म सानै छँदादेखि घरको माहौल सांगीतिक थियो : प्रताप दास

सूर्यप्रकाश कँडेल

आइतबार, ०३ कार्तिक २०७६, १५ : २२
म सानै छँदादेखि घरको माहौल सांगीतिक थियो : प्रताप दास

नेपाली सुगम संगीतको क्षेत्रमा गायक प्रताप दास आफ्नो पहिचान स्थापित गर्न संघर्षरत छन् । सांगीतिक रियालिटी शो नेपाल तारा–३ मा सेमीफाइनलसम्म पुगेका दासले जोखिम मोलेरै पहिलो नेपाल आइडलमा सहभागी भए । धेरैपटक डेन्जर जोनमा खस्दै अन्ततः फाइनलिस्ट बने । तीन जनाबीचको फाइनलमा उनले तेस्रो स्थानमै चित्त बुझाउनु प¥यो ।

नेपाली सेनाको सांगीतिक ब्याण्डका दुई जना सदस्य गायक दासको घरमा छन् । बुबा काजीबाबु दास र दाइ कपिल दास । बुबा आर्मीबाट रिटायर्ड भैसके । दाइ नेपाल आर्मीको ब्याण्डमा ट्रम्पेट बजाउँछन् । आमा पूर्णकुमारी दासको कोखबाट २०५१ साल भदौ ३ गते ललितपुरको झरुवारासीमा जन्मिएका प्रतापका दुई दिदी कविता र पवित्रा अनि एउटी बहिनी प्रतिमा छन् । 

ज्योतिदय सामुदायिक विद्यालय चापागाउँबाट २०६६ सालमा एसएलसी परीक्षा दिएका दासले १२ कक्षा भने कुमारीपाटीमा रहेको एबरडीन इन्टरनेसनल कलेजबाट सिध्याए । कुमारीपाटीमै रहेको क्यास्पियन कलेजमा बीबीएस पढ्दापढ्दै कलेज जान छाडेपछि २०६९ सालबाट दासको सांगीतिक यात्रा सुरु भयो ।

प्रस्तुत छ, सानैदेखि सांगीतिक माहौलमा हुर्किएका गायक प्रताप दाससँग सफल खबर डट कमका लागि सूर्यप्रकाश कँडेलले गरेको कुराकानी :

घरको वातावरण सांगीतिक रहेछ । विद्यालयमा संगीततर्फ कत्तिको झुकाव रह्यो ?

स्कुलमा म म्युजिक टिचरसँग क्लोज थिएँ । उहाँको नाम बद्री देसार हो । मैले तीन कक्षाबाटै कीबोर्ड बजाउन सुरु गरेँ, स्कुल र घर दुबै ठाउँमा । घरमा बुबा र दाइले कीबोर्ड, गीतार, ट्रम्पेट लगायत विभिन्न बाजा बजाउनु हुन्थ्यो । दाइलाई त गीत पनि गाउन आउँछ । घरको वातावरणले स्कुलमा पनि संगीतसँग नजिक रहेँ ।

आजको ठाउँसम्म आइपुग्न परिवारको सहयोग कस्तो रह्यो ?

पारिवारिक सपोर्टले नै म आजको ठाउँसम्म आइपुगेको हुँ । म सानै छँदादेखि घरको माहौल सांगीतिक थियो । बुबाले हातमा छडी लिएर संगीतको नोटेसन पढाउनु हुन्थ्यो । उहाँको चाहना त दाइजस्तै मैले पनि आर्मीको ब्याण्ड ज्वाइन गरेको हेर्ने थियो, तर समयचक्रले मलाई गायक बनायो ।

सांगीतिक यात्राको सुरुवात कसरी भयो ?

म सानो छँदा जे काम गर्ने भए पनि कामचाहिँ सिक्नु पर्छ भन्नुहुन्थ्यो बुबाले । एसएलसी दिएपछि मैले ललितपुरको पुलचोकमा धनबहादुर गोपाली गुरुसँग शास्त्रीय संगीत सिक्न थालेँ । उहाँले कलानिधि इन्दिरा संगीत महाविद्यालय संचालन गर्नु भएको थियो । 
म बिहान घरबाट निस्केर कलेज जान्थेँ । कलेजबाट घर फर्केपछि दिउँसो संगीत महाविद्यालय पुग्थेँ । साँझ चार बजेदेखि एक घण्टाको संगीत कक्षा हुन्थ्यो मेरो ग्रुपको । कहिलेकाहीँ म अरु ग्रुपमा समेत बसेर सात बजाइदिन्थेँ । गुरुले पनि ममात्र नभई थप सिक्न चाहने अरुलाई पनि कहिल्यै रोकटोक गर्नु भएन । 
हामीले भारतको इलाहाबादस्थित प्रयाग संगीत समितिबाट लिइने परीक्षा पास गर्नु पथ्र्यो । चौथो वर्षमा त मैले गोल्ड मेडल नै पाएँ । 

नेपाली तारा–३ मा सहभागी हुने हौसला कसरी प्राप्त भयो ?

मैले शास्त्रीय संगीत सिकिरहेको महाविद्यालयले २०७० सालमा कलानिधि आइडल आयोजना ग¥यो । त्यसको टाइटल मैले नै जितेँ । त्यही वर्ष मैले नेपाली तारा–३ मा सहभागिता जनाएँ । कलानिधि आइडलका जजमध्ये सुरेश अधिकारी र संगीता राणा नेपाल तारामा पनि जज हुनुहुन्थ्यो । उहाँहरुले मलाई कलानिधि आइडलमा सुनिसक्नु भएको थियो । त्यसैले मलाई नेपाली तारामा सहभागी हुन हौसला मिल्यो । नेपाली तार–३ मा चौथो भए पनि धेरै कुरा सिक्ने मौका पाएँ ।

त्यो सिकाइलाई व्यवहारमा उतार्ने प्लेटफर्म भेटियो कि भेटिएन ?

नेपाल तारा–३ को सेमीफाइनलबाट आउट हुनेबित्तिकै नाइँ नभन्नु ल–३ को लागि वसन्त सापकोटा सरले एउटा गीत गाउने मौका दिनुभयो । २०७१ सालमा मैले मेलिना राईसँग ‘अलिकति स्वीट, अलिकति हट, अलिकति बोल्ड, अलिकति सफ्ट’ बोलको युगल गीत गाएँ ।
स्टुडियोमा गाएको पहिलो अनुभव थियो त्यो मेरो लागि । त्यतिबेला स्टुडियो चिन्ने मौका पाएँ । त्यसपछि विभिन्न फिल्ममा गीत गाउने क्रम सुरु भयो । संगीतकार एलिस कार्कीसँग मिलेर फिल्मको पृष्ठभूमिमा आलाप दिने काम गरेँ । 
संगीत क्षेत्रमा काम त गरेँ तर एक्स्पोजर पाउन सकेको थिइन । यस्तैमा एक दिन सांगीतिक कार्यक्रममा दुबई जान पाउने भएँ । म निकै खुसी भएको थिएँ, तर मेरो खुसी धेरै टिक्न सकेन । २०७२ साल बैशाखमा भूकम्प गएपछि दुबई जाने कार्यक्रम नै रद्द भयो । दुबई जाने मेरो यात्रामा पनि भूकम्प गयो ।

नेपाल आइडलको यात्राचाहिँ कसरी सुरु गर्नुभयो ?

स्टुडियोमा ब्याकग्राउण्ड आर्टिस्टको रुपमा धेरै काम गरेँ । मैले एक्सपोजर खोजिरहेको थिएँ । नेपालका विभिन्न शहरमा नेपाल आइडलको अडिसन सुरु भइसकेको थियो । काठमाडौँ अडिसनमा सहभागी हुने निधो गरेँ ।
मलाई धेरै जनाले नेपाल आइडलमा नजा भन्नुभएको थियो । कतिपयले त गाली पनि गर्नुभयो । नेपाल ताराको सेमीफाइनलसम्म पुगेको व्यक्ति अडिसनबाटै घर फर्कने कल्पना त गरेको थिइन मैले । तैपनि प्रतिस्पर्धामा कहाँबाट फर्कनु पर्ने हो भन्ने रिस्क भने थियो । स्रोताको माया र सपोर्टले सेकेण्ड रनरअप भएँ । त्यसले मलाई देशभित्र र बाहिर पनि चिनायो ।

शास्त्रीय संगीतको ज्ञान लिएर पनि अहिले आधुनिक गीतको पछाडि दौडिनु पर्दा कहिलेकाहीँ नरमाइलो महसुस हुँदैन ?

नेपाली संगीतका स्रोताहरु विभिन्न चाहना बोकेकाहरु छन् । स्रोताहरुको विविधता छ । शायद शास्त्रीय संगीतलाई फरक रुपमा चाहेका होलान् स्रोताले । त्यसैले त मैले आधुनिक गीतमै आलाप जोडेर शास्त्रीय स्वाद पस्कने गरेको छु । फूल हैन काँडा काँडैबाट हिँडौंला बोलको गीतमा त्यो स्वाद छ । यही गीतबाट मैले बेस्ट प्लेब्याक सिंगरको अवार्ड पनि पाएँ ।
नरमाइलोभन्दा पनि शास्त्रीय संगीतलाई सुगम संगीतले पछाडि पारेको यथार्थ हो । सधैँ यस्तो अवस्था रहला भन्ने पनि हुँदैन । भविष्यमा मेलोडीमा, क्लासिकलमा फर्कने दिन आउन पनि सक्छ ।

कात्तिक १ गते भरतपुरमा सांगीतिक प्रस्तुति दिनुभयो । कति व्यस्त हुनुहुन्छ हिजोआज ?

चाडवाड र मेला महोत्सवको बेला अलि व्यस्त भइन्छ । दोस्रो पटक चितवन आएँ । अझै धित मरेको छैन । यहाँ हुने महोत्सवमा गीत गाउने मन छ । पाल्पा, नुवाकोट, सिन्धुली र चन्द्रागिरी महोत्सवमा गीत गाएँ, तर चितवनमा आयोजना हुने कुनै पनि महोत्सवमा गीत गाउने मौका पाएको छैन ।
देशबाहिर मेरो माग जति छ, स्वदेशमा त्यति छैन । देशबाहिर अष्ट्रेलियामा दुई पटक, अमेरिकामा दुई पटक, जापान, कोरिया, रसिया, युरोप, युके, कुवेत, साइप्रसमा सांगीतिक प्रस्तुति दिइसकेको छु ।

नेपालको सांगीतिक क्षेत्रमा आफूलाई कहाँनेर छु भन्ने लाग्छ तपाइँलाई ?

आफ्नो लाइफसँग रमाइलो गरिरहेको छु । गर्न धेरै बाँकी छ । अग्रजहरुलाई हेरेर उहाँहरु पुगेको ठाउँसम्म पुगुँ भन्ने लाग्छ । त्यो ठाउँसम्म पुग्न संघर्ष गरिरहेको छु । सन्तुष्ट हुने ठाउँसम्म पुगेको छैन ।

गीतसंगीतको क्षेत्रमा लागेपछि भोग्नु परेको रमाइलो वा नरमाइलो कुनै घटना छ ?

रमाइलोभन्दा पनि नरमाइलो एउटा घटना म कहिल्यै बिर्सन्न । भूकम्पले दुबई यात्रा रोकेपछि नेपाल आइडलमा सहभागी नहुँदासम्मको समयको कुरा हो । कुनै फिल्मको लागि गीत गाउन स्टुडियोमा बोलाए । स्टुडियोमा गीत रेकर्डिङ भइरहेको थियो । एक्कासी मलाई गीत नगाउन भनियो । कारण केही बताइएन । म रुँदै घर फर्किएँ ।
भोलिपल्ट एलिस कार्की सरलाई भेटेर गुनासो गरेँ । उहाँले यस्तो सबैलाई हुन्छ भनेर सम्झाउनु भयो । नेपाली ताराको सेमीफाइनलमा पुगेको म कामविहीन थिएँ । कहिलेकाहीँ त गाडीभाडा र खाजा खाने पैसा समेत हुन्थेन । निकै दुःख पार गरेर आजको दिनसम्म आइपुगेको हुँ । मलाई गीत गाउन नदिनेहरुलाई अझै राम्रो काम गरेर देखाउने मन छ ।

प्रतिक्रिया दिनुहोस