्रकृयालाई छिटो छरितो रुपमा सम्पन्न गर्न बोर्डले सार्वजनिक रुपमा प्रतिवद्धता गरे अनुसार धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ तथा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्दे्शिका २०७४ ले तोकेका सम्पूर्ण विवरण तथा कागजात प्राप्त भएको सात दिनभित्र निवेदन अनुमति दिन थालिएको छ ।

कागजातमा अवश्यकता अनुसार सुझाव दिने र तत्पश्चात सुझाव अनुसार आवश्यक सुधार गरी विवरण तथा कागजात प्राप्त भएको पाँच दिनभित्र निष्काशन अनुमति प्रदान गर्दै आएको बोर्डले जनाएको छ ।
बोर्डले यस अवधिमा १५ वटा संस्थाले आईपीओ निष्काशनको लागि आवेदन दिएकोमा ५ कम्पनीको विवरणपत्र तथा अन्य कागजात अध्ययनको क्रममा रहेको र १० वटा कम्पनीहरुको विवरणपत्रमा आवश्यक सुधार एवं संशोधनका लागि लेखी पठाइएको छ ।

त्यसै गरी १७ कम्पनीले हकप्रद शेयर निष्काशनको लागि अनुमतिका लागि आवेदन गरकोमा ३ वटा संस्थालाई हकप्रद निष्काशन अनुमति प्रदान गर्ने प्रकृया अन्तिम चरणमा छ ।
यस्तै ३ वटा संस्थाको प्रत्युत्तर हालै प्राप्त भई सोको जाँचबुझ भईरहेको छ र ११ वटा कम्पनीको हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणमा आवश्यक सुधार एवं संशोधनका लागि पठाइएको छ ।
आवेदन गरेका १५ वटा संस्थाको आईपीओ निष्काशनको रकम रु ३ अर्व ९० करोड र १७ संस्थाको हकप्रद शेयर निष्काशनको रकम रु ११ अर्व ७६ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस