बडादशैंमा रुट परमिट खुल्ला गरिनु कति ठीक ? कति बेठीक ?

सडक दुर्घटना र ट्राफिक जामको कारण नबनोस् खुल्ला रुट परमिट

आइतबार, १२ असोज २०७६, १३ : ४५
बडादशैंमा रुट परमिट खुल्ला गरिनु कति ठीक ? कति बेठीक ?

– सन्तोष पन्त

प्रत्येक वर्ष बडादशैंको अवसरमा राजधानी छोड्ने र बडादशैंपछि राजधानी प्रवेश गर्ने यात्रीहरुको संख्या अत्याधिक हुने गरेकोले सहज र सुरक्षित आवगमन व्यवस्थापन चुनौतीपूर्ण भएको यथार्थ हाम्रो सामु छर्लङ्ग नै छ । राज्यले विभिन्न योजनाहरु अगाडि सारेर व्यवस्थापन गर्न खोजे पनि सहज र सुरक्षित आवागनम व्यवस्थापन हुन नसकेको हामीले अनुभूति गरेका छौँ । 
यस वर्ष पनि नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधन सञ्चालनका सम्बन्धमा जरुरी सूचनाहरु जारी गरी नेपालीहरुको महान चाड बडादशैंका लागि काठमाडौं जाने र आउने यात्रुहरुको आवागमनलाई सहज र व्यवस्थित बनाउनको लागि आज घटस्थापनादेखि असोज १९ गते महाअष्टमीसम्म सार्वजनिक यात्रुवाहक सवारी साधनहरुको लागि बाटो इजाजत पत्र (रुट परमिट) खुल्ला गरेको भनी सूचित गरेको छ । 
यसका साथै Multi Axial Tractor Trailer को संचालनले यात्रुहरुको आवागमन र ट्राफिक व्यवस्थापनमा थप समस्या ल्याउने भएकोले माथि उल्लेखित दिनमा नारायणगढबाट काठमाडौंतर्फ भित्रिन ती सवारीसाधनमाथि रोक लगाएको छ । असोज १८ गतेसम्म नारायणगढदेखि काठमाडौंतर्फ जाने मालवाहक सवारी साधनहरुमध्ये अत्यावश्यक खाद्यान्न सामग्री, लत्ताकपडा, औषधि, तरकारी, मासुजन्य पदार्थ लगायत तत्कालै नास भएर जाने सामग्री ढुवानी गर्ने बाहेकका १० चक्के र सोभन्दा बढी चक्का भएका ठूला मालवाहक सवारी साधनहरु समेतलाई काठमाडौंतर्फ जान रोक लगाएर सहज र सुरक्षित आवागमन व्यवस्थापन गर्न प्रयत्न गरेको छ । 

के हो बाटो ईजाजत पत्र ?
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा २ को (ष) मा बाटो इजाजत पत्र भन्नाले स्वीकृत बाटोमा सवारी चलाउन दफा ७७ बमोजिम प्राप्त गरेको इजाजत पत्र सम्झनु पर्दछ भनी परिभाषित गरेको छ । ऐनको दफा ७७ र ७८ मा अधिकार प्राप्त अधिकारीले सवारी चालक, परिचालक, सुरक्षाकर्मी तथा सवारीमा काम गर्ने अन्य कर्मचारी तथा तेस्रो पक्षको बीमा, सवारीको जाँचपास र दर्ताको प्रमाणपत्र नवीकरण आदि लाई जाँचबुझ गरेर ठीक देखिएमा मात्र सार्वजनिक सवारीलाई बाटो इजाजत पत्र दिने भनी व्यवस्था गरी बिमा र जाँचपासलाई समेत अनिवार्य गरेको छ । 

जाँचपास के हो ?
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा २ को (स) मा जाँचपास भन्नाले सार्वजनिक सवारीको यान्त्रिक स्थिति र स्वरुपको परीक्षण गरी दिइएको प्रमाणपत्र सम्झनु पर्दछ भनी उल्लेख गरेको छ । सोही ऐनको दफा ८९ मा सार्वजनिक सवारीले बाटो इजाजत पत्र लिन जाँचपास गराउनु पर्ने अनिवार्य व्यवस्था गरिएको छ । 
यसरी कानूनले कुनै पनि सार्वजनिक सवारीको यान्त्रिक स्थिति र स्वरुप ठीक हुनु पर्ने र त्यो ठीक भएको पाइएमा मात्र यातायात व्यवस्था कार्यालयका अधिकार प्राप्त अधिकारीले जाँचपासको प्रमाण पत्र दिन सक्ने र जाँचपासको प्रमाण पत्रको ४ महिने बहाल अवधि रहेसम्मको लागि ६ महिने अवधिको बाटोमा चल्न पाउने बाटो इजाजत पत्र प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ । यसबाट सवारीको यान्त्रिक अवस्थाको गडबडीको कारणले सडक दुर्घटना नहोस् भन्नेमा राज्य सचेत रहेको देखिन्छ । 

यात्रा कति सुरक्षित ?

बडादशैं २०७६ लाई लक्षित गरी घटस्थापनादेखि महाअष्टमीसम्म राज्यले काठमाडौंतर्फ जान आउनका लागि सार्वजनिक यात्रुवाहक सवारी साधनहरुको लागि बाटो ईजाजत पत्र (रुट परमिट) खुल्ला गरेकोले नेपालको जुनसुकै सडकमा चल्न बाटो इजाजत पत्र प्राप्त गरेका यात्रुवाहक सवारी निर्वाध रुपमा काठमाडौंतर्फ जान आउन सक्ने भन्ने बुझियो । यस व्यवस्थाबाट काठमाडौंमा धेरै यात्रुवाहक सवारीहरु जान सक्ने र काठमाडौंबाट अन्य जिल्लामा जाने र अन्य जिल्लाहरुबाट काठमाडौं आउने यात्रुहरुलाई सहज हुने कुरामा दुईमत रहेन तर विचारणीय कुरा के छ भने नेपालको हिमाल, पहाड, तराई जुनसुकै स्थानमा चल्ने यात्रुवाहक सवारीहरु र त्यहाँका सडकमा चलाउने बानी परेका चालकहरुले धादिङ्ग र चितवन जिल्ला भएर बग्ने त्रिशुली नदीको किनारका खतरनाक र साँघुरा घुम्तीहरु, नौबिसेदेखि नागढुङ्गा सडकको उकालो ओरालो र खतरनाक घुम्तीहरु, बर्दिबास सिन्धुलीहँुदै काठमाडौं जाने सडक, हेटौँडाबाट काठमाडौं जाने सडकहरु पार गर्दै सुरक्षित तवरले काठमाडौं जान आउन सक्छन् वा सक्दैनन् ? यो यात्रा कति सुरक्षित छ ? भन्ने प्रश्न भने उब्जिन्छ । तसर्थ बाटो इजाजत पत्र खुल्ला गरेसंगै सडक दुर्घटना र ट्राफिक जाम न्यूनिकरणका लागि राज्यले निम्न कुरामा ध्यान दिन आवश्यक देखिन्छ ।
    काठमाडौंबाट बाहिर निस्कने नाकाहरु, चितवन र काभ्रेमा सवारीको यान्त्रिक स्थिति र स्वरुप परीक्षण गर्ने निःशुल्क स्टेशन राख्नु उपयुक्त हुन्छ । 
    काठमाडौं, काभ्रे, सिन्धुली, मकवानपुर र चितवनमा सवारी चालकसंग अन्तरकृया गरी चालक सक्षमता ठहर गर्न सक्ने अधिकार प्राप्त टीम राखी परामर्श समेत दिने व्यवस्था गर्नु पर्दछ । 
    यात्रुवाहक सवारी साधनको अपर्याप्तता र कम भाडामा जान पाइने हुनाले यात्रुहरु मालवाहक सवारीमा समेत यात्रा गर्ने भएकोले मालवाहक सवारीमा यात्रा नगर्न नगराउन कडाई गर्नु पर्दछ । 
    यात्रुहरुको चापले गर्दा सीट क्षमताभन्दा बढी यात्रुहरु ओसारपसार गर्ने र यदाकदा प्रहरी कार्यालयको नजिकमा आउदा केहीबेर ओराली पुनः कार्यालय पार गरेपछि छतमा समेत चढाउने हुँदा चौबीसै घण्टा यातायात निरीक्षक सहितको नेपाल प्रहरीको मोबाईल टोली परिचालन गर्नु पर्दछ । क्षमताभन्दा बढी यात्रु नओसार्न कडाई गर्नु पर्दछ । 
    सडक दुर्घटना र त्यसबाट बढी क्षति हुनुको मुख्य कारण चालकको लापरबाही र तीव्र गति भएको पाइएकोले चालकलाई नियन्त्रित र निर्धारित गतिमा अनुशासित ढंगले सवारी चलाउन लगाउनु पर्दछ । जसको लागि चालकलाई नैतिक र कानूनी जिम्मेवारी दुवैको बोध गराउनु पर्दछ ।
    सडक दुर्घटना र क्षति न्यूनीकरणका लागि यातायात व्यवस्था कार्यालय तथा नेपाल प्रहरीले सञ्चालन गरेका चेक जाँच, परामर्श आदिका कार्यक्रमहरुमा यात्रु तथा सर्वसाधारण सबैले साथ दिनु पर्दछ । राज्यले पनि सवारी चेकजाँचको यो काम यात्रुहरुकै सुरक्षाको लागि हो भन्ने बुझाउन सक्नु पर्दछ । 
    सबै सडकमा प्रहरीको उपस्थिति हुन सम्भव नभएकोले यात्री तथा सर्वसाधारण सबैले सडकमा अव्यवस्था भएमा, सवारी धनी, व्यवस्थापक, चालक, परिचालकले कानूनी कर्तव्य पूरा नगरेमा वा यात्रीहरुको सुरक्षामा आँच आउने कुनै कार्य गरे गराएमा तत्कालै नेपाल प्रहरीलाई जानकारी गराउने र सवारी धनी, व्यवस्थापक, चालक परिचालकहरुले समेत यात्री वा अन्य कुनै पक्षबाट सवारी सञ्चालनमा असुविधा तथा असुरक्षा गरे गराएमा नेपाल प्रहरीलाई तत्कालै जानकारी गराउने गरी कानूनको सर्वोच्चतालाई कायम गर्नु पर्दछ । 
    नेपाल प्रहरीले सहज र सुरक्षित आवागमन व्यवस्थापनको लागि चौबीसै घण्टा तैनाथी र सूचना संकलनलाई आधार बनाएर प्रहरी जनताको सेवक हो भन्ने भावनाका साथ मुस्कानसहितको व्यावसायिक प्रहरी सेवा प्रदान गर्दै जनविश्वास जित्नु पर्दछ ।

(लेखक जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका पूर्वप्रमुख हुन् ।)

प्रतिक्रिया दिनुहोस