हाइड्रोपावरको सुरुङभित्र फसेका चार जना मजदुरको अठार घण्टापछि उद्धार हुँदै

एजेन्सी

सोमबार, १८ कार्तिक २०७६, १२ : ३१
हाइड्रोपावरको सुरुङभित्र फसेका चार जना मजदुरको अठार घण्टापछि उद्धार हुँदै

बझाङ । बुङल नगरपालिकास्थित माथिल्लो कालंगा हाइड्रोपावरको सुरुङभित्र पठाइएको अक्सिजन पाइपमा अवरोध हुँदा चार जना मजदुरभित्र फसेका छन् । आइतबार साँझ उक्त घटना भए पनि अठार घण्टापछि आज बल्ल ती मजदुरहरूको उद्धार गर्ने तयारी भइरहेको छ ।
डिएसपी गणेशबहादुर बमका अनुसार सुरुङभित्र दैलेखका कर्णबहादुर शाही र महेन्द्रबहादुर शाही, बझाङका शेरसिंह धामी र अछामका महेन्द्र साउद फसेका छन् । उनीहरु काम गर्नका लागि भन्दै ३ वटा ट्याक्टर र एक जिपसहित आइतबार सुरुङभित्र पसेका थिए ।
उनीहरूको उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना रातभर खटिएपनि सम्भव नभएपछि काठमाडौंबाट उद्धार टोलि मगाइएको डिएसपी बमले जानकारी दिए । उनका अनुसार काठमाडौंबाट हेलिकोप्टरमा उद्धार टोली बझाङ आइरहेको छ ।
घटनास्थल सदरमुकामबाट गाडीमा जाँदा ४ घण्टाभन्दा बढी लाग्ने बताइएको छ । सुरुङको लम्बाइ १ किलोमिटर ४ सय मिटर छ । अक्सिजनको अभावका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । उद्धारका लागि बझाङ, धनगढी र दिपायलबाट प्रहरी टोली परिचालन गरिएको छ ।