आन्दोलित वीरगन्जले मुख्यमन्त्री पाउने पक्का

पत्रपत्रिकाबाट

मंगलबार, २३ माघ २०७४, ०७ : ११
आन्दोलित वीरगन्जले मुख्यमन्त्री पाउने पक्का

वीरगन्ज । प्रदेश नम्बर २ को स्थायी राजधानी बनाउन माग गर्दै एक महिनादेखि आन्दोलित वीरगन्जले मुख्यमन्त्री पाउने पक्का भएको छ ।

राजधानी आन्दोलन जारी रहेकहा बेला संघीय समाजवादी फोरम नेपालले पर्सा क्षेत्र नम्बर १ ‘ख’ बाट विधायकमा निर्वाचित लालबाबु राउत गद्धीलाई चयन गरेपछि वीरगन्जले मुख्यमन्त्री पाउने निश्चित भएको हो यो समाचार आजको अन्नपुर्ण पोष्टले छापेको छ  ।

गद्धी वीरगन्ज महानगरपालिका–१५ का स्थायी बासिन्दा हुन् । उनी वीरगन्ज महानगरपालिका अन्तर्गत नै पर्साको क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित विधायक पनि हुन् ।

जनकपुरमा आइतवार अबेर राति सम्पन्न फोरम नेपालका प्रदेश सांसदहरुको बैठकले गद्धीलाई सर्वसम्मत संसदीय दलको नेता छानेपछि उनी नै मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।

दलको नेताका लागि गद्धीसहितका सातजना आकांक्षी रहेपनि अन्तिम समयमा अरु ६ जनाले नाम फिर्ता लिएपछि गद्धी, सर्वसम्मत दलको नेता चयन भएका हुन् ।

प्रदेश नम्बर २ मा फोरम र राजपा गठबन्धनको सरकार बन्ने निश्चित छ । प्रदेश नम्बर २ मा फोरम नेपालको २९ र राजपाको २५ गरी मधेसी गठबन्धनको ५४ सिट छ । जुन एक सय सात सदस्य रहेको प्रदेश २ को सरकार गठनका लागि आवश्यक बहुमत संख्या हो ।

दुई दलबीच भएको अनौपचारिक सहमति अनुसार बढी सिट प्राप्त गरेको दल फोरम नेपालको भागबण्डामा मुख्यमन्त्री परेकाले फोरमका संसदीय दलका नेता गद्धीलाई सरकारको ढोका खुलेको हो ।

‘संसदीय दलको नेता नै मुख्यमन्त्रीको उम्मेदवार हुने परम्परा चल्दै आएकाले फोरम नेपालका तर्फबाट मुख्यमन्त्रीका उम्मेदवार अब गद्धी नै हुनुहुन्छ’, फोरम नेपाल प्रदेश नम्बर २ की संयोजक तथा सांसद रेणु यादवले भनिन्, ‘गद्धीकै नेतृत्वमा फोरम नेपाल सरकारमा जान्छ ।’

फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेद्र यादव र राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहितका शीर्ष नेताहरुको उपस्थितिमा मङगलवार जनकपुरमा बस्ने शीर्ष बैठकले मुख्यमन्त्री र सभामुख लगायत विषयमा टुङ्गो लगाउने फोरम नेपालका केन्द्रीय सांसद प्रदीप यादवले जानकारी दिए ।

राजपाका महामन्त्री मनीषकुमार सुमनले पनि सबै भन्दा बढी प्रदेशसभा सदस्य (विधायक) जितेको दललाई मुख्यमन्त्री दिने सहमति निर्वाचन पहिले नै भएको र त्यही सहमति अनुसार प्रदेश नम्बर २ मा बन्ने सरकारको नेतृत्व फोरमले नै गर्ने बताए ।

सबैभन्दा बढी सिट जित्ने पार्टीको संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने सहमति चुनाव अघि नै दुई दलबीच भएको हो’, सुमनले भने, ‘बढी सिट जितेको फोरमको संसदीय दलको नेता लालबाबुजी चुनिनुभएको छ, त्यसैले मुख्यमन्त्री अब उहाँ नै बन्नु हुनेछ, अरु पदबारे दुई दलबीच मङ्गलवार टुंग्याउँछौँ ।’

तर मुख्यमन्त्रीमा दाबेदारी गर्दै आएका राजपाका अर्का महामन्त्री जितेन्द्र सोनलले भने मुख्यमन्त्री वा सभामुखमध्ये कुन पद कुन दललाई दिने भनेर राजपा र फोरमबीच कुनै छलफल र सहमति नभएको जिकिर गरे ।

मुख्यमन्त्रीमा राजपाको पनि दाबेदारी कायमै रहेको उनले बताए । महामन्त्री सोनलले भने मुख्यमन्त्री र सभामुख दुई पदमा मात्रै नभएर सबै शासकीय पदमा प्याकेजमा सहमति जुटाउने गरी छलफल हुने बताए ।

 

प्रतिक्रिया दिनुहोस