फूलखेतीमा जमेका चितवनका प्रकाश पन्त

रासस

विहीबार, १४ कार्तिक २०७६, १५ : १८
फूलखेतीमा जमेका चितवनका प्रकाश पन्त

–  नारायण अधिकारी
चितवन । निरन्तर परिश्रम गरे सफलता मिल्छ भन्ने गतिलो उदाहरण यहाँका फूल व्यवसायी प्रकाश पन्तले दिनुभएको छ । गुल्मीको छत्रकोट गाउँपालिका–३ मा जन्मनुभएका पन्तले चितवनलाई कर्मभूमी बनाउँदै फूलखेती गर्दै आउनुभएको छ । 

विसंं २०५७ मा मूल विषय अङ्ग्रेजीमा स्नातक उत्तीर्ण गर्नुभएका पन्तलाई रोजगारीका प्रशस्त अवसर थिए । तर, उहाँले काठमाडौँमा बिक्री हुने गरेको फूलको उत्पादनमा नै आफ्नो भविष्य देख्नुभयो । फूलखेती कहाँ गर्दा उपयुक्त हुन्छ विचार र परामर्शमा लाग्दै गर्दा चितवन उपयुक्त थलो उहाँलाई लाग्यो । 

तत्कालीन गुञ्जनगर गाउँविकास समिति वडा नं– ६ भुवनबस्तीमा दुई बिघाहा जग्गा भाडामा लिएर उहाँले फूलखेती थाल्नुभयो । पन्तका अनुसार शुरुमा १० कठ्ठा जमीनमा ‘ग्याडुलस’ फूल लगाउनुभयो । फूलको विस्तार गर्ने क्रममा उहाँले फार्मलाई सोही गाउँ विकास समितिको ५ नं वडामा सार्नुभयो । सो ठाउँमा ग्याडुलससँगै गोदाबरी, जरभेरा र गुलाफ उत्पादन गर्न थाल्नुभयो । 

क्रमशः क्षेत्र विस्तार गर्ने क्रममा अहिले २० बिघाहामा ती फूल रहेका छन् । दुई दुई वर्षमा जमीन परिवर्तन गर्नुपर्ने भएकाले ठाउँठाउँमा जग्गा भाडामा लिएर उहाँले फूल लगाउँदै आउनुभएको छ । एक बिघाको वार्षिक रु ३० हजार भाडा तिर्दै आउनुभएका पन्तका बारीमा ५० जना भन्दा बढी स्थानीयवासीले रोजगारी पनि पाएका छन् । 

उहाँले उत्पादन गरेको फूल काठमाडौंँ मात्र होइन भारत र कतार पनि जाने गरेको छ । पहिलो वर्ष रु ५० हजारको फूल बिक्री गर्नुभएका पन्तले गतवर्ष रु दुई करोडको फूल बिक्री गर्नुभयो ।  यसवर्ष रु तीन करोड ५० लाखसम्मको फूल बेच्ने लक्ष्य उहाँले राख्नु भएको छ । स्नातक पढ्दै गर्दा यो व्यवसायमा हामफाल्नुभएका पन्तको पढाइ भने अघि बढ्न सकेन । यद्यपि यो पेशामा धेरैका गुरु उहाँ बन्नुभएको छ । नयाँ–नयाँ मानिसलाई यो पेशाका बारेमा सिकाउन पाउँदा र ठूलो सङ्ख्याका नेपाली दाजुभाई दिदीबहिनीलाई तलब बाड्दाको समयमा निकै आनन्द आउने गरेको पन्तको भनाइ थियो । उहाँले भन्नुभयो,“पढाई छुट्यो पछुतो छ । त्यो समयमा मैले जागिर पनि खानसक्थे, तर यो जोखिम लिएर मैले मेरो र अरुको जीवन पनि बनाउन पाएकोमा खुशी छु ।” फूलखेती मात्र होइन अध्ययन र अनुसन्धान गर्दै विज्ञ पनि उहाँ बन्नुभएको छ ।

हल्याण्डको पम्प भन्ने संस्थासँग सहकार्य गरेर उहाँले काम गरिरहनुभएको छ । विदेशी विज्ञ बोलाएर सीप आदानप्रदानका लागि उहाँकै अगुवाइमा काम पनि भइरहेका छन् । उहाँले भन्नुभयो, “फूलखेतीको विस्तार र बजारीकरणका लागि युरोपका सबै जसो देशसँगै युएई, कतार, ईजरायल, नेदरल्याण्ड जस्ता देशमा पुगेको छु ।” 

नेपालमा आफूजस्ता धेरै किसानलाई यस क्षेत्रमा प्रवेश गराउने लक्ष्यका साथ ४४ वर्षीय पन्त अघि बढ्नु भएको छ । उत्पादन गर्ने र उपभोग गर्नेको बिचमा ठूलो अन्तर भएकोमा उहाँलाई चिन्ता छ । बीचका मानिसले धेरै नाफा खाइदिदाँ उत्पादन गर्ने र उपभोग गर्ने दुबै मर्कामा परेको भन्दै उहाँले अहिले क्षेत्रपुरमा फूल बिक्री केन्द्र समेत सञ्चालन गर्दै आउनु भएको छ । उहाँ भन्नुहुन्छ “दुःख गर्ने र उपभोग गर्नेले भन्दा विचौलीयाले बढी लाभ लिनु राम्रो होईन ।”

आफ्नो बिक्री केन्द्रले किसानको फूल किन्ने र ग्राहकलाई बेच्ने काम गर्दै आएको उहाँको भनाइ थियो । प्रविधि र संरचनामा आफ्नो कमाई खर्चदै आउनुभएका पन्तसँग रु चार करोड भन्दा बढीका संरचना रहेका छन् । सात वर्षअघि आठ कठ्ठा जमीनमा फूलका लागि ठूलो ‘ग्रिन हाउस’ भित्र्याउनुभएका पन्तको फूलखेती हेर्न आउनेको भिड लाग्ने गरेको छ । 

पन्तले दुई दशकको सङ्घर्षमा नेपालमा र विदेशमासमेत आफूलाई चिनाउन सफल हुनुभएको छ । धेरै किसानका गुरु बनिसक्नु भएका पन्तको क्षेत्रपुरमा आफ्नै घर छ भने दुई सन्तान निजी स्कुलमा पढ्छन् । वार्षिक रु १० लाख हाराहारी बच्ने बताउँदै उहाँले नगद जम्मा भन्दा पनि संरचना जोड्दैमा धेरै खर्च हुने गरेको बताउनुभयो । पन्त सरकारको सहयोगको अपेक्षा गर्नुहुन्न । उहाँले भन्नुभयो, “अनुदानले कृषि क्षेत्र ध्वस्त भइसक्यो ।” साना किसानलाई थोरै रकम दिनु ठिकै भए पनि ठूलो रकम अनुदान दिनु गलत हुने भन्दै उहाँले ऋणमा सहुलियत दिनुपर्ने बताउनुभयो । पन्त फ्लोरीकल्चर एशोसिएशन नेपाल चितवन शाखाको अध्यक्ष हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस