सामसुङले चीनमा आफ्नो उत्पादन नगर्ने

एजेन्सी

विहीबार, १६ असोज २०७६, १७ : २९
सामसुङले चीनमा आफ्नो उत्पादन नगर्ने

एजेन्सी । विश्वकै अग्रणी स्मार्ट फोन निर्माता कम्पनी सामसुङले चीनमा आफ्नो उत्पादन बन्द गरेको छ ।

दक्षिणी चीनको हुइझोउ सहरको उत्पादन प्लाण्ट बन्द गरेसँगै सामसुङ चीनबाट बाहिरिएको हो । चीनको बजारमा बढ्दो प्रतिस्पर्धा र श्रमिक खर्च तथा चीनको घट्दो आर्थिक वृद्धिदरलाई मध्यनजर गर्दै त्यहाँ उत्पादन बन्द गरिएको सामसुङले जनाएको हो ।
चिनियाँ बजारमा सामसुङको बजार सेयर १ प्रतिशतमा झरेपछि उसले चीनमा आफ्नो भविष्य नदेखेको पनि यस निर्णय पछिको कारण मानिएको छ ।

चीनमा निम्न बजेटका प्रयोगकर्ताले शाओमीजस्ता चीनकै लोकल ब्रान्डहरु तथा ठुला बजेटका ग्राहकले हुवावे र एप्पलका फोन प्रयोग गर्ने तथ्यांक विश्लेषकहरुले देखाएका छन् । सन् २०१३ मा सामसुङको बजार सेयर १५ प्रतिशत थियो ।

सामसुङ पछि सोनी कम्पनीले पनि चीनको बजार निकट भविष्यमा छोड्ने बताएको छ । सोनीले अब आफ्नो उत्पादन थाइल्यान्डमा केन्द्रित गर्ने बताएको छ । त्यस्तै सामसुङले पनि भारत र भियतनाम जस्ता निम्न उत्पादन लागत लाग्ने देशहरुमै आफ्नो उत्पादन प्लान्टहरु विस्तार गर्ने जनाइएको छ ।

सामसुङ र सोनी लगायतका कम्पनीले चीनमा उत्पादन बन्द गरे पनि अमेरिकी कम्पनी एप्पलले भने आफ्ना थुप्रै मुख्य प्रोडक्टहरु चीनमै उत्पादन गर्ने गर्छ ।
 

प्रतिक्रिया दिनुहोस