मापसे गरेको आरोपमा पक्राउ परेका व्यक्तिको पेटमा नै रक्सी बनिरहेको पत्ता लागेपछि...

एजेन्सी

आइतबार, १० कार्तिक २०७६, ११ : ०५
मापसे गरेको आरोपमा पक्राउ परेका व्यक्तिको पेटमा नै रक्सी बनिरहेको पत्ता लागेपछि...

एजेन्सी । अमेरिकामा सन् २०१४ मा मादक पदार्थ खाएको आरोपमा पक्राउ परेका एक व्यक्तिको पेटमा नै रक्सी बनिरहेको पत्ता लागेको थियो । उनी ‘अटो ब्रुअर सिण्ड्रोम’बाट ग्रसित थिए ।

रिचमण्ड युनिभर्सिटी अफ मेडिकल सेन्टरका विशेषज्ञका अनुसार ‘अटो ब्रुअरी सिण्ड्रोम(एबीएस)’बाट पिडित व्यक्तिको पेटले ‘फङ्गल यिस्ट कार्बोहाइड्रेट्स’लाई अल्कोहलमा बदल्छ । 

ग्यास्ट्रो–एन्टेरोलोजीको रिपोर्ट अनुसार सन् २०११मा एक अपरेसन भएपछि त्यस व्यक्तिले एण्टी–बायोटिक खान थालेको र त्यसपछि उक्त अवस्था सुरु भएको थियो । 
व्यक्तिको पेटमा रक्सी बन्न थालेकै समयमा भयभित हुने, चक्कर आउने, स्मरणमा ह्रास आउने समस्या सुरु भएको थियो । 

तथापि, एन्टीबायोटिकबाट यस्तो समस्या सुरु हुनु एकदमै दुर्लभ घटना हो । पछिल्लो ३० वर्षमा यस्ता पाँच घटनामात्र बाहिरिएका छन् । 
सन् २०१७ मा व्यक्तिलाई प्रो–बायोटिक एन्टी फङ्गल दवाई दिइयो र साथमा कम कार्बोहाइड्रेट युक्त खाने सल्लाह दिइयो । 
त्यसले उनको अवस्थामा कमी आयो । यस विषयलाई अक्टोबर महिनाको अन्त्यमा अमेरिकन कलेज अफ ग्यास्ट्रोएन्टेरोलोजीको वार्षिक बैठकमा प्रस्तुत गरिनेछ । 
विशेषज्ञका अनुसार समस्या सुधार नभएको समयमा व्यक्तिको पेट र दिसामा अत्याधिक मात्रामा साशारोमाइसेस सेरेविसिए नामको फङ्गस पाइएको थियो । 
यो फङ्गसलाई ‘ब्रुअर यीस्ट’ भनिन्छ । किनकि रक्सी बनाउनु अघि अन्नलाई कार्बोहाइड्रेटमा बदल्नको लागि यसको प्रयोग हुन्छ । 

कुनै व्यक्तिले कार्बोहाइड्रेटयुक्त खाना सेवन गरेको छ भने पनि उसको रगतमा रक्सीको मात्रा बढ्छ । कहिलेकाँही यो मात्र ४०० मिली लिटरसम्म पुग्छ । यो मात्रा अमेरिकामा रक्सी पिएर गाडि चलाउने दिइएको सिमाभन्दा ११ गुणा बढी हो ।

प्रतिक्रिया दिनुहोस