न्यारो बडी विमान खरिद घोटला प्रकरणमा जोडिए नेम्वाङ

प्रतिवेदन गोप्य राख्ने नराख्नेमा ओली–नेपाल पक्षवीच विवाद

सफल खबर संवाददाता

बुधबार, २० कार्तिक २०७६, ०८ : १५
न्यारो बडी विमान खरिद घोटला प्रकरणमा जोडिए नेम्वाङ

संसदीय समितिमा विमान खरिदमा घोटला भएको प्रतिवेदन आएपछि सार्वजनिक गर्ने नगर्नेमा ओली र नेपाल पक्षवीच विवाद देखिएको छ

काठमाडौं । नेपाल वायुसेवा निगमको न्यारो बडी विमानखरिदको घोटला प्रकरणमा सुवास नेम्वाङ समेत जोडिन पुगेका छन् । संसदको उपसमितिले तयार पारेको अध्ययन प्रतिवेदनले विमान खरिद प्रकरणमा घोटला भएको ठहर गरेपछि नेम्वाङ पनि जोडिन पुगेका छन् ।

यद्यपी नेम्वाङलाई घोटला प्रकरणमा उपसमितिले दोषीका रुपमा जोडेको भने होइन । उनी उपसमितिले बनाएको प्रतिवेदन गुपचुप बनाउन र प्रतिवेदन सार्वजनिक गर्नै नदिनका लागि भने जोडिएका हुन् ।

नेकपाको संसदीय दलका उपनेताको हैसियतमा उनले अन्त्राष्टिय सम्वन्ध समितिका पार्टी सदस्यहरुलाई प्रतिवेदन सार्वजनिक गर्न दिन नहुने भन्दै गुपचुप राखिरहनका लागि दवाब बढाउने भूमिकमा जोडिएका हुन् ।

समितिमा नेकपाभित्रका ओली र वरिष्ठ नेता नेपाल पक्षका वीचमै विवाद देखिएको छ । नेकपाका एक उच्च स्रोतले दिएको जानकारी अनुसार ओली पक्ष संसदीय समितिले जाहाज खरिदमा घोटला भएको प्रतिवेदन तयार भएपछि त्यसलाई भित्रभित्रै गुपचुप राख्ने अभियानमा लागेको छ भने नेपाल पक्ष सार्वजनिक गर्नुपर्ने पक्षमा देखिएको छ ।

ओली नेपाल पक्ष वीचमा देखिएको विवादका कारण उपसमितिको प्रतिवेदन अन्त्यत्व गोप्य राखिएको छ । प्रतिवेदनमै गोप्य लेखेर सार्वजनिक हुनबाट रोक लगाउने काममा संविधानसभाका अध्यक्ष समेत रहेका नेकपा संसदीय दलका उपनेता नेम्वाङ लागिपरेका हुन् ।

समितिमा रहेका माधव नेपाल, भीम रावल लगायत नेताहरु प्रतिवेदन सार्वजनिक गर्ने पक्षमा छन् । तर ओलीले नेपाल वायुसेवा निगमको अध्यक्ष मदन खरेल कार्यकारी निर्देशक भएका बेला न्यारो वडी विमान खरिद गरिएको र त्यसमा घोटला भएको ठहर समितिले गरेपछि प्रतिवेदन गुपचुप बनाउन नेम्वाङ लागेका हुन् ।

खरेल ओलीको जोडबलमा अध्यक्ष नियुक्त भएका थिए । खरिद प्रकरणको हिस्सामा खरेलले राजनीतिज्ञलाई पनि अनुसन्धानका क्रममा जोडने र त्यसको पोल खुल्दा आफु पक्षका केही नेता पनि जोडिने देखिएपछि ओलीले नेम्वाङ मार्फत प्रतिवेदन गोप्य राख्न र सार्वजनिक हुन नदिनका लागि दवाव बढाएका हुन् ।

त्यही क्रममा नेम्वाङले नेकपाका सांसदहरुलाई प्रतिवेदन गोप्य राख्न र पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको निर्देशन विना केही थप प्रक्रिया समितिमा अगाडी नबढाउन दवाव बढाईरहेका छन् ।

अन्तराष्टिय समितिले न्यारो बडी खरिद प्रकरणको अनुसन्धान गरी प्रतिवेदन तयार पार्नका लागि नेकपा सांसद दीपकप्रकाश भटटको संयोजकत्वमा उपसमिति बनाएको थियो । उपसमितिमा सांसदहरु दिब्यमणी राजभण्डारी, रेनुका गुरुङ, सरला यादव र सुदन किराती रहेका थिए ।

यो समितिले अध्ययन गरी न्यारो वडी जाहाज खरिदमा एक अर्व २० करोड रुपैयाँ घोटला गरेको ठहर सहितको प्रतिवेदन तयार पारेको छ ।

लाग्ने मूल्य भन्दा ६० करोड मूल्य बढाएर जाहाज खरिद गरिएको र अन्य प्रक्रियाका लागि थप गरी सो बरावरको घोटला भएको प्रतिवेदन उपसमितिले तयार पारेको थियो ।

त्यो प्रतिवेदन समितिलाई बुझाउन तयार पारेपछि सार्वजनिक हुने डरले नेम्वाङ आफै कम्मर कसेर प्रतिवेदन गुपचुप बनाउन लागेका हुन् ।

सर्वाेच्चको फैसल्लाका कारण उपसमितिको प्रतिवेदन गोप्य राखिएको अन्तराष्ट्रिय सम्वनध समितिका सभापति पवित्रा निरौला खरेलले दावी गरेकी छिन् । सर्वाेच्चले यस सम्वन्धमा फैसल्ला गरेका कारण प्रतिवेदन सार्वजनिक गर्नु नुहने तर्कमा अहिले प्रतिवेदन गुपचुप बनाउन लागेका नेकपा नेताहरु छन् ।

तर यसभित्रको भित्री मक्सद भनेको खरिदको घोटला प्रकरणमा वायुसेवा निगमका अध्यक्ष खरेल जोडिने र त्यसरी उनी जोडिदा नेकपाका ओली पक्षका नेताहरु पनि फस्न सक्ने ठानी नेम्वाङ लगायतका नेताहरुको जोडवलमा प्रतिवेदन गोप्य राखिएको हो ।