देशको प्रतिष्ठा बढाउने गरी प्रस्तुत हुन खेलाडीलाई उपप्रधानमन्त्री पोखरेलको निर्देशन

शुक्रबार, ०१ कार्तिक २०७६, १४ : ५९
देशको प्रतिष्ठा बढाउने गरी प्रस्तुत हुन खेलाडीलाई उपप्रधानमन्त्री पोखरेलको निर्देशन

– विशेष प्रतिनिधि नारायण न्यौपाने
उहान (चीन) । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र नेपालीको गौरव र प्रतिष्ठा बढाउने ढङ्गबाट अनुशासित र मर्यादित भएर प्रतियोगितामा प्रस्तुत हुन खेलाडीलाई निर्देशन दिनुभएको छ । सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा भाग लिन यहाँ आइपुग्नुभएका उपपप्रधानमन्त्री पोखरेलले खेलाडीले गर्ने व्यवहारले देश र सङ्गठनको छवि झल्कने भएकाले अनुशासित भई ज्ञानलाई कुशलतापूर्वक प्रयोग गर्न सुझाव दिनुभयो । 

उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “यो खेलमा सहभागिता नेपालीका लागि निकै महत्वपूर्ण हो, सेनाका खेलाडीका लागि विशेष अवसरका रुपमा रहेको छ, नेपाल र नेपालीको छवि उच्च राख्ने गरी प्रतियोगितामा खेलाडीले प्रस्तुत हुनुपर्छ, प्रतियोगितामा भाग लिन पाउँदा हाम्रो गौरव बढेको छ ।” 

यहाँ हामीले राम्रो बोली, व्यवहार, चरित्र र क्रियाकलाप देखाउनुपर्छ । उहाँ चीनका रक्षामन्त्री वीइ फिङको निमन्त्रणामा यहाँ आउनुभएको हो । उहाँले खेलाडी रहेको स्थान र प्रशिक्षण स्थलको अवलोकनसमेत गर्नुभयो । इन्टरनेशनल मिलिटरी स्पार्टस् काउन्सिल (सिआइएसएम) को समयन्वयमा यस पटकको गृष्मकालीन विश्व सैनिक खेलकूद प्रतियोगिता चिनियाँ जनमुक्ति सेनाले आयोजना गरेको हो । प्रत्येक चार वर्षमा हुने सो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको छ । 

विश्वका सैनिकबीच हुने यस खेल प्रतियोगितालाई ठूलो तथा शक्ति राष्ट्रले निकै चासोका साथ हेर्ने गरेको पाइन्छ । खेल विधामा ४० नेपालीसहित विश्वका १० हजार ७१९ सैनिक खेलाडीले यस प्रतियोगिता प्रतिस्पर्धा गर्दैछन् । नेपालले १३ विधामा प्रतिष्पर्धा गर्दैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरिसकेको काउन्सिलका पदाधिकारीको आज बसेको बैठकमा जानकारी दिइयो । उहान शहर होलहरु अहिले विदेशी खेलाडीले भरिभराउ भएको छ । 
    
मस्कट ‘वीङवीङ’ अर्थात् समुद्री माछा चयन गरिएको यो प्रतियोगितालाई सातौँ शान्ति खेलकूद नामाकरण गरिएको छ । नेपालसहित  विश्वका १०५ मुलुकमा १० हजार ७१९ खेलाडीको सहभागिता रहेको यो सैनिक खेलकूद प्रतियोगिता कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ । 

यस खेलकूद प्रतियोगितालाई ओलम्पिकपछिको दोस्रो ठूलो खेलकूद महोत्सवका रुपमा लिने गरिन्छ । प्रतियोगितामा दुई प्रदर्शनी खेलसहित २७ खेल समावेश गरिएको छ । यो प्रतियोगितामा विभिन्न विधा र समूहमा गरी ३२८ वटा प्रतिस्पर्धा हुनेछन् । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण पदक विजेता र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।

उक्त अवसरमा उपरथी शनिचन्द्रबहादुर सिंह र महासेनानी शशिकिरण रायमाझीले सातौँ प्रतियोगिताको वस्तुस्थिति र नेपाली खेलाडीको तयारी अवस्थाबारे जानकारी गराउनुभएको थियो । प्रतियोगिताको उद्घाटन आज राति ८ बजे हुँदैछ ।  (रासस) 

प्रतिक्रिया दिनुहोस