'प्रदेश सांसदहरूको पहिलो बैठक, उत्साह काममा बदलिए संघीयताको प्रतिफल'

पत्रपत्रिकाबाट

सोमबार, २२ माघ २०७४, ०७ : १९
'प्रदेश सांसदहरूको पहिलो बैठक, उत्साह काममा बदलिए संघीयताको प्रतिफल'

काठमाडौँप् । प्रदेश १ र ४ को प्रदेशसभा बैठक सोमबार भएपछि अन्तत: सबै प्रदेश संघीयता अभ्यासको गोरेटोमा औपचारिक रूपमा प्रवेश गर्नेछन् ।

आइतबारसम्म ५ वटा प्रदेशका पहिलो बैठक भइसकेका छन् भने सोमबार १ र ४ मा हुँदैछन् ।

प्रदेश बैठकहरू अन्तरिम कार्यविधि पारित गरी सभामुखको निर्वाचन मिति तय गरेर केही दिनका लागि स्थगित भएका छन् ।

प्रदेशका बैठक व्यवस्थित हुन भने केही समय लाग्ने छ । प्रदेश सांसदहरूको पहिलो बैठकको उत्साह काममा बदलिए संघीयताको प्रतिफल प्राप्त हुँदै जाने विश्लेषकको भनाइ छ । राजनीतिक विश्लेषक नीलाम्बर आचार्यले संघीयताको व्यावहारिक अभ्यास सुरु भएकाले विस्तारै व्यवस्थित हुँदै जाने बताए ।

‘अब संघीयतामार्फत मुलुकलाई समृद्ध बनाउने जिम्मा राजनीतिक दलको काँधमा छ,’ उनले कान्तिपुरसँग भने, ‘अब दलले आफ्ना सांसदहरूलाई व्यावहारिक रूपमा अभिमुखीकरण गर्नुपर्छ, अनि मात्र प्रदेशका काम परिणाममुखी हुनेछन् ।’

सातै प्रदेश आ–आफ्ना विशेषता बोकेकाले त्यहीअनुसार प्रदेश प्रमुखले विकासको खाका कोर्नुपर्ने आवश्यकता उनले आंैल्याए । ‘कुन प्रदेश के कुरामा बलियो छ, त्यही आधारमा ठोस खाका बनाउन जरुरी हुन्छ,’ उनले थपे, ‘अनि मात्र भनेअनुसार समृद्ध बनाउन सकिनेछ ।’

राजनीतिक दलले अहिल्यैदेखि आफ्ना सांसदलाई संस्कार सिकाउनुपर्ने उनको सुझाव छ । ‘विगतको संस्कारले संघीयता सुन्दर हुँदैन, त्यसकारण राजनीतिक दल बेलैमा सचेत हुनुपर्छ ।’यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस